सत्ता-गठबन्धनको भविष्यलाई लिएर अझै काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाभित्र कतिपय संशय कायम रहेको बुझिन्छ । राजनीतिक जीवनमा यदाकदा मात्र ‘मौका’ आउँछ, तर अवसर चिनेर उपयोग गर्न सक्नेहरू मात्र सफल ठहरिन्छन् भन्ने भनाइ छ, अब ‘गठबन्धन’को चिन्ता छोडेर मुलुकको अस्थिर राजनीतिलाई ‘लिक’मा ल्याउने प्रयत्नमा उनले आफूलाई केन्द्रित गर्नुपर्छ ।

आमसरोकार र विवादको विषय बन्दै आएको एमसीसी मामलामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसीसीको प्रधान कार्यालयलाई पठाइएको पत्रको पर्दाफास भएसँगै मुलुकको राजनीति एकाएक तरङ्गित हुनुका साथै नयाँ दिशातर्फ अग्रसर भएको अनुभूति गरिएको छ । पत्र-खुलासा प्रकरणले मूलतः प्रचण्डलाई थप रक्षात्मक अवस्थातर्फ धकेलिदिएको यथार्थ एकतिर छ, अर्कोतर्फ आफ्नो ‘राजनीति’ बचाउन नेताहरू कति झुठ बोल्छन्, देश र जनतालाई कसरी गुमराहमा राख्न सक्छन् र, झुठको पर्दाफास भइसक्दा पनि कुन तहमा निर्लज्जता प्रदर्शनको नौटङ्की गर्न सक्छन् भन्ने उदाहरणको ज्वलन्त प्रतीक बन्न पुगेका छन् नेकपा (एकताकेन्द्र)का सुप्रिमो प्रचण्ड !
एमसीसी संसद्बाट पास गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि केही समय माग गरेर एमसीसीलाई संयुक्त पत्र पठाइएको बारे चार महिनाअघि नै प्रधानमन्त्री देउवाले खुलासा गरेका हुन् । तर, त्यसबेला प्रचण्डले त्यसको प्रतिवाद मात्र नगरी प्रधानमन्त्री देउवाको मुख बन्द गराउन धम्कीपूर्ण शैलीमा चेतावनी नै दिए । आमजनतासामु निर्धक्क तवरले पत्र पठाइएको कुरा बनाओटी रहेको दाबी गर्न उनी हिच्किचाएनन् । आफ्नै दलका नेताहरूलाई समेत उनले छलछाम गरी गुमराहमै राखे । आफूनिकटका केहीलाई पत्रबारे जानकारी त उनले दिएका रहेछन्, तर के लेखिएको थियो भन्नेबारे तथ्य खुलाउनु आवश्यक ठानेनन् ।
परिणामतः यतिबेला पत्र सार्वजनिक हुँदा आफ्नै दलका नेता–कार्यकर्तासामु पनि ठाडो शिर गर्न हम्मे-हम्मे पर्ने अवस्थामा प्रचण्ड पुगेका छन् । विडम्बनाचाहिँ के छ भने यथार्थ छताछुल्ल हुँदा पनि जालझेलको भाषा प्रयोग गरी खण्डनमा वक्तव्य सार्वजनिक गर्न पछि परेनन् उनी । तर, जति नै ओभानो बन्ने प्रयत्न गरे पनि यसले अन्ततः प्रचण्डको धमिलिँदै गएको छवि थप दागी तुल्याएको इन्कार गर्न सकिँदैन । आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रचण्ड-प्रवृत्तिमा पछिल्लो प्रकरणले ठेस पुऱ्याएकै छ । यो यथार्थ मनन गरी उनी स्वयम् र उनका अनुयायीहरूले आफूलाई वदल्ने चेष्टा गर्नु वान्छनीय छ ।
पत्र-खुलासा प्रकरणले नेताको चरित्र मात्र उजागर गरिदिएको नभइ तत्कालिक रूपमा अत्यन्त सकारात्मक दिशातर्फ राजनीतिलाई लैजान पनि मद्दत गरेको यतिबेला धेरैले महसूस गरेका छन् । सोझो भाषामा भन्नुपर्दा संवैधानिक दृष्टिले अपरिहार्य बनेको तर कुत्सित राजनीतिक अभीष्ट सिद्धिका लागि बिथोलिने उपक्रममा रहेको स्थानीय तहको चुनावलाई एक प्रकारले सुनिश्चित तुल्याइदिएको छ, पत्र-प्रकरणपछि विकसित राजनीतिक माहोलले । सत्तापक्षीय गठबन्धनसँग तीव्र रूपमा टाढिँदै गएको प्रमुख प्रतिपक्षी एमालेलाई आन्दोलनको मानसिकताबाट शान्त तुल्याउँदै मूल राजनीतिक दायित्व निर्वाहमा फर्काउन पत्र-खुलासा प्रसङ्गले अहम् भूमिका निर्वाह गरिदिएको छ । महिनौँपछि शीर्ष तहका नेताहरूबीच आम्नेसाम्ने बैठक बस्ने परिस्थिति निर्माण गरिदिएको छ, जसबाट समस्या निकासको मार्ग पहिल्याउन मद्दत पुगोस् !
प्रचण्डलगायतका पात्रहरू जो तत्काल निर्वाचन चाहन्नथे र, संविधान मिचेर भए पनि सत्ता लम्ब्याउने अभीष्टबाट प्रेरित रहँदै राजनीतिलाई थप धमिल्याउँदै थिए- तिनका जनविरोधि क्रियाकलापमा तत्कालका लागि धक्का पुगेको छ । अर्थात्, संविधानले निर्धारण गरेको समयमै स्थानीय चुनाव गर्ने/गराउनेतर्फ सरकारलाई दिशानिर्देश गरिदिएको छ पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले ।
बाध्यताकै उपज भए पनि सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर निकै प्रशंसनीय कदम बढाएको छ । यसका लागि प्रधानमन्त्री देउवा बधाईका पात्र बनेका छन् भन्न रत्तिभर कन्जुस्याइँ गरिरहनु पर्दैन । व्यक्तिगत रूपमा देउवाकै अन्तरपार्टी-राजनीतिलाई निकै राहत पुऱ्याएको छ निर्वाचन घोषणामा दर्शाएको सुझबुझले । काङ्ग्रेसभित्रको बलियो असन्तुष्ट पक्षमा पन्पिरहेको आन्दोलित मानसिकतालाई मत्थर तुल्याउन यसले सञ्जीवनीकै काम गरेको छ । निर्वाचन घोषणाको चौतर्फी रूपमा स्वागत गरिएको छ जसलाई प्रधानमन्त्रीका रूपमा पछिल्लोपटक शेरबहादुर देउवाले आर्जन गरेको अहम् पुँजीका रूपमा चित्रित गरिदिँदा अतिरञ्जना ठहरिने छैन ।
तथापि, सत्ता-गठबन्धनको भविष्यलाई लिएर अझै काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाभित्र कतिपय संशय कायम रहेको बुझिन्छ । अब ‘गठबन्धन’को चिन्ता छोडेर मुलुकको अस्थिर राजनीतिलाई ‘लिक’मा ल्याउने प्रयत्नमा उनले आफूलाई केन्द्रित गर्नुपर्छ । यसका लागि देउवालाई सत्-सल्लाह प्रदान गर्नु उनका शुभचिन्तक तथा सल्लाहकारहरूको अहम् दायित्व हो । राजनीतिक जीवनमा यदाकदा मात्र ‘मौका’ आउँछ, तर अवसर चिनेर उपयोग गर्न सक्नेहरू मात्र सफल ठहरिन्छन् भन्ने भनाइ छ, यो मनन गरी अघि बढ्नु देउवाको दायित्व हो ।
प्रतिक्रिया