वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष पदमा लागि उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् ।
नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै न्यौपानेले नेपाली कांग्रेस (बिपी) पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीसँगै नेपाली कांग्रेस (बिपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दिएकी जानुकी लामाले भने उम्मेदवारी कायम राखेकी छिन् ।
हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी दिएपछि हेटौंडामा गठबन्धन तोडिएको भन्ने चर्चा चल्न थालेको थियो । हेटौंडाको मेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका दीपा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
त्यसैगरी, नेपालका लागि नेपाली पार्टीका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । हेटौंडाको उपमेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका हरिहर खतिवडा र नेकपा एकीकृत समाजवादीकी मखकुमारी तिमल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।
हेटौंडामा वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका १८ जना वडा अध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी महिला सदस्य पदका उम्मेदवार ५ जना, दलित महिला सदस्य पदका उम्मेदवार ६ जना र खुल्ला सदस्य पदका १५ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको शर्माले बताए ।
धनगढीमा १ मेयर, १० वडा अध्यक्ष सहित २५ जनाको उम्मेदवारी फिर्ता
यसैगरी, धनगढी उपमहानगरपालिकामा उम्मेदवारी दिएका मध्य मेयर पदका १, वडा अध्यक्ष पदका १०, वडा सदस्य पदका ९, महिला वडा सदस्य पदका ३ र १ जना दलित महिला सदस्य सहित २५ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उप महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी अञ्जना श्रेष्ठ मास्केले आफ्नो उम्मेदवारी फिर्ता लगेकिछन् ।

यसैगरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १० जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढी–११ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेशकुमार पन्त, वडा नम्बर–१३ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम सिंह ऐर, १३ बाटै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गीता कुमारी गौतम, वडा नम्बर–१९ का लागि स्वतन्त्र उम्मेदवारी दिएका खुसी राम चौधरी, जसपाबाट धनगढी–१३ का लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका कमल धामीले आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट धनगढी–१२ का लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका पदमे कोली, एकीकृत समाजवादी पार्टीबाट धनगढी–५ कालागि उम्मेदवारी दिएका सुजित शर्मा, वडा नम्बर–१४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर धामी, वडा नम्बर–१२ बाट स्वतन्त्र उम्मेदवारी दिएका ऐनबहादुर सिंह र माओवादी केन्द्रबाट धनगढी–१४ का लागि उम्मेदवारी दिएका कृष्णराज गिरीले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लगेको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए ।
उनका अनुसार पार्टी तथा स्वतन्त्र रूपमा विभिन्न वडामा उम्मेदवारी दिएका ९ जना वडा सदस्य, तीन जना महिला सदस्य र १ जना दलित महिला सदस्यले पनि आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।
बाँकेमा ७७ जनाले फिर्ता लिए उम्मेदवारी
बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र ७७ जना उम्मेदवारले शुक्रबार साँझ आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरमा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकमा पाँच, जानकीमा ७, बैजनाथमा ७ र नरैनापुरमा ४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
खास गरी राजनीतिक दलतर्फ गठवन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगागको पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयहरुले जनाएका छन् ।
निर्वाचन कार्यालय जानकीका निर्वाचन अधिकृत वाशुदेव शर्माले दिएको जानकारी अनुसार बाँकेको जानकी गाउपालिकाबाट अध्यक्षमा १, उपाध्यक्ष १, वडा अध्यक्ष ३ जना र २ जना वडा सदस्य गरी ७ जनाले आफ्नो उम्मदवारी फिर्ता लिएका छन् ।
बैजनाथ गाउपालिकालका निर्वाचन अधिकृत टेकबहादुर थापाले दिएको जानकारी अनुसार बैजनाथमा ७ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरी डुडुवा गाउपालिकाका निर्बाचन अधिकृत फटिकराज मुडभरीले दिएको जानकारी अनुसार ५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका १४ जना विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए । उनले दिएको जानकारी अनुसार मेयरमा १, उपमेयरमा १, वडा अध्यक्षमा ६, सदस्य महिला ३, दलित महिला सदस्य १ र खुला सदस्य २ गरी १४ जना रहेका छन् ।
कोहलपुर नगरपालिकामा रहेका १६ मध्ये एक जना प्रमुख, ५ वडाध्यक्ष अन्य सबै वडा सदस्य रहेको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए । प्रमुख काँग्रेसका बिद्रोही उम्मेदवार हुन् ।
यसैगरी राप्ती सोनारी गाउँपालिकामा १२ मध्ये ८ जना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका उम्मेदवार रहेको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । तीमध्ये तीन वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्य छन् ।
खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारका अनुसार खजुरामा १२ मध्ये तीन वडाध्यक्ष र ९ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
बाँकेका ८ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वटा वडाअध्यक्षका लागि २ हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका थिए । बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडा अध्यक्षका लागि २ हजार ३ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिक्रिया