मुलुक-मुलुकीको बेहाल बनाउनेको बहिष्करण कहिले ?

मुलुक-मुलुकीको बेहाल बनाउनेको बहिष्करण कहिले ?


विधिको बिचल्ली पार्ने र लोकले ‘बेइमान, भ्रष्ट’ भनिरहेकाहरूकै कारण लोकतान्त्रिक नेपालको यो कालखण्डले भताभुंगे भविष्यको संकेत गरिरहेको छ । अब त जन-जनबाट खबरदारी मात्रै पर्याप्त हुन सक्दैन; प्रतिकार र बहिष्करण नै जरुरी हुन पुगेको छ ।
  • राजबाबु शंकर

नेपालमा शासन पद्धति जनतान्त्रिक मानिए पनि त्यस पद्धतिलाई इमानी कार्यान्वयन गर्ने पात्रहरू योग्य भएनन्, आजपर्यन्त छैनन् पनि । जबकि गणतन्त्र बहालीको डेढ दशक गुज्रिइसकेको छ ! जब शासन सञ्चालन गर्न पुगेका दलका मुखियाहरू नै जनताप्रति बेइमानी गर्न पुग्छन् र उसका पिछलग्गुहरूको हित रक्षार्थ मात्रै लागिपर्दछन् भने मातहतका प्रशासकहरू पनि स्वतः स्वेच्छाचारी र भ्रष्ट भई नै हाल्छन्, भइरहेको त्यही नै छ ।

नेपालमा लोकतन्त्रको आदर्श तथा मूल्य नबुझ्नेहरू सत्ताका हर्ताकर्ता बन्न पुगेका र राज्यव्यवस्थामा अंशभाग खोज्ने केही भ्रष्टहरूको रजगजकै कारण जनविश्वासको अन्तिम केन्द्र न्यायालय समेत अछुतो रहन पाएन । यसरी लोकतन्त्रका नायक भनिने कथित अगुवाहरू नै लोकतन्त्रको वस्त्र खोल्न उद्यत भएकाहरूले सत्ताको मधुबनमा शक्तिमान भएर रत्तिनेहरूले नै लोकतान्त्रिक नैतिकता र सदाचारलाई बेलगाम बनाइरहेका छन् ।

पाश्चात्य दार्शनिक प्लेटोले भने झैं ‘राजनीतिमा सहभागी नहुने असल मानिसका लागि सबैभन्दा ठूलो सजाय नै कमसल मानिसको शासन अन्तर्गत रहनु हो’- भनिएअनुसारै नेपालमा बेहाल अवस्था बहाल छ । अर्थात्, सम्यक तरिकाले जनअपेक्षा अनुरुप सञ्चालन हुन नसकेको लोकतन्त्रको ब्यानरमै तानाशाही जन्मिएको छ र भाँडभैलो दन्किएको छ । अहिलेसम्मको जनसाधारणको चिन्ता भनेको कुपात्रको हातमा लोकतान्त्रिक शासनव्यवस्थाको साँचो पुग्यो भनेर हो । जसले आम नागरिक तहमा देश र जनताप्रति गद्दार राजनीतिकर्मीप्रति चरम वितृष्णा व्याप्त हुँदै मात्रै छैन, आन्दोलित मानसिकता पनि सँगसँगै बढ्दो छ ।

विधिको बिचल्ली पार्ने र लोकले ‘बेइमान, भ्रष्ट’ भनिरहेकाहरूकै कारण लोकतान्त्रिक नेपालको यो कालखण्डले भताभुंगे भविष्यको संकेत गरिरहेको छ । त्यसैले अब आमजनको चिरकालीन अपेक्षा अनुरूप शासकीय दुष्प्रवृत्ति तत्काल सुधार गर्न नचाहे जनस्तरबाटै ती पुराना कुपात्रहरूको बहिष्कार र नयाँ पात्रको खोजीको मुद्दामा सबैको आवाज सगोल रूपमा सघन बन्न विलम्ब हुनु हुन्न । अब त जन-जनबाट खबरदारी मात्रै पर्याप्त हुन सक्दैन; प्रतिकार र बहिष्करण नै जरुरी हुन पुगेको छ । यही नै आज समयको प्राथमिकतापूर्ण मांग हो ।

राजनीतिमा इमान-जमानको मूल्य कहिले स्थापित हुने हो भन्ने आमजनको खोजीका बीच अब फेरि नयाँ म्याण्डेट माग्न चुनाउको मेहरो पारेर तिनै भ्रष्ट अनुहारका गतिछाडाहरू जनता समक्ष आउने नै छन् । तर, अब भने त्यस्ता बेइमान धोकेबाजहरूको विकल्प खोज्न आम जनता तयार हुनै पर्ने भएको छ । समयको यो मांगलाई हामी सबैले बिर्सनु अथवा नजरअन्दाज गर्नु निश्चित रूपमा आत्मघाती हुनेछ । त्यसो हुँदा समयले सुझाएको यो सावधानी र खबरदारीलाई हामी सबैले यतिबेलै हृदयंगम गरौं । तमाम नेपालीजनलाई चेतना भया !