रेखा र छविको डिभोर्स !

रेखा र छविको डिभोर्स !


सधैं चर्चामा आइरहने नायिका हुन् रेखा थापा । कहिले सिनेमाको कारण त कहिले राजनीतिक कारण । कहिले कलाकारहरूसँगको विवादमा कारण त कहिले छोटा कपडाका कारण । समय-समयमा बजार तताउँदै समाचार बनिरहने रेखा फेरि एकपटक श्रीमान् छवि ओझासँग सम्बन्धविच्छेद हुन लाग्यो भन्ने चर्चाले बजारमा छाएकी छिन् ।
हुन त रेखा यतिबेला श्याम भट्टराईको निर्देशन रहेको चलचित्र ‘लंका’को छायाङ्कनमा व्यस्त छिन् । र्सलाहीमा छायाङ्कन भइरहेको यो चलचित्रमा व्यस्त रहनुपर्दा उनले आफ्नोबारे बजारमा चलेको कुराको राम्रोसँग खण्डन पनि गर्न पाएकी छैनन् । ‘मिडियाले दुवै पक्षको कुरालाई उठाउनुपर्ने थियो तर मेरो मात्र गल्ती देखाएर डिभोर्सको कुरालाई बजारमा ल्याए,’ रेखाले र्सलाहीबाट घटना र विचारसँग भनिन् ।
उनले बुझेकी छिन् कि आफू जहाँ छु त्यहाँसम्म पुग्न आफ्नो पति छवि ओझाको ठूलो हात छ । ‘उहाँ नहुनुभएको भए म आजकी रेखा थापा हुन्नथेँ,’ रेखा आफ्नो वास्तविकता बताउन पछि र्सर्दिनन् । छवि ओझालाई आफ्नो श्रीमान् मात्र भन्दिनन् उनी । ‘उहाँ मेरो सबैथोक हो । उहाँबिनाको कल्पना म गर्न सक्दिनँ । मलाई सुरुमा एउटा अभिभावकको रूपमा सहारा दिनेसँग मेरो सम्बन्धविच्छेद हुँदै छ भन्ने कुरा म कसरी सुन्न सक्छु,’ रेखाले भनिन् ।
‘छवि कुरै बुझदैन । म त दिक्क भइसकेँ भनेर साथीभाइसमक्ष मनको कुरा पोख्दा उनीहरूले गलत रूपमा व्याख्या गरे,’ यसै भन्छिन् रेखा थापा । रेखाका अनुसार बुबाको निधन भएपछि घरमा आमा एक्लै भएको र अब आमालाई पनि सँगै काठमाडौं ल्याएर राख्ने उद्देश्यले रेखाले काठमाडौंमा घर किन्नका लागि आमालाई केही रकम सहयोग गरेकी हुन् । ‘तर, यही कुरालाई मेरा भनौँदाहरूले रेखाले छुट्टै बस्न घर किनी भनेर छविलाई उचालेछन् । यो गलत थियो,’ रेखा अगाडि थप्छिन्, कुरै नबुझीकन अर्काको परिवार फुटाउन खोज्नेको भलो हुँदैन । बजारमा यस्तो चर्चा चलिरहँदा आफू र्सलाहीमा र छवि काठमाडौंमा रहँदा सँगै बसेर मनको भावना पोख्न नपाएको कुरा बताइन् रेखाले । फोनमा राम्ररी कुरा गर्न समय नमिलेकोले सुटिङ सकाएर काठमाडौं फर्किएपछि छवि र आफूबीचको असमझदारी बढाउनेलाई सही जवाफ दिने कुरा रेखाले बताइन् । धेरैले त चलचित्र रावणको प्रचारप्रसा रका लागि छवि-रेखाले नयाँ लफडा बनाए भनेर हल्ला पनि गरेका छन् नि भन्ने प्रश्नमा रेखाको जवाफ थियो, ‘परिवार नै बिथोलिने अवस्था सिर्जना हुन लागेको छ । यस्तो कुरालाई सिनेमामा किन जोड्ने -‘
सम्बन्धविच्छेद हल्लामात्रै हो : रेखा
० सम्बन्धविच्छेदको कुरा के हो –
– यो सब गलत र वाहियात हल्ला हो ।
० किन चल्यो यो हल्ला –
– लोग्नेस्वास्नीबीच सबैको झगडा हुन्छ तर हामीबीचको केही कुरालाई उचालेर केहीले फाइदा लिन खोजेका हुन् ।
० यस्तो गर्नुको कारण के होला –
– मेरो प्रगति देख्न नसक्नेले चलाएको हल्ला हो यो ।
० तपाईंहरूबीच के कुरामा झगडा हुन्थ्यो र –
– त्यो झगडा नै होइन । सरसल्लाह हुँदा उहाँ रिसाउनुहुन्थ्यो अनि म पनि रिसाउँथेँ । तर, यो सानो कुरालाई ठूलो बनाइयो यहाँ ।
० उहाँसँग कस्तो छ त अहिले सम्बन्ध –
– राम्रो छ नि श्रीमान्-श्रीमतीजस्तै । दिनहुँ हाम्रो कुरा हुन्छ । म र्सलाहीमा छु सुटिङमा उहाँ काठमाडौंमा हुनुहुन्छ । हाम्रो यो चर्चा सुनेर हामी नै अचम्ममा परेका छौँ ।
० किन यस्तो हल्ला चल्यो त ?
– मिडियामा जे कुरा आए तापनि प्रतिक्रिया नजनाउने उहाँ र मेरो बानी हो । प्रतिक्रिया नजनाउँदा साँच्चिकै त होइन भन्ने भ्रम पनि गएको हो ।

यिनी नक्कली कि सक्कली –
यिनी को हुन् ? सबै अनविज्ञ छन् । तर पनि यिनको चर्चा यतिबेला नेपाली सिनेमा बजारमा गरम भइरहेको छ । यिनी अर्थात् सञ्जना रिजाल । न त यिनी कुनै सार्वजनिक समारोहमा देखिन्छिन् न त कुनै मोडल वा कलाकार नै हुन् यिनी । तथापि सञ्जना चलचित्रकर्मीमाझ मात्र होइन कि चलचित्र पत्रकारमाझ पनि परिचित छिन् ।
‘फेसबुक’ सञ्जालमार्फत विशेष गरेर सञ्जनाले चलचित्रकर्मीहरूमाझ आफूलाई चिनाएकी छिन् । फेसबुकमा सञ्जनाले दिएको आफ्नो परिचयअनुसार उनी काठमाडौंको लाजिम्पाटमा बस्छिन् भने कुपण्डोलको एक संस्थामा काम गर्छिन् र उनले विदेशबाट शिक्षा आर्जन गरेकी हुन् । यो त भयो उनको व्यक्तिगत परिचय । अब उनको सुन्दर तस्बिर देखेपछि नेपाली चलचित्रकर्मीहरूले उनीबारे फेसबुकमा लेखेका ‘कमेन्ट’बारे कुरा गरौँ ।
फोटोग्राफर राजीव श्रेष्ठले त ‘तिमीलाई फोटो सेसन गर्न इच्छा भएमा म फ्री गरिदिन्छु’ लेखेका छन् । राजीवको यो प्रस्तावलाई सञ्जनाले जवाफमा लेखेकी छिन्, ‘धन्यवाद, त्यस्तो सोच आयो भने म सर्म्पर्क गर्नेछु ।’
यता सञ्जनाले टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रमहरू चलाउने सञ्चालकहरूलाई त फेसबुकमा ‘मलाई तपाईंहरूको साथ चाहिन्छ । म चाँडै हिरोइन बन्दै छु’ भनेर लेख्ने गरेकी छिन् । यिनले फेसबुकमा चलचित्रसम्बन्धी व्यक्तिहरूलाई छानी-छानी सर्म्पर्कमा आएको देखेर यो क्षेत्रप्रति सञ्जनाको लगाव रामै्र देखिन्छ । त्यसो त, धेरै चलचित्रकर्मीले यिनीसँग नम्बर पनि मागे, सञ्जनाले दुईवटा नम्बर दिइन् पनि तर ती नम्बर गलत रहेछन् ।
त्यसो त चलचित्रकर्मीहरू सञ्जनालाई कसैले प्रयोग गरिरहेको त होइन पनि भन्छन् । तर, यी कुरालाई छाडेर भन्ने हो भने सबैको बेली-विस्तार बुझेर नै उनी चलचित्रकर्मीहरूसमक्ष ‘फेसबुक’मार्फत छाइरहेकी छिन् । निर्देशक आकाश अधिकारीले त ‘मैले हिरोइन बन्न तिमीजस्ती राम्री केटी नै देखेको छैन’ भनेर पनि लेख्न भ्याएका छन् भने अर्का निर्देशक नरेश पौडेलले ‘तिमी नेपालको नम्बर वन नायिका बन्न सक्छ्यौ’ भनेका छन् ।
यसरी ‘फेसबुक’मा तस्बिर राखेको भरमा सिनेमा बजारमा हल्ला मच्चाउन सफल सञ्जना रिजाल साँच्चिकै सक्कली नै हुन् भने त उनको भविष्य राम्रो देखिएको छ तर उनी नक्कली हुन् भने सबै हिस्सा पनि पर्न सक्छन् । त्यसैले नेपाली सिनेमाप्रति उनको लगाव वास्तविक नै हो भने उनले अब फेसबुकमा मात्र सीमित रहनुहुँदैन । नायिका बनेर सबैको मन जित्ने हो भने दिल फुकाएर सार्वजनिक हुने आँट सञ्जनाले गर्नुपर्छ । यो नै उनका लागि फलदायी देखिन्छ । नत्र फेसबुकमार्फत भएका अरू नक्कली कामजस्तै सञ्जना पनि नक्कली त होइन भन्ने भान अरूलाई पर्न सक्छ ।

नीरजले ल्याए ‘फूलको कुरा’
नेपाली साङ्गीतिक फाँट दिनानुदिन उर्वर बन्दै गएको परिवेशमा सङ्गीतप्रेमीहरू माझ हालै एक नयाँ एल्बम आएको छ । लेखन, सङ्गीत एवम् गायनजस्ता तीनै विधामा दखल राख्ने प्रतिभाशाली र्सजक नीरज बरालको गायनकला सजिएको उक्त एल्बमको नाम हो- फूलको कुरा ।
बालवयदेखि नै सङ्गीत भनेपछि हुरुक्कै हुने नीरजका सुमधुर आवाजमा यस एल्बमभित्र आठवटा गीत समेटिएका छन्, जसमा सेमिक्लासिकल, कब्बाली, फल्कवेस, आधुनिक, डिजे मिक्सिङदेखि मैथिलीसम्मको विविधता पाइन्छ । उनको आफ्नै शब्द रहेको ‘नजरको घुम्टो जसै र्सन थाल्यो, बेजोडले मुटु धड्किन थाल्यो’ बोलको कव्वाली गायन होस् कि ‘मेनका रति उर्वशी’ बोलको रोम्यान्टिक गीत अथवा ‘छिटको गुन्यु मखमली चोली टिमिक्कै कम्मरमा’ बोलमा युवाप्रतिभा महेश ज्ञवालीले सङ्गीत दिएको कर्णप्रिय सिर्जना नै किन नहोस्- फूलको कुराभित्रका गहना नै बनेका छन् ।
यस एल्बममा गायक बराल स्वयम्का अलावा दीपक कौडिण्य, धीरेन्द्र प्रेमर्षी र मधु घिमिरेको रचनामा नीरज, विक्रम थापा, महेश ज्ञवाली, किरण कँडेल र धीरेन्द्र प्रेमर्षीले संगीत प्रदान गरेका छन् । ‘फूलको कुरा’ सुनेपछि लाग्छ- नेपाली सङ्गीत क्षेत्रले एक अत्यन्त सम्भावना बोकेको साङ्गीतिक प्रतिभा हासिल गरेको छ । यस एल्बमले सङ्गीतप्रेमीहरूको मन जित्ने विश्वास गर्न सकिन्छ ।