त्रिविविका विद्यार्थीमा शोधपत्रप्रतिको त्रास-मनोविज्ञान !

त्रिविविका विद्यार्थीमा शोधपत्रप्रतिको त्रास-मनोविज्ञान !


प्रपोजल पास भएका केवल १७ प्रतिशत शोधार्थीले मात्र पिएचडीको डिग्री प्राप्त गर्ने गरेका छन् । धेरैले बीचमै छोड्ने वा वर्षाैसम्म पूरा गर्न नसक्ने अवस्था छ । धैर्यता, अभ्यास, अध्ययन र दृढताको कमी, कमजोर मनोविज्ञान, झन्झट, दुःख, पीडा, समय अभाव, चौतर्फी खर्च, तनाव आदि कारणले बीचमै थेसिस छोड्नेको सङ्ख्या बढ्दै गएको छ ।
  • प्रेमराज सिलवाल

नेपालका विश्वविद्यालयहरूमा स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधिको परीक्षा उत्तीर्ण गर्नको लागि अधिकांश विषयहरूमा शोधपत्र (थेसिस) अनिवार्य गरिएको छ । जबकि धेरैजसो स्कुल-कलेजका तल्ला कक्षाहरूमा भने त्यससम्बन्धी सामान्य ज्ञानसमेत दिने गरिँदैन । युरोप-अमेरिकामा विद्यार्थीहरूलाई सानो कक्षादेखि नै अनुसन्धानमा आधारित भएर अध्ययन गराइने गर्नाले उनीहरूको लागि अनुसन्धान सामान्य विषय हुने गरेको छ ।

स्कुलेजीवन र ‘प्लस टु’मा कुनै शोधपत्र वा अुनसन्धान गर्नु नपरेका विद्यार्थीलाई एकैपटक त्यो अनिवार्य विषयको परीक्षा पास गर्नुपर्ने बाध्यताका कारण धेरै प्रकारका अन्यौलता, अस्पष्टता, बुझाइमा अनेकता, बोझिलोपन महसूस हुने गरेको छ । सोही कारण कतिपय विद्यार्थीहरू स्नातकोत्तर तहमा अन्य विषयहरूको परीक्षा पास गरेको वर्षाैंसम्म पनि थेसिस पूरा गर्न नसकेका कारण अल्झिएर रहेका देखिन्छन् । जसले गर्दा विद्यार्थीहरूमा कतिपय निराशाको मनोविज्ञान समेत उत्पन्न हुने गरेको छ ।
अनुसन्धान वा खोज भन्ने कुराले सधैं नयाँ कुरा पत्ता लगाउने मान्यता राख्दछ । अगाडि भएका अनुसन्धानका आधारमा रहेर वा त्यसलाई आधार बनाएर फेरि नयाँ कुराको ज्ञान हासिल गर्ने र नयाँ प्रकारले विषयको विश्लेषण गर्ने कुरा यसमा हुन्छ ।

अधिकांश विद्यार्थीहरूलाई यससम्बन्धी सैद्धान्तिक, प्राविधिक तथा व्यवहारिक ज्ञान नभएको देखिन्छ । प्रायः विद्यार्थीहरूले थेसिस के हो ? शीर्षक कसरी-कुन छान्ने ? कसरी-कहाँबाट सुरू गर्ने ? कुन विषयमा अनुसन्धान गर्ने ? कहाँ गएर अन्त्य गर्ने ? सामग्रीहरू कहाँबाट कसरी खोज्ने ? भन्ने जस्ता यावत सवालबाट माथि उठ्नै सकेका हुँदैनन् । थेसिसकै कारण विश्वविद्यालयमा सयाँै विद्यार्थीले आफ्ना परीक्षा हाप्ने, नसकिने विषय रहेछ भन्दै तर्सने, गाइडले दिएका सुझावलाई पूरा गर्न नसकेर बीचमै भाग्ने तथा गाइडलाई सत्तोसराप गर्ने गरेका अनगिन्ती उदाहरण देखिन्छन् ।

अर्काेतर्फ शहर-बजारमा थेसिसको धन्दामा लागेका केही गिरोहले त्यसलाई आफ्नो उद्योग बनाएर सडकपेटीमा थेसिस बिक्रीको लागि सम्पर्क फोन नम्बर समेत टाँस्ने गरेका पनि देखिन्छन् । कतिपय विद्यार्थीले अरूको हुबहु कपी गर्ने तथा शीर्षक मात्र बदलेर विषयमा सोही कुराहरू आफ्नो नाममा कपी गरी बुझाउनेसमेत गर्दै आएका छन् ।

विश्वविद्यालयकै प्राध्यापक र पदाधिकारी समेतलाई पनि त्यस्ता कपी गरेको आरोप लाग्दै आएको छ । देशकै पुरानो त्रिभुवन विश्वविद्यायलमै थेसिसका यस्ता समस्या देखिने गरेका छन् । त्यसरी चोरी वा कपी गर्दा गाइडले पत्ता लगाएर विषय नै परिवर्तन गरिदिने, अन्तिममा विषयलाई मोडिदिने र अन्य खालका अप्ठेरो पारिदिने गर्नाले विद्यार्थी पछि थप अन्यौलमा पर्ने समेत गरेका छन् । अर्काेतर्फ कपी पेष्ट गरी जे पायो त्यही बुझाउँदा विद्यार्थीले पछि अन्तरवार्ता अर्थात् भाइवाको समयमा अनुसन्धानको विषयमा निर्णायकले सोधेका प्रश्नको जवाफै दिन नसक्ने आदि समस्या हुने गरेको देखिन्छ । यसैबीच चोरी नियन्त्रण गर्न त्रिविविले लाइब्रेरीमा कम्प्युटर यन्त्रसमेत जडान गरिसकेको छ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा नियमित पढाइ नहुने, विद्यार्थी आफैं पढ्न नजाने, समयले नभ्याउने र कलेजमा प्राध्यापकले पनि मन दिएर नपढाउने आदि कारणले गर्दा अधिकांश विद्यार्थीहरूमा थेसिस सम्बन्धमा बुझ्नैपर्ने सैद्धान्तिक, प्राविधिक तथा व्यवहारिक ज्ञान नभएको हो । त्यसैले पनि विद्यार्थीहरू चोरी र कपी पेष्ट गर्न बाध्य भएका हुन सक्छन् । अर्काेतर्फ केही प्राध्यापकहरू विद्यार्थीले आफैले मेहनत गरेर ल्याएका थेसिसलाई समेत चोरी वा कपी होला भन्ने पूर्वाअनुमानको आधारमा अन्तिम समयमा आएर विषय नै परिवर्तन गरिदिने, भटाभट काटिदिने, अन्टसन्ट सुझाव दिने, लामो समय झुलाइदिने, ध्यान दिएर नहेरिदिने र हेर्दा पनि प्राविधिक पक्षतर्फ मात्र हेरेर आफू जोगिने गर्ने गरेका छन् । विद्यार्थी, प्राध्यापक र विश्वविद्यालय प्रशासनको यस्तो रवैयाका कारण त्रिभुवन विश्वविद्यालयमा थेसिसको परीक्षा पूरा गर्ने कुरा धेरैजसो विद्यार्थीहरूका लागि सधैँ एउटा त्रास र महाभारतको विषय जस्तो बन्ने गरेको छ । अर्काेतर्फ धेरैजसो विद्यार्थीहरूलाई शीर्षकको छनौट पनि जटिल हुने गरेको छ । थेसिस विषय छनौट, निश्चित विधि र प्रक्रिया, उद्देश्य, सीमा आदिमा रहेर पूरा गरिने एउटा सैद्धान्तिक तथा प्राविधिक विषय हो । सोही आधारमा अनुसन्धानकर्ताले आफ्नो अध्ययनको विश्लेषण गरी निश्कर्ष निकालेको हुन्छ ।

थेसिसमा विषय चयन :

कुनै पनि अनुसन्धान, अध्ययन, शोधपत्रको लागि विषय चयन सर्वाधिक महत्वपूर्ण प्राथमिक कुरा हो । विषय चयन यस्तो महत्वपूर्ण कुरा हो जो यात्रीको यात्रासम्बन्धी निश्चित गन्तव्य वा स्थानको चयनजस्तै हो । यात्रीलाई आफ्नो गन्तव्य, उद्देश्य, समयसीमासहितको यात्रासम्बन्धी प्रष्टता चाहिएजस्तै थेसिसमा विषयको प्रष्टता पहिले चाहिन्छ । विषय, लक्ष्य, गन्तव्यसहित विषय चयन गर्न नसक्ने थेसिसको हालत बाटो भुलेर दुःख पाएको यात्रीको जस्तै हुन्छ । तसर्थ, विषय चयन नै पहिलो र सर्वाधिक महत्वको विषय हो । यसमा आफ्नो विश्वविद्यालयका विषयअनुसारका क्षेत्र, अनुसन्धकर्ताको रुचि, क्षमता, समयसीमा, गाइडको निर्देशन, अध्ययन गरेको विषयले माग गर्ने निश्चित विषय, समयको सान्दर्भिकता आदिको ख्याल गर्नु पर्दछ । अरूले गरिसकेको विषय गर्ने नहुने भन्ने हुन्न । तर, उसको भन्दा भिन्न तरिकाले नयाँ कुराको खोजीसहितको नयाँ दृष्टिकोणचाहिँ हुनैपर्छ । विषय छान्दा व्यापक विषय छान्नुभन्दा सानो र किटानी विषय वा सानो इकाइ छान्नु उचित हुन्छ ।

अध्ययन, दृढता र धैर्यता :

थेसिस पूरा गर्ने भनेको अध्ययन, अध्ययन र फेरि अध्ययनको चरण पार गर्नु हो । जसमा अनेक सन्दर्भ, पक्ष र विषयको दृष्टिकोणबाट पटक-पटक अभ्यास गर्नैपर्ने हुन्छ । थेसिस कुनै विषयमा केही पाना कपी गरी थपक्क बुझाएर पूरा हुने विषय होइन । अपवादमा कसैले इतिहासमा पूरा गरेकै भए पनि अब त्यो सम्भव देखिन्न । यसमा अपार धैर्यता, मेहनत तथा निरन्तर सुधार आवश्यक पर्छ । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका अनुसार प्रपोजल पास भएका केवल १७ प्रतिशत शोधार्थीले मात्र पिएचडीको डिग्री प्राप्त गर्ने गरेका छन् । अर्थात् धेरैले बीचमै छोड्ने वा वर्षाैसम्म पूरा गर्न नसक्ने अवस्था छ । यस्तो हुनुमा धैर्यता, अभ्यास, अध्ययन र दृढताको कमी, कमजोर मनोविज्ञान, झन्झट, दुःख, पीडा, समय अभाव, चौतर्फी खर्च, तनाव आदि कारणले विचमै थेसिस छोड्नेको सङ्ख्या बढ्दै गएका हुन् ।

निष्कर्ष :

अनुसन्धान मात्र त्यस्तो कुरा हो जो कहिल्यै सतप्रतिशत पूर्ण बन्दैन । यसमा सधैँ नयाँ दृष्टिकोण, नयाँ मान्यता, नयाँ तरिका, नयाँ क्षेत्र, नयाँ सन्दर्भ आदि दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न सकिन्छ । जसको एउटा मात्र पक्ष र पाटो हुँदैन । जसका विभिन्न पक्ष र पाटा हुन्छन् । जो अध्ययन गरेर पनि अथार्थमा पूर्ण बन्दैनन् । पूर्णताको नजिक-नजिक पुगेको मात्र हुन्छन् । त्यसैले थेसिस यसअघि गरिएका र भएका अध्ययन-अनुसन्धानलाई आफ्नो विषय र क्षेत्रअनुसार पटक-पटक परिमार्जन गर्ने, खोज गर्ने, खार्ने, तुलना र विश्लेषण गर्ने गर्दै अध्ययनको चक्रबाट अघि बढ्छ । एउटा काँचो फलामलाई अनेकौँ पटक आगोमा पोली, निश्चित हथौडाले ठोकी, हानी, कालिगढको सीप, लगन, ज्ञान, धैर्यता र पटक-पटकको परिमार्जन वा काटछाँट पछि उत्कृष्ट नयाँ र धारिलो हतियार वा बस्तु बन्न सके जस्तै थेसिस पनि भट्टीमा निरन्तर काटछाँटको बाटो हुँदै अघि बढ्नुपर्छ र बढ्छ । त्यस्तो थेसिसको जीवनमा उपयोगिता तथा विश्वसनियता बढी नै हुन सक्दछ । विद्यालय स्तरमा यससम्बन्धी सामान्य ज्ञान, सूचना, जानकारी तथा अभ्यासको कमिले गर्दा विश्वविद्यालयमा डिग्री प्राप्त गर्न पूरा गर्नुपर्ने थेसिस अधिकांश विद्यार्थीहरूको लागि एउटा त्रास तथा हाउगुजीको विषय हुने गरेको हो । यसलाई सुधार गर्न विद्यालय स्तरदेखि नै अनुसन्धानमा आधारित शिक्षण प्रणालीमा जोड दिनु पर्दछ ।