देश भएपछि देश देश जसरी चल्नु पर्दछ, चलाउनु पर्दछ

देश भएपछि देश देश जसरी चल्नु पर्दछ, चलाउनु पर्दछ


मुलुकहरूले आफूसँग भएमध्येका योग्य अर्थविदलाई अर्थमन्त्रीमा नियुक्त गर्दछन् । नेहोरा गरेर, बिन्ती गरेर अर्थमन्त्री भइदिन अनुरोध गर्दछन् । डाक्टरले अनुहार हेरेरै, नाडी छामेरै रोगको अनुमान गरेर थप डाइग्नोसिस गर्छन्/गराउँछन् । त्यस्तै विज्ञ अर्थमन्त्री चाहिन्छ मुलुकलाई । तर हामी !!? नेताको मुलुकभित्र र बाहिरको पैसाको कारोबार सजिलो मिलाइदिने अर्थमन्त्री खोज्छौँ ।
  • केशवप्रसाद भट्टराई

१. अमेरिकाको शासन व्यवस्था सिस्टम र टीमले चलाउँछ ।
त्यो सिस्टम र टीमलाई थिङ्क ट्याङ्कले नेतृत्व गरेको हुन्छ ।
जब कुनै नयाँ राष्ट्रपति आउँछन् आफ्नो टिममा थिङ्क ट्याङ्कका श्रेष्ठ विज्ञहरूबाट मन्त्रीहरू नियुक्त गर्दछन् ।
दुनियाँकै उत्कृष्ट विज्ञहरू उनीहरूसँग छन् ।
समस्या पऱ्यो उनीहरू आइहाल्छन् ।
ती थिङ्क ट्याङ्कका विज्ञहरू जे भन्छन्, जे लेख्छन् त्यो दुनियाँको लागि मानक बन्दछ ।

०००

२. साँच्चै भन्ने हो भने अमेरिकामा शासन नै थिङ्क ट्याङ्कहरूले गर्दछन् ।
उनीहरूद्वारा प्रस्तुत र शिफारिस गरिएका विचार र दृष्टिकोणले शासन गर्दछ ।
थिङ्क ट्याङ्कहरू पनि वैचारिक आस्थाका आधारमा छन्, जस्तो- ब्रुकिङ्ग्स् इन्स्टिच्युट, ओपन सोसाइटी जस्ता वामपन्थी थिङ्क ट्याङ्क छन् ।
हेरिटेज, हुभर, क्याटो र अमेरिकन इन्टरप्राइज जस्ता उदार दक्षिणपन्थी थिङ्क ट्याङ्कहरू छन् ।
सिएसआइएस, सिएनएएस.कार्नेगी इन्स्टिच्युट, अट्लान्तिक जस्ता मध्यमार्गी र ऱ्यान्ड जस्ता स्वतन्त्र थिङ्क ट्याङ्कहरू छन् ।
डेमोक्रेट राष्ट्रपति वा डेमोक्रेट प्रशासन छ भने नीति निर्माण र कार्यान्वयन तहमा ब्रुकिङ्ग्स् र ओपन सोसाइटीका प्राज्ञहरू प्रभावी हुन्छन् ।
रिपब्लिकन भए हेरिटेज, हुभर, क्याटो र अमेरिकन इन्टरप्राइजहरू त्यही भूमिकामा रहन्छन् ।
सरकारहरू जुन दलको भए पनि ऱ्यान्ड, सिएपÞmआर (काउन्सिल अन फरेन रिलेसन्स) जस्ता स्वतन्त्र र मध्यमार्गी थिङ्क ट्याङ्कहरूले निर्णायक हैसियत राख्दछन् ।
तिनका दृष्टिकोण, अध्ययन, अनुषन्धान, सिफारिश र निष्कर्षहरू विश्वका धेरै मुलुकका लागि नीति बन्दछन् ।
एक किसिमले भन्दा विश्वको शासन नै अमेरिकी विज्ञ, विद्वान र विचारकहरू, चिन्तक र वैज्ञानिकहरूले गर्दछन् ।
त्यसैले अमेरिकाको सिस्टम दुनियाँकै सबैभन्दा सक्षम र प्रभावकारीमध्ये छ र तिनीहरूले मुलुक धानेका छन् ।

०००

३. भारत र चीनमा नेता, पार्टी र सिस्टमले शासन चलाउँछ ।
पार्टी बलिया छन् । प्रणाली बलियो छ ।
भारतमा सेना, प्रहरी, प्रशासन, अदालत, सुरक्षा संगठनहरू सबल छन् ।
दुनियाँकै प्रभावकारी गनिन्छन् ।
नत्र राजनीति त खासै गतिलो छैन त्यहाँ ।
(राजनीति त अमेरिकामा पनि त्यस्तै देखिन थालेको छ ।)
त्यहाँको सेना, प्रहरी, प्रशासन, अदालत, सुरक्षा संगठनहरूले कुन दलको सरकार छ भनेर हेर्दैनन् ।
संविधान र कानुनअनुसार आफ्नो बाटो हिँड्छन्- त्यसैले धानेको र थामेको छ भारतलाई ।
हिजोआज राम्रा थिङ्क ट्याङ्क पनि भारतमा देखिन लागेका छन् ।
मोदी, अमित शाह, अजित डोभाल सबै सिस्टमबाट आएका हुन् ।
गर्नुपर्ने काम र जिमेवारी सिस्टमले पहिचान गऱ्यो र जिम्मेवारी बोक्न को सक्षम छ भनेर खोज्दा उनीहरू ल्याइए ।
मोदीलाई बलियो सहयोगी चाहियो भनेर शाह ल्याइए ।
युवा राजनीतिज्ञ योगी आदित्यनाथको प्रशिक्षण चलिरहेको छ ।
उनीहरू सक्षम थिए र छन्- सिस्टम र पार्टीको असामान्य समर्थन छ ।
सिस्टम बुझेकाले, सिस्टमको नेतृत्व गर्न जानेकाले सिस्टमले उनीहरूको क्षमता थपिदिएको छ, बढाइदिएको छ ।
सवाल सिस्टमलाई विश्वासमा लिएर त्यसलाई नेतृत्व दिने हो आफ्ना अभावहरूका सिस्टमलाई सरापेर बस्ने होइन भन्ने उनीहरूले बुझे र सफल र लोकप्रिय बने/बन्दैछन् ।
आफ्नो र सिस्टम दुवैको क्षमता बढाए ।
सिस्टमलाई पनि बलियो बनाए, आफू पनि बलिया छन् ।

००

४. चीनसँग तलैबाट उठेको संसारको सवैभन्दा शक्तिशाली पार्टी छ ।
तलैदेखि प्रशिक्षित हुँदै, विभिन्न क्षेत्रको अनुभव हासिल गर्दै – संगठन, ज्ञान र अनुभवमा समृद्ध व्यक्ति मात्रै त्यहाँ नेतृत्वमा पुग्ने व्यवस्था छ ।
दुई–तीन दशकअघिदेखि भावी नेतृत्वको खोजी हुन्छ ।
उनीहरूलाई जिम्मेवारी दिँदै, सो जिम्मेवारी निर्वाहमा उनीहरूले प्रदर्शन गरेको योग्यता, क्षमता, कार्यकुशलता, निष्ठा सबैको मिहीन अनुगमान र मूल्याङ्कन गरिरहेको हुन्छ- पार्टीले, प्रणालीले ।
त्यसको आधारमा अघि बढाउँदै, माथिल्लो जिम्मेवारी प्रदान गर्दै थप कसीमा घोट्दै माथि ल्याइन्छ र अन्त्यमा पार्टी, सरकार र राज्यको नेतृत्व सुम्पिइन्छ ।
राम्रा थिङ्क ट्याङ्क छन् चीनमा- देङ्ग युगपछि आएका, सरकारको मेरुदण्डको रूपमा छन् ।

उट्पट्याङ कुरा, कार्य शैली, जथाभावी भाषण र मिडियाले उचालिदिएको बलमा मात्रै त्यहाँ चीनमा कम्युनिस्ट पार्टीको नेता बन्न पाइन्न ।
हामीकहाँ जस्तै विद्यार्थी राजनीति गर्दागर्दै राजनीतिमा र मन्त्री र मूख्य मन्त्रीहरू भारतमा पनि कतै–कतै आए, तर हराए ।
धान्नै सकेनन् ।
प्रशिक्षण नपाएका, सोझै पार्टी नेतृत्वमा आएका राहुल गान्धी र
हाम्रा जस्तै कम्युनिस्टका कारण तीन दशक शासनमा रहँदा पनि,
प्रचुर साधन र स्रोत भइकन पनि पश्चिम बंगालमा मानिसले तान्ने रिक्साहरू देखिन्छन् ।
भारतमा प्रचूर साधन र स्रोतले भरिएको राष्ट्र हो पश्चिम बङ्गाल !
त्यसै अंग्रेजहरूले रोजेका थिएनन् बंगाललाई आफ्नो राजधानी बनाउन ।
अर्को, चीनले आफूलाई उम्दा जनशक्तिको राष्ट्रमा रुपान्तर गरेको छ ।
शिक्षा र प्राविधिक श्रेष्ठतामा अब्बल छ ।

०००

५) २४ वर्ष भयो हामी एउटा मेलम्ची परियोजनालाई सम्पन्न गर्न सकिरहेका छैनौँ,
तर यस्तो परियोजना सम्पन्न गर्न चीनलाई चार महिना पनि लाग्दैन ।
भारतलाई एकाध वर्ष लाग्दछ होला ।
त्यस्ता सक्षम र विराट सम्भावनायुक्त मुलुकहरूका बीचको सानो मुलुकलाई यही शैलीको शासन र राजनीतिले धानिरहन सक्दछ ?

आफैँले हस्ताक्षर गरेको, आफैँले अघि बढाएको, आफैँले अनुमोदन गरेको एउटा विकास परियोजना सम्वद्ध अनुदानलाई लिएर स्वयम् उक्त अनुदान र विकास परियोजना सम्बद्ध सवालमा यत्रो वितण्डा हुन्छ,
सरकारले सहमति जनाएर हस्ताक्षर गरिसकेको विषयमा सरकार फेरि आफैँ प्रश्नमाथि प्रश्न गरेर पत्र पठाउँछ ।
स्वयम् प्रधानमन्त्रीलाई आफूले जनाएको प्रतिवद्धता पर्याप्त नहोला कि भन्ने लागेर, नपत्याउलान् भन्ने लागेर अर्का पूर्वप्रधानमन्त्रीको समेत संयुक्त हस्ताक्षरसहित विदेशमा पत्राचार गर्दछन् ।
यसको मूल्याङ्कन र समीक्षा पनि त दुनियाँमा भइरहेकै होला ।
विदेशी राष्ट्रसँगको सवालमा नेपालको प्रधानमन्त्रीको प्रतिवद्धता र हस्ताक्षर पर्याप्त नहुने अवस्था आउनु भन्दा अर्को दुर्भाग्य के हुन सक्छ मुलुकका लागि ?
द्वैध शासनको प्रमाण अर्को चाहिन्छ ?
गठबन्धनको सरकार भनेर पन्छाउन सकिन्न यसलाई ।
गठबन्धनको सरकार जहाँ पनि हुन्छ, झन्डै तीन दशकदेखि त्यहीँ भारतमा गठबन्धनकै सरकार छ ।
प्रान्तमा पनि छन् ।

अनि काम हुन्छ मुलुकमा ?
विकास गर्न सकिन्छ ?

०००

६. प्रष्ट छ, सरकारसँग सरकार संचालनको सामान्य विज्ञता पनि छैन ।
सरकारले सरकारको हुर्मत लिएको छ ।
मन्त्री किन हो ? कसरी मन्त्रालय चल्छ ? भन्ने विषयको बढी ज्ञान भएर होला भन्नुपऱ्यो– मन्त्रीहरू काम देखाउन सडकमा जुलुस लिएर हिँडेका छन् ।
स्वयम् राष्ट्र बैंकको भनाइ र त्यसको निहितार्थ हेर्दा सरकारले अभूतपूर्व क्षमता प्रदर्शन नगरे र अवस्था यस्तै रहे अर्को ६–७ महिनापछि मुलुकसँग अत्यावश्यक बस्तु आयात गर्न विदेशी मुद्रा नहोला ।
मुलुकहरूले आफूसँग भएमध्येका योग्य अर्थविदलाई अर्थमन्त्रीमा नियुक्त गर्दछन् ।
नेहोरा गरेर, बिन्ती गरेर अर्थमन्त्री भइदिन अनुरोध गर्दछन् ।
डाक्टरले अनुहार हेरेरै, नाडी छामेरै रोगको अनुमान गरेर थप डाइग्नोसिस गर्छन्/गराउँछन् ।
त्यस्तै विज्ञ अर्थमन्त्री चाहिन्छ मुलुकलाई ।
तर हामी !!?
नेताको मुलुकभित्र र बाहिरको पैसाको कारोबार सजिलो मिलाइदिने अर्थमन्त्री खोज्छौँ ।

००

७. तर सरकार विज्ञहरूले चलाउनु पर्दछ ।
विज्ञहरूको सहयोगमा चलाउनु पर्दछ ।
विज्ञ नभए तयार गर्नु पर्दछ, लगानी गर्नु पर्दछ विज्ञतामा ।
नेपालमा विज्ञ नभए स्वतन्त्र विदेशी विज्ञको सहयोग लिनुपर्दछ ।
देश भएपछि देश–देश जसरी चल्नु पर्दछ, चलाउनु पर्दछ ।
विश्वको भूराजनीतिक दबाब र तनावको लहर नेपालको साँधमा आइपुगेको छ ।
शासन सञ्चालनमा भारत र चीनको भन्दा बढी क्षमता नेपालको खाँचो हो ।
सिङ्गापुर, ताइवान, इजरायल, दक्षिण कोरियाले जस्तै शासकीय र राष्ट्रिय क्षमता प्रदर्शन गर्नु पर्दछ – तिनले चीन र भारतको भन्दा मात्रै होइन, बेलायत र अमेरिकाको भन्दा पनि कुशल शासन दिएका छन् !
त्यसैले आजको स्थितिमा छन् ।

मुलुकभित्र हिंसा द्वन्द्व र अशान्तिको मूल कारण शासकीय अक्षमता हो,
आर्थिक गतिहीनता र भ्रष्टाचार हो ।
राजनीतिक अस्थिरता हो ।
देश देश जसरी चलेन भने हामीसमेतले अनुमोदन गरेको, हामीसमेत सदस्य रहेको राष्ट्र सङ्घको विधान र व्यवस्था हेरे हुन्छ ।