- रेजिना गौतम, विर्तामोड

‘मेरो बिहेमा मलाई कन्यादान दिँदा निकै पीडा अनुभूति भएको थियो । त्यही बेलादेखि मेरो मनमा पस्यो, दान गर्ने कुनै बस्तु होइनन् छोरी !’- विर्तामोड-५ निवासी कञ्चना ढकाल सिटौलाले २९ वर्षअगाडि भएको आफ्नो बिहेमा कन्यादान दिएको स्मरण गर्दै भनिन्- ‘कन्यादान गरिसकेर फुलको थुँगा खुट्टामा राखेर बेहुलालाई ढोग्न लगाउँदै.. लु आजदेखि तपाईंको शरणमा आए है भन्न लगाए, त्यो बेलादेखि नै मेरो मानसिकतामा छोरी दान गर्ने बस्तु होइन भन्ने कुरा गढ्यो ।’
आफ्नो विवाह गरेको २९ वर्षपछि गत माघ २२ गते छोरी आयुसीको विवाह झापा भद्रपुरका अनिष ढकालसँग गरिदिएकी सिटौलाको मनमा छोरीको बिहेको मिति नजिकिँदै जाँदा आफूलाई आमा-बाबुले कन्यादान गरेर गुरुले ‘तपाईंको शरणमा आएँ’ भन्दै ढोग्न लगाएको कुरा ताजा भएर आयो रे ! छोरीको बिहेको कुरा चल्दैदेखि कन्यादानको विषयले पिरोलिरह्यो, माइती र घर दुवै संस्कारी परिवारले के भन्लान् भन्ने चिन्ता थपियो’, सिटौलाले भनिन्- ‘तर सबै कुरा बुझाएपछि दुवै परिवारबाट साथ पाएँ ।’
छोरी मात्रै भएको परिवारमा कन्यादान गरिसकेपछि उत्पन्न समस्याले पनि सिटौलालाई कन्यादान गर्नु हुन्न भन्ने पक्षमा उभिन बाध्य बनायो । एक वर्षअगाडि आफ्नै काकीको निधनमा दशगात्र (किरिया) कर्म गर्ने कुरामा समस्या भयो । उनकी कार्की लक्ष्मी ढकालका चार वटी छोरी सबैको विवाह भइसकेको थियो । बिहे भइसकेका छोरी मात्र, त्यसमा पनि बिहे भइसकेका । छोरा नभएपछि किरिया कसले गर्ने भन्ने छलफल नै चल्यो ।
छलफलमा कन्यादान गरेर कर्म सारेका छोरीले किरिया गर्नुहुँदैन अर्कै मान्छे खोज्नुपर्छ भन्ने कुराले आफूलाई नराम्ररी छोएको उनले सुनाइन् । उनले भनिन्- ‘बैनीहरूले काम गर्न बस्न हुने/नहुने छलफल चल्यो, अर्को को मान्छे खोजेर ल्याउनु ? नौ महिना कोखमा राखेर जन्माएका छोरीले चैँ गर्न नहुने रे, परबाट खोजेर ल्याएको मान्छेले चैँ गर्नु हुने रे ! हाम्रो चलन पनि कस्तो ? त्यसो भनेपछि बैनीहरूले हाम्री आमाको काम हामी आफैं गर्छौं भने र गरे ।’ उक्त घटनाले पनि बिहेमा गरिने सबैभन्दा ठूलो कर्म कन्यादान नगरेको उनले बताइन् ।
छोरीको बिहे गर्ने तर, कन्यादान नगर्ने भन्ने कुरामा गुरु (पुरोहित) ले अलि अप्ठ्यारो मानेको उनले सुनाइन् । गुरुले कन्यादान गर्नुपर्छ भनेर सम्झाउन खोजेको सुनाउँदै उनले भनिन्- ‘गुरुले कन्भिन्स गर्न खोज्नुभयो, कन्यादान नै नगर्ने भए बिहेको कर्म चैँ किन गर्नुहुन्छ त ? पनि भन्नुभयो तर मैले मानिन् ।’ उनले थपिन्- ‘संस्कार तोड्नु हुँदैन, तर संस्कारभित्र भएका चित्त नबुझेका कुरालाई परिमार्जन पनि गर्दै जानुपर्छ, म संस्कारविरोधी होइन छोरीलाई बस्तु झैँ दान गर्ने कुरा मेरो नजरमा कु-संस्कार लाग्यो ।’
कन्यादान कर्मका ठाउँमा आमा कञ्चनासहित बुबा होमप्रसाद सिटौलाले छोरी आयुसीको हात ज्वाइँ अनिषका हातमाथि राखिदिँदै सुखद र सफल वैवाहिक जीवनको कामना गरेका थिए । छोरी कुनै बस्तु होइन जो दान गर्नुपर्छ भन्ने विषयका कट्टरविरोधि वीरगञ्जका बामपन्थी लेखक तथा पत्रकार गोपालचन्द्र गौतमलाई छोरीको वैवाहिक कार्यक्रम चलिरहेका बेला अचानक हृदयघात भयो । चार छोरा र एक छोरीका पिता गौतम छोरीलाई दान गर्नुहुन्न भन्ने विषयमा कलम नै चलाउँथे रे । जब छोरीको बिहेको दिन नजिकिँदै गयो उनी अलि तनावमा देखिन्थे रे, गौतमकी श्रीमती सुधा गौतमले स्मरण गरिन् ।
‘जन्तीले खाना खाँदै गर्दा घरभित्र पसेका उनी एक्कासी लडे, हतार हतार एम्बुलेन्स बोलाएर अस्पताल पु¥याइयो, तर अस्पतालबाट सकुशल फर्काउन सकिएन’- गौतमकी श्रीमती सुधाले भनिन्- ‘मनमा पीडा जस्तो बुझिन्थ्यो कसैलाई पनि भन्नुहुन्नथ्यो, एउटी छोरी, औधी माया गर्नुहुन्थ्यो, दान गरेर दिने छोरी कुनै बस्तु होइन भन्नुहुन्थ्यो ।’ ‘त्यो बेला उहाँको भनाइलाई सहयोग गर्न कसले मान्थ्यो र ! त्यसमा पनि वीरगञ्ज जस्तो ठाउँमा’- बिहेको दिनको घटना स्मरण गर्दै उनले भनिन्- ‘जन्ती आए, हाँसीखुशी नै हुनुहुन्थ्यो, बेहुलासहित जन्तीलाई खाना खाने ठाउँतिर आफैं पठाउनुभएको । त्यो पछि के भयो के भयो एकैचोटी घरभित्र आएर लड्नुभयो, हतार-हतार एम्बुलेन्स बोलाएर अस्पताल पुऱ्याए, त्योपछि बिहेको कर्म मैले एक्लै गरेँ, कन्यादान पनि एक्लै दिएँ, छोरी अन्माएपछि अस्पताल पुग्दा भेन्टिलेटरमा हालेको छ भने, ५ दिनपछि उहाँको त्यहीँ निधन भयो । उहाँको मृत्युका कारण नै कन्यादान भएजस्तो लाग्छ, त्यसअघि कुनै बिरामी भएको थाहा थिएन !’- सुधाले सम्झिइन् ।
२०५७ सालमा दिवंगत भएका गौतमको स्मृतिमा २०६७ सालदेखि पुरस्कार स्थापना गरी वार्षिक रूपमा उनको वार्षिक पुण्यतिथि माघ २ गते वितरण गरिँदै आएको छ । १० हजार राशीबाट शुरु गरिएको उक्त पुरस्कारको राशी बढाउँदै हाल एक तोलाको सुनको तक्मा (स्वर्ण पुरस्कार) प्रदान गर्ने गरिएको छ ।
हिन्दु धर्मशास्त्रअनुसार दान कायिक, वाचिक र मानसिक गरी तीन प्रकारले दिने चलन छ । संकल्पपूर्वक सुवर्ण, रजत आदि दान दिनुलाई कायिक दान भनिन्छ । आफ्नो रक्षाका लागि जौ अभय दान दिनुलाई वाचिक दान र जप, ध्यान गरेर दिइने वस्तुको दानलाई मानसिक दान भन्ने गरिन्छ । जो व्यक्ति दान प्राप्त गर्छ त्यसलाई दानको पात्र भन्ने चलन छ ।
माथिका कुराले दान गर्ने कुनै वस्तु हो, मान्छे होइन । तर, हामी ‘कन्यादान’ गर्छौं । के कन्या दान गर्ने बस्तु हो ? के उसको अरू कुनै महत्व छैन ? दानको परिभाषाअनुसार दान गरेको बस्तुमाथि दान गर्नेको कुनै अधिकार रहँदैन ?
यही विषयमा रामहरी ओझा लेख्छन्- ‘मैले मोक्षप्राप्तिका लागि सम्पूर्ण देवीदेवता र मानवलाई साक्षी राखेर मेरी छोरी धर्मार्थ कार्यका लागि तपाईंलाई दान गरेँ, यसले कुनै अपराध गरी भने पनि यसलाई नत्याग्नुहोला । धर्मार्थ कामका लागि यसलाई सधैं आफूसँगै राख्नुहोला । यो कन्यादान कार्यबाट भगवानले मलाई शान्ति दिऊन् ।’ आफ्नो छोरीलाई वरको हातमा सुम्पिँदा यी शब्दहरूको प्रयोग हुन्छ । अनि भनिन्छ, ‘ददाति, ददाति, ददाति… अर्थात् मैले मेरो छोरी तपाईंलाई दिएँ, दिएँ, दिएँ । यसैलाई ‘कन्यादान’ भन्ने गरिन्छ ।’
छोरी कन्यादान गर्नुलाई हिन्दु परम्परामा सबै भन्दा ठूलो दान मान्ने चलन पनि छ । कुनै पनि बस्तु दान गरिसकेपछि छुनु वा प्रयोगमा ल्याउनु, अथवा घरमा फर्काउनु हुँदैन भनिन्छ । दान गरेका अन्य चिजहरूको हकमा त्यही कुरा लागू भए पनि सबै भन्दा ठूलो दान मानिएको कन्यादानको चलन भने अलि फरक छ । केही वर्षयता हिन्दु धर्मशास्त्रभित्रको ठूलो दानका रूपमा उल्लेख गरेको कन्यादानको विषय बन्दै गएको छ । ‘छोरी दान गर्ने हो कि होइन ?’ भन्ने बहसकै बीच परिवर्तनका पक्षमा उभिने आमा बाबुले परम्परागत रूपमा चल्दै आएका केही त्यस्ता नकारात्मक कुराको विपक्षमा उभिने हिम्मत गरेका छन् ।
प्रतिक्रिया