समुदायको हित र पत्रकारिताबीच अन्तरसम्बन्ध

समुदायको हित र पत्रकारिताबीच अन्तरसम्बन्ध


मे ३ अर्थात् प्रेस स्वतन्त्रता दिवसको सन्देशबारे !

  • डिल्ली अम्माई

पत्रकारको भूमिकाको कुरा गर्दा परापूर्वकालका सूचनासम्बाहक परेवाको स्मरण गरिन्छ । खास गरेर परेवालाई चिठ्ठीपत्र बोक्ने तालिम दिएर परापूर्वकालमा सूचनाको आदानप्रदानमा प्रायोग गर्ने गरेका कुराहरू इतिहासमा धेरै छन् । त्यहि कारणले नेपाल पत्रकार महासंघको लोगोमा सूचनासम्बाहकको संकेतस्वरुप परेवा छ । नेपालको सन्दर्भमा परेवा प्रेस स्वतन्त्रताको सांकेतिक चित्र पनि हो ।

वैदिक युगपछि, अझ भनौँ आधुनिक युगको प्रारम्भिक चरणसम्म राजाहरूद्वारा राजकीय सूचना आदानप्रदानको लागि सूचना-दूतहरूको नियुक्ति गरिन्थ्यो । त्यस्तै, समुदायको सूचना सम्प्रेषणको लागि पनि गाउँलेहरूले आफ्नै पहलमा सूचना अधिकारीहरूको ब्यवस्था गर्ने प्रचलन थियो । खासगरी हाम्रो पूर्वीय विश्वमा गाउँ पञ्चायतबाट नियुक्त कटुवालहरूले सूचनासम्बाहकको भूमिका खेल्न थाले । यिनै कटुवालले नेपालको दुर्गम भेगमा अझै पनि कतै-कतै सूचनासम्बाहकको भूमिका खेलिरहेको भेट्न सकिन्छ । सूचना प्रविधिमा भएको विकासले भित्ते सूचनाको कालखण्ड हुँदै क्रमशः छापा पत्रकारिता र इलोक्ट्रोनिक मिडियाको आविष्कार गऱ्यो, जसलाई हामीले पत्रकारिता विकासको आधुनिक युग भन्दछौँ । आधुनिक युगमा पत्रकारिताले कार्यक्षेत्र र प्रविधिको क्षेत्रमा रुपान्तरणकारी परिवर्तन गरेको छ ।

भौतिक विकासको आधुनिक चरणमा पत्रकारिता केवल चिठ्ठीपत्रको आदानप्रदान गर्नुलाई मात्र मानिँदैन । पत्रकारको नित्य कर्म भनेको सूचना खोज्नु, प्रशोधन गर्नु र त्यसलाई सामाजिक हितको लागि फिल्टर गरेर प्रक्षेपण गर्नु हो । नेपाली छापामा कहिँ-कतै पत्रकारहरूले ज्योतिषीको काम गरिरहेको पनि भेटिन्छ, तर त्यो पत्रकारिताको गलत प्रयोग हो । त्यसैले पत्रकार समाजको भविष्यवक्ता नभएर सूचनाको माध्यम मात्र हो भनेर हामीले बुझ्नु जरुरी छ । पत्रकारितामा सूचना सम्प्रेषणसम्बन्धी केही अन्तर्राष्ट्रिय मान्यताहरू रहेका छन् । सूचनाको उपयोगिताबारे मापदण्ड पत्रकार आचारसंहितालाई मानक मानेर तय गरिन्छ, जसको लागि सम्पादकहरूले मानकका आधार बनाउँछन् । त्यसमा प्रेस स्वतन्त्रताका मान्यताहरू हरदम आकर्षित रहन्छन् ।

खासगरी पश्चिमा मोडेलको राज्य प्रणालीभित्रका मूल्य-मान्यताहरूले विकास गरेको एक अधिरचना छ । त्यो अधिरचनाभित्र उनीहरूले आफ्नै विविध स्वार्थलाई आधार बनाएर पत्रकारिताको एक आधार निर्माण गरेका छन् । उनीहरूको आधारभित्र ‘प्रेसमा प्रजातन्त्र र उदार पुँजीवादका भित्ताहरू नछोइकन गरिने पत्रकारितालाई सूचना विकासको उत्प्रेरक’ मान्ने मानक स्थापित गरिएको देखिन्छ । त्यस्तै शक्तिराष्ट्रद्वारा थोपरिने आर्थिक औपनिवेशिकताको विरुद्ध रहेको अर्को पत्रकारिताको धारले राष्ट्रिय मौलिक पहिचान, राष्ट्रिय सूचना स्वतन्त्रता र समानतालाई पत्रकारितामा सूचना विकासको मानक मानेको हुन्छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान र संस्कृति सङ्गठन (युनेस्को)अन्तर्गत सन् १९८० मा मेकब्रिड आयोग नै विकासशील देशका श्रमजीवी पत्रकारहरूको मार्गदर्शक हो र त्यसले खासगरी साम्राज्यवादी सूचना उत्तेजनालाई अस्विकार गर्दछ ।

अल्पविकसित देशका सम्पूर्ण पत्रकारहरूको दबाबमा संयुक्त राष्ट्र संघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवस वा विश्व प्रेस दिवसको रूपमा घोषणा गऱ्यो । खासगरी प्रेस स्वतन्त्रताको महत्त्वको बारेमा चेतना जगाउन र अधिकारको सम्मान र समर्थन गर्न सरकारहरूलाई उनीहरूको कर्तव्य सम्झाउन यो दिवश मनाइन्छ । UNESCO (युनेस्को) ले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसलाई विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याङ्कन गर्न र चुनौतीहरू सम्बोधनका लागि छलफल गर्न मिडियाकर्मीहरू, प्रेस स्वतन्त्रतासम्बद्ध संगठनहरू र संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई एकसाथ ल्याएर मनाउने गरेको छ । आगामी मे ३ अर्थात् सन् २०२२ मे ३ का दिन UNESCO र गणतन्त्र उरुग्वेले संयुक्तरूपमा पुन्टा डेल एस्टे, उरुग्वेमा वार्षिक विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन ग्लोबल सम्मेलन आयोजना गर्दैछन् । त्यहाँ संसारभरिका पत्रकार प्रतिनिधिहरू सहभागी हुँदैछन् । उक्त सम्मेलनमा ‘डिजिटल घेराबन्दीभित्र पत्रकारिता’ भन्ने नाराका साथ डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका बिबिध चुनौती र सम्भावनाका विषयमा छलफल हुने जनाइएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ ले प्रेस नीति-निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई यी मुद्दाहरूको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता र गोपनीयतामा बढ्दो निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न ठोस समाधानहरू विकास गर्न एक विशेष भेटघाट पनि आयोजना गर्न लागेको कुरा आयोजकले सार्वजनिक गरेको छ ।

त्यस्तै, २०२२ को मई ३ मा नेपाल पत्रकार महासंघ बेल्जियमले समेत ‘प्रवासमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताबीच अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया गर्दैछ । त्यो दिन संसारभरि कार्यक्षेत्रमा समाचार संकलन गर्दागर्दै शहीद भएका पत्रकारहरूलाई पनि विशेष श्रद्धापूर्वक सम्झने दिन पनि हो ।

प्रेस स्वतन्त्रताभित्रका सीमा, अवरोध र भिन्नभिन्न उपरिसंरचनाबीच सूचनाका स्थापित मान्यताहरू :

विश्वब्यापी मान्यताअनुरुप सूचना विशेष पत्रकारिता विशाल अधिरचनाको एक अंग हो । यी दुवै मानकहरूबीच आचारविचार र नियमहरूको सूचनामा अन्याय गर्न नपाइने मान्यतामा समानता छ । एक पक्षले समुदायको हित र निम्छरो समुदायको सूचनाको हकलाई महत्व दिने कुरालाई महत्व दिन्छन् र त्यही कुरा आमसंचारको नीतिअन्तर्गत रहेको बताउँछन् । तर समाचार केन्द्र कसको नियन्त्रणमा छ भन्ने कुराले सूचना प्रवाहमा प्रभाव पार्ने गरेको छ । मिडिया हाउसमा लगानी गर्ने मालिकहरूले नै वास्तवमा सम्पादकहरूको सूचना फिल्टर गर्ने अधिकारलाई हस्तक्षेप गरेको उदाहरण धेरै देख्न पाइन्छ । भर्खरै रातो पाटीका सम्पादक अरुण बराललाई सूचना इन्ट्रेसमा देखिएको अन्तरविरोध वा दवावको कारण निस्कन बाध्य पारियो । उनि आफैं र समाचार घरका मालिकले त्यसबारे धेरै कुरा सार्वजनिक गर्न नचाहे पनि मुख्य कारण सम्पादकमाथिको दबाब वा स्वाभिमानमाथिको आक्रमण हो भन्न सकिन्छ । यस मानेमा पत्रकारिताको विकास हुन पहिले सञ्चार संस्था संस्थागत र पारदर्शी हुनुपर्छ भनेर संजालमा बहस चलाइएको छ । ‘लगानीकर्तालाई मन नपरेकै आधारमा सम्पादकीय स्वतन्त्रताको दोहन भइरहने हो भने हामीसँग १४ हजार पत्रकार, करिब हजार अखबार तथा ११ सय अनलाइन, दुई सय टेलिभिजन र तीन हजार बढी अनलाइन पत्रिका हुनुको के अर्थ ?’ संजालमा पत्रकारिताका प्राध्यापक भानुभक्त आचार्यले प्रश्न गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुप (KMG) द्वारा संचालित कान्तिपुर टेलिभिजनको मूल गेटअघि नेपाल पत्रकार महासंघको अगुवाइमा भएको धर्ना कार्यक्रम सम्पन्न भयो । त्यो पनि कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार दीपा दाहाललाई अकस्मात जागिरबाट निकालिएको विषयलाई मुख्य फोकस गरेर । दबाबमूलक धर्नापछि मिडिया हाउसले आफ्नो गल्ती स्विकार गरेर महासंघसँग सम्झौता गर्न बाध्य भएको छ । यसले मिडिया हाउसका मालिक र पत्रकारहरूबीच नै न्याय र स्वतन्त्र पत्रकारितालाई हायलकायल बनाइएको कुरालाई पुष्टि गरेको छ ।

सामान्यतया सम्पादकहरूको विवेकपूर्ण आचारसंहिता हाबी हुन्छ । कुनै-कुनै समाचारहरू यति सवेदनशील हुन्छन् कि ती समाचारले धार्मिक, जातिय वा क्षेत्रिय सद्भावलाई नकारात्मक असर पार्दछन् र, मुलुकमा गृहयुद्ध हुने वातावरण समेत बन्दछ । सम्पादकले त्यस्ता समाचार पुनः सम्पादन गरेर छाप्न पनि सक्दछन् र फ्याँक्न पनि सक्छन् । त्यसै सन्दर्भमा विश्वभर देखिएका राज्यसंरक्षित प्रेस गतिरोध त्यसले पार्ने सकारात्मक र नकारात्मक प्रभावबारे निम्नानुशार विश्लेषण गर्न सकिन्छ :

इराकमा आमविनाशकारी हातहतियार भएको भनी अमेरिकी सञ्चारमाध्यमले दिएका बयानलाई हामीले सबभन्दा पछिल्लोपटक विश्वास गरेका थियौँ । यस्तै मिसनमा साम्राज्यवादी समाचार उत्पादनकै कारण मध्यपूर्वमा विपत्ति निम्तियो । जुडिथ मिलरजस्ता अमेरिकी पत्रकारहरूलाई सन्देहास्पद पात्रहरूले इराकमा आमविनाशकारी हतियार भएको समाचार बनाउन लगाए । सिङ्गो शान्त देश मानव कंकालले भरियो । हामी अझैसम्म त्यही आधारले उत्पादन गरेका न्युजहरूको भ्रमले बाँचिरहेका छौँ । पछि त्यो मिडियाले माफी त माग्यो तर समय बितिसकेको थियो । (New York Times: we were wrong on Iraq,  https://www.theguardian.com/media/2004/may/26/pressandpublishing.usnews)

गलत सूचनाले युद्धको लागि उक्साएको अर्को प्रमाण हामीसँग छ, जसलाई भियतनामी युद्ध भनिन्छ । सन् १९६४ को अगष्टमा गल्फ अफ टंकिनमा अमेरिकी पानीजहाजमाथि आक्रमण भएको न्युज सरकार निकट अमेरिकी पत्रिकाले सम्प्रेषण गऱ्यो । त्यो घटना अमेरिकी सेनाबाटै भुलवश भएको थियो । तर त्यो न्युजले अमेरिकी सरकार उत्तेजनामा आयो । समाचारको सत्यता र युद्धको परिणामलाई विचार नै नगरी अमेरिकाले भियतनाममाथि अन्धाधुन्द आक्रमण गरेर करिब २० लाख निर्दोष भियतनामीहरूको कत्लेआम गऱ्यो । ‘नापाम’ नामक खतरनाक बम हानेर देश नै आगोले खरानी बनायो, ‘एजेन्ट ओरेन्ज’ नामक केमिकल बम हानेर गाउँ शहर ध्वस्त तुल्यायो । त्यस्तै संसारका ठुला मिडिया हाउसहरूले महत्व दिनुपर्ने तर विश्वका बहुराष्ट्रिय कम्पनिहरूको दबाबको कारण महत्व नदिएको विशेष मुद्धाहरूलाई गोप्य राख्न खोजेका धेरै उदाहरणहरू छन् । जसमध्ये एक निम्नानुशार छ :

हामीले प्रत्येक वर्ष कोष्टारिका बराबरको अर्थात् ७०,००० वर्गकिलोमिटर वन गुमाउँदै आएका छौँ । प्रत्येक वर्ष ३.५ देखि ७ विलियन रुखहरू काटिन्छन् । यो हिसाबले केही समयपछि हाम्रो प्रकृतिको वायुमण्डल तथा चक्रीय प्रणालीलाई सन्तुलन राख्न सक्ने अवस्थामा जंगल रहने छैन । संसार मरुभूमि र अक्सिजनको ठुलो स्रोत सकिने छ । शक्तिराष्ट्रका मालिक तथा बहुराष्ट्रिय कम्पनिले औद्योगिक उत्पादनबाट नाफा आर्जन गर्नको लागि विकल्प हुँदाहुँदै पनि वन सिध्याइरहेका छन् । तर यो र यस्ताखाले समाचारलाई ठुला मिडियाले महत्व दिँदैनन् । अथवा यस्ता रिपोर्टहरू प्रकाशित हुँदा सम्पादकहरू सेल्फ सेन्सरसिपको दबाबमा पर्दछन् ।

हामीले प्रत्येक वर्ष कोष्टारिका बराबरको अर्थात् ७०,००० वर्गकिलोमिटर वन गुमाउँदै आएका छौँ । प्रत्येक वर्ष ३.५ देखि ७ विलियन रुखहरू काटिन्छन् । यो हिसाबले केही समयपछि हाम्रो प्रकृतिको वायुमण्डल तथा चक्रीय प्रणालीलाई सन्तुलन राख्न सक्ने अवस्थामा जंगल रहने छैन । संसार मरुभूमि र अक्सिजनको ठुलो स्रोत सकिने छ ।

स्वतन्त्र भनिए पनि अहिलेका विश्व मिडियाहाउसहरू प्रायः यिनै कम्पनीको लगानीमा खडा गरिन्छन् । ती अन्तर्राष्ट्रिय कम्पनीहरूले पृथ्वीको प्राकृतिक कच्चा पदार्थमाथि एकाधिकार कायम गरेकोले उनीहरूको इन्ट्रेष्टविरुद्ध जाने जोखिम सम्पादकहरूले मोल्न सक्दैनन् । समस्या यहीँनेर छ । संसारभरिको स्रोत-साधन लुटेर नाफा बहुराष्ट्रिय कम्पनीले लुटेको छ तर ब्यथा हामीजस्ता अल्पविकसित देशका नागरिकहरूले भोगिरहेका छौँ । सूचना साम्राज्यवादका यस्ता धेरै उदाहरणहरूमध्ये तिब्बत, हङकङ, ताइवान, सिन्च्याङ, इरान, इराक, उत्तरकोरिया लगायतको बारेमा सूचना साम्राज्यवादका मालिकहरूको बदनियत समाचार उत्पादनलाई नियाल्न सकिन्छ । पश्चिमा सञ्चारमाध्यमहरूले हङकङमा कसरी शासन चलाउनु पर्छ भनी संसारलाई आदेश दिन खोजिरहेको तथ्य हाम्राअगाडि देखिइरहेको छ । त्यस्तै सिन्च्याङका अतिवादीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूले चीनलाई सिकाउन खोजिरहेका छन् । तिब्बतमा कुन संस्कृतिलाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा उपदेश दिन खोजिरहेका छन् । तर आफ्नो देशको रंगभेदमा मारिएका जर्ज फ्लोयडको बारेमा उनीहरूले केही बोल्ने हिम्मत गरेको देखिँदैन । यो प्रवृत्ति स्वतन्त्र सूचनाको न्यायिक प्रसारणमा विरोधाभास कुरा हुन् ।

साम्राज्यवादी सूचना नियन्त्रणका कारण सूचना र सञ्चार क्षेत्रमा सूचना साम्राज्यवादी बाधा पन्छाउन विकासशील देशहरूले नयाँ विश्व सूचना तथा सञ्चार व्यवस्था (एनडब्ल्युआईसीओ) स्थापना गर्नुपर्ने विषयमा बहस थालनी गरेका हुन् । परिणामतः संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान र संस्कृति सङ्गठन (युनेस्को)अन्तर्गत सन् १९८० मा मेकब्रिड आयोग गठन भएको थियो । सञ्चारजगतमा निश्चित समूहको एकाधिकार हटाउन सो आयोगले विभिन्न सिफारिस गरेको थियो ।

मेकब्रिड आयोगका सिफारिसलाई आफ्नो संचार-प्रभुत्व खुम्चाउन खोजेको ठानेर सं.रा. अमेरिका र बेलायतले प्रेस स्वतन्त्रतामाथि हमला भएको हवाला दिँंदै युनेस्कोबाट हात झिकेका थिए । सं.रा. अमेरिकाद्वारा नियन्त्रित सूचना स्रामाज्यवादले संसारभरी आफ्नो स्वार्थअनुशार प्रोपागान्डा मच्चाउनको लागि सूचना नीति निर्माण गर्ने कुरामा माथिकै उदाहरण काफी छ । साम्राज्यवादले प्राथमिकताका तहहरूलाई क्रमबद्ध रूपमा लागु गर्नको लागि संसारभरिका कठपुतली सरकारद्वारा नियन्त्रित संचार साधन, मिडियाहाउसका लगानीकर्ता र आफूद्वारा परिचालित पत्रकारहरूलाई आदेश दिन्छ । थाहा भएकै कुरा हो कि उसले विकासशील देशका मुद्दालाई सधैँ ओझेलमा राख्छ । त्यसको परिणामस्वरुप विश्व मामिलाको समाचार सम्प्रेषणमा मूलधारमा साम्राज्यवादद्वारा नियन्त्रित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पक्षपात गर्नु सामान्य हो । साम्राज्यवादीले आफूलाई हेर्ने तेस्रो विश्वको धारणा समेत पश्चिमा कोणले निर्धारण गर्ने गरेको छ ।

प्रेस स्वतन्त्रताको सन्दर्भमा नेपाल :

अहिले नेपालका प्रायः मुलधारका टेलिभिजन र पत्रिकाहरूले शक्ति राष्ट्रहरूले छिमेकीविरुद्ध नेपाललाई प्रयोगशाला बनाउँदै लागेको कुरा लेख्न, देखाउन र भन्न सकिरहेका छैनन् । एउटा कारण हो मिडियामा शक्ति राष्ट्रहरूको लगानी त्यसपछि मनोवैज्ञानिक दबाब, सेल्फ सेन्सरसिप र अन्त्यमा सम्पादकहरूलाई पारिने आर्थिक प्रभाव । नेपालका सबै मिडिया, समाचार वा खोज सूचनाका अन्वेषक, प्रेषक र सम्पादक सबैलाई थाहा थियो कि कुनै शक्ति नेपालमा अनावश्यक रुपले पस्न खोज्नु राष्ट्रिय स्वाभिमानमा खतराको सूचना हो । तर ठुला मिडिया एमसीसीमार्फत गोप्य रुपमा मिडिया किन्न छुट्टयाइएको आर्थिक लाभको कारण चुप हुने, समाचार प्रशोधनमा फिल्टर नजिर बिगार्ने र मुलुकको अस्थिरताका कारणहरू खोज्ने झन्झटबाट मुलधारका मिडियाहरू पन्छिने गरेको देखियो । यो मुलुकको लागि दुर्भाग्य हो ।

हामी सबैले खम्पा विद्रोह, दरबार हत्याकाण्ड, भण्डारी हत्याकाण्ड लगायत अनगिन्ती अदृश्य काण्ड रचेर इन्डो-अमेरिकन खुफियाद्वारा उनीहरूको अनुकूल वातावरण बनाउँदै लगिएको कुरा नबुझेका छैनौँ । अहिलेको समीकरण वा प्रतिपक्षीको दोहोरो भूमिका जे भनौँ राजनैतिक तरलताको कारण बनेर रहेका छन् । नेपालको वर्तमान नेतृत्व वर्ग क्रमशः शक्तिराष्ट्रहरूको रणनीतिमा साझेदार बन्दै आएको कुरा युक्रेन तथा एमसीसी प्रकरणले छर्लङ्ग पारेको छ । त्यसको असर भोलि हाम्रो मुलुकको हितमा समेत नपर्ला भन्न सकिन्न । तर हामी पत्रकारहरू शक्तिका अगाडि निरीहतापूर्वक आफ्ना सम्भावित परिणामहरूलाई दवाएर मुस्कुराउन बाध्य छौँ । पत्रकारितामा प्रत्यक्ष र परोक्षरूपले मुलुकको अमन चयन, सार्वभौमिकता, अखण्डता र नागरिक हितसापेक्ष रूपले प्रभावी हुनुपर्ने हो । राष्ट्रिय स्वाधीनताको पक्षमा लेख्न, बोल्न र स्तम्भ कोर्न नेपाली पत्रकारहरू कतै चुकेका छौँ वा बेइमान बन्दै गैरहेका छौँ कि ? यो प्रश्न हामी आफैंलाई पनि हो ।

त्यसैले भनिएको होला समाचार वा सम्पादकीयहरूले आफ्नो लय बिर्सन थाले वा बहकिन थाले भने देशमा अराजकता फैलिन्छ, देश टुक्रिन्छ वा कतै बिलय हुन्छ ।

सूचनाको छनौट र उपादेयता :

सूचनाको सही प्रयोजन कति छ भन्ने कुरा बुझ्न हामीले अनुमान गरौँ त ! एकदिन सूचना र समाचार रोकिँदा संसारको अवस्था के होला ? त्यसले पार्ने असरबारे हामीले कल्पनै गर्न सक्दैनौँ । अत समाचारको परिणाम र देशमा पर्ने प्रभाव हेरेर सम्पादकहरूले विवेक प्रयोग गर्नुपर्छ भनिएको हो ।

समाचारको प्रशोधन :

समाचारले कुनै निश्चित समूह वा पहिचानवाला समुदायको मनोदशामा प्रतिकुल पार्ने सम्पादकलाई लाग्यो भने न्युज प्रकाशित हुन रोकिन्छ । त्यो अधिकार सम्पादकलाई छ । सम्वाददाता, प्रकाशक वा सम्पादकहरूले समुदायको लागि पस्किएका सूचनाको विवेकपूर्ण चुनाव आफैं गर्दछन् तर यो ठिक या बेठिक भनेर निर्णय सुनाउँदैनन् । पत्रकारहरूले दिएको सूचना समुदायबाटै लिन्छन्, फिल्टर गर्छन् र समुदायको सहज पहुँचको लागि सार्वजनिक गर्छन् । सूचना वा समाचारको प्रशोधनमा चाहिने तथ्यगत सूचना मात्र रहन्छ अरु फ्याँकिन्छ ।

यो धर्ती, खगोल र ब्रमाण्ड अथाह घटना र तथ्यहरूको भण्डार हो । प्राकृतिक घटना र त्यसका असरबारेको रिपोर्ट वा सूचना एक व्यापारीको लागि के काम ? खगोल विज्ञानका जटिल तथ्यहरूको समाचार वा वृत्तचित्र एक किसानलाई के काम ? सूचना जो जसलाई पुऱ्याउनुपर्ने हो त्यही पक्ष वा ब्यक्तिलाई पुऱ्याउने काम पत्रकारको हो । पत्रकारले समुदायको हितलाई ख्याल गर्दै तथ्यको धरातलमा टेकेर सही सूचना मात्र सम्प्रेषण गर्दछ र सम्पादकले अफवाहलाई बिलौनी झैँ थिग्राएर फ्याँकिदिन्छ ।

पत्रकार सूचनामा तटस्थ, विनयी र विवेकशील हुनैपर्ने किन ?

माथि नै भनि सकियो कि कतिपय सूचनाका बबण्डरहरूका कारण ठुला-ठुला हिंसा भएका हुन्छन् । समाचारको अविवेकी प्रशारणले मानिसबीच जातीय वा धार्मिक दङ्गा र कतिपय अवस्थामा गृहयुद्ध समेत हुन सक्ने सम्भावना रहन्छ । त्यसैले सूचनाको संकलन, प्रशोधन र वितरण गर्ने पत्रकार सामाजिक मूल्य-मान्यताहरूको सम्मान गर्ने, सबैका स्वतन्त्र मूल्यको पक्षपाती र विवेकी हुनु जरुरी छ । किनकि, पत्रकारको सामाजिक अधिकार कुनै मुल्यमा पनि नागरिक अधिकार भन्दा टाढा हुँदैन । एक पत्रकार सूचनाको माध्यम र सोझो रूपमा भन्दा समाजको हुलाकी हो । उसले दिएको सूचनाको मूल्यस्वरुप समुदायले पत्रकारलाई आफ्नो परिवारभित्र सम्मानपूर्ण स्थान दिएको हुन्छ । राज्यले उसको सेवाको मूल्य चौथो अंगको सम्मानले विभुषित गरेको हुन्छ । अतः एक पत्रकार पुरानो जमानाको कटुवाल जस्तै विशाल समुदायको विवेकशील सूचना नोकर हो भन्दा अत्युक्ति नहोला ।

समाजमा पत्रकार र जनसमुदायका बीच अन्योन्याश्रित सम्बन्ध आवश्यक हुन्छ । तर बेला-बेलामा समुदायका विविध पक्षहरूसँग अन्तरविरोध पनि पैदा भइरहन्छन् । समुदाय र पत्रकारका बीच हुने सबै अन्तरविरोधहरूको समझदारी र समन्वयबाट समाधान गर्न सकिन्छ । समुदायका आस्थालाई आधार मान्दै सापेक्ष सत्यबारे बहस पनि भइरहनुपर्छ जसले पत्रकारहरूलाई अझ आफ्नो कर्तब्य बुझ्न सहजता प्रदान गर्दछ । सूचनाको लागि सामुहिक हितका बहसहरूमा व्यक्तिका हितहरू बाझिनुलाई स्वाभाविक रुपमा लिनुपर्छ ।

अन्तरविरोध हल गर्ने विधिको अज्ञानताले टकराव उत्पन्न हुन्छन् । त्यसमा समुदायको हितलाई कसी मानेर निर्णय गर्दै गयौँ भने अन्तरविरोधले रुपान्तरणमा फड्को मार्छ । अन्यथा पत्रकार र समुदायबीच टकरावको स्थिति उत्पन्न हुन्छ र जसको लागि सेवा गर्दै आएको हो उनीहरूकै बहिष्करणमा पर्ने खतरा पैदा हुन सक्छ । त्यसैले समुदाय र पत्रकारिताबीचका विश्वासका सेतुहरूको सम्वेदनशीलतालाई एक होसियार र विवेकशील पत्रकारले हेक्का राख्नै पर्दछ ।

बुझ्नुपर्छ कि जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन । काम गर्ने सिलसिलामा हुने गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेको लागि पत्रकारिता उपयुक्त पेशा हैन । पत्रकार समुदायको सेवक हो भने उसले आफ्ना मालिकरूपी आममानिससँग विनयी र नतमस्तक हुन सिक्नुपर्छ । त्यो पत्रकार हुनुको पहिलो शर्त हो । यी कुराहरूलाई निम्नानुशार सहजीकरण गरेर बुझ्न सकिन्छ :

१) एक विवेकी पत्रकारले समाजको चरित्रका बहुआयामिक सम्वेदनशीलताहरूलाई सारमा बुझेको हुनुपर्छ । समाजको स्वरुप, मानिसहरूका सोच र साँस्कृतिक विविधता जस्तै समुदायभित्रका सूचनाका ट्युनिङ समेत बहुआयामिक र संवेदनशील हुन्छन् । जसको हेक्का नराख्ने हो भने हाम्रा कलम समुदायको हितमा भन्दा अन्यत्र बहकिन थाल्दछन् । पत्रकारहरू आफैं फोहरको नालीबाट बग्न सकभर रोकिने प्रयास गर्नुपर्छ र बगीहाले पनि तुरुन्त नुहाउन बिर्सिनु हुँदैन ।

२) हजारौँ सूचनाहरूको थुप्रोबाट आफ्नो समुदाय वा मानवहितको लागि कुन सूचना महत्वपुर्ण छ, त्यो मात्रै समुदायलाई दिनु पर्दछ । तर त्यसलाई छान्ने काम यस मानेमा ज्यादै कठिन छ कि सूचनाहरूको थुप्रोमा त्यो भन्दा धेरै अफवाह र गलत आरोपहरू मिसिएका हुन्छन् । एक विवेकशील पत्रकारले मात्र समुदायको सूचना निचोरेर तथ्यसहित सही सूचना सम्बन्धित जनसमुदायमा फिर्ता गर्छ । त्यसैले समाचार बनाउँदा कसैलाई उछिन्ने बहानामा गलत सूचना सम्प्रेषण हुने खतराबाट सदैव बच्नु पर्दछ ।

३) कहिलेकाहीँ गल्तीमा पत्रकारहरू डरले थर्थरी हुन्छन्, यो पनि राम्रो हैन । संसारमा सबैभन्दा धेरै गल्तीबाट सिक्ने पेशा भनेकै पत्रकारिता हो । त्यसैले गल्तीलाई सिक्ने कला र गल्तीको आधारस्वरुप जनसमुदायलाई शिक्षक मानियो भने हाम्रो गम्भीर गल्तीमा पनि माफी पाइन्छ । पत्रकारले सिक्ने गल्ती, अनुभव र प्रशिक्षणबाट हो । जानाजान सूचना लुकाउने वा बिक्री गर्ने धन्दा, धोकाघडी भनेको गल्ती नभएर समुदायप्रति गरेको अपराध नै हो । तर अन्जानमा हुने गल्तीहरू जीवनभर भइरहन्छन् । सबैभन्दा बढी सिक्ने अन्जान गल्तीबाट हो । त्यस्ता गल्तीले जनसमुदायसँगको सम्बन्धमा दरार पैदा गर्दैन, बरु सम्बन्ध अझै कस्छ । सूचनाको छनौटलाई भरपर्दो बनाउँछ र तथ्यहरूलाई पारख गर्ने कलाको विकास गर्दछ । त्यसैले गल्ती गर्ने पत्रकारको लागि गल्ती गुरु बन्दछ । हजारौँ सिकारु पत्रकारहरूको लागि गल्तीहरू गुरुसमान हुन्छन् । सिकारुको एक गल्तीबाट हजारौँ पत्रकार, सूचना सम्वाहक र नागरिकहरूले समेत सिक्ने मौका पाउँछन् ।

४) कसैले गरेको गल्तीलाई उचालिरहनु आत्मघातीसमेत हुन सक्छ । गल्ती भनेको सिक्ने प्रक्रियाको एक छोटो प्रशिक्षण जस्तै हो । जसले अरुको गल्तीमा गाली गर्दछ, समुदायमा उसका झन् धेरै गल्तीहरू भेटिन्छन् । जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन । त्यसैले गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेले पत्रकारिता नगर्दा राम्रो हुन्छ ।

पत्रकार समुदायको सेवक हो भने उसले आफ्ना मालिकरूपी आममानिससँग नतमस्तक हुन सिक्नुपर्छ । समुदायको संवेदनशीलता र गल्तीको प्रकृति हेरेर एक पत्रकारले आफ्नो गल्ती सच्याउन अबेर गर्नु हुँदैन । सेवकले सेवाको मूल्य आफ्नो गल्तीको खियाभित्र खोज्नु अत्यन्त हानिकारक हुन्छ । त्यसैले गल्ती गर्नु अपराध हैन, त्यसलाई महसूस नगर्नु, सिक्न नखोज्नु र समुदायसँगको आफ्नो अन्तरविरोधलाई शत्रुतापुर्ण बनाउन खोज्नु अपराध हो ।

आकाश कार्वनडाइ अक्साइडले धुम्म छ, स्वास फेर्न प्रत्येक घरमा भेन्टिलेटर राख्ने हैसियतमा हामी छैनौँ । नदी वा समुन्द्रको पानी हामी आफैं विषाक्त बनाउदै छौँ । पृथ्वीमा जीवको अस्तित्व समेत सङ्कटमा छ ।

कुनै ब्याक्तिलाई समुदायमा अपराध गरेको आरोप लागेको छ वा ऊ न्यायालयबाट अपराधी प्रमाणित हुन बाँकी छ भने पनि एक पत्रकारले त्यो ब्यक्तिलाई अन्य ब्याक्तिसरह सम्मान गर्नु पर्दछ । राज्य ब्यवस्थामा कानुनले बाहेक अपराधी घोषित गर्ने अधिकार अन्यले प्राप्त गर्न सक्दैन ।

संसारमा अहिले डिजिटल सुचानाकर्मीहरूको संख्या ह्वात्तै बढेर गएको छ । ब्लगरले जस्तै युटुबबाट समाचार वा सूचना बेचेर आर्थिक आयआर्जन गरिरहेका सूचनाकर्मीहरूलाई युटुबर भनिन्छ । उनिहरूमध्ये धेरैले पत्रकारितासम्बन्धी कुनै पनि तालिम लिएका हुँदैनन् । राज्यको सूचनाकेन्द्रमा उनीहरूलाई नियमन गरिएको पनि हुँदैन । उनीहरू समुदायको सूचना सम्बन्धमा भन्दा भड्काउपूर्ण प्रदर्शनीमा आफ्नो भिडियो हेर्नेहरूको संख्या बढ्ने सोचाइले सामाग्री उत्तेजक बनाउँछन । प्रस्तुतिले दन्दन्ती आगो बाल्छन् तर निष्कर्ष दिन सक्दैनन् ।

पत्रकार निश्चित योग्यताले लेस भएको संचारकर्मी हो । तर त्यो योग्यतामा युटुबरहरू कमजोर देखिन्छन् । युटुबरहरूलाई ‘सञ्चारकर्मी’ मात्रै भन्नुपर्ने कारण आचार, ज्ञान र प्रशिक्षण नभएकोले हो । तर, मुलधारका अधिकतम पत्रकारहरू लामो अध्ययन, प्रशिक्षण र अनुभवबाट आएकोले समुदायको दीर्घकालिक हित र धर्तीका हरेक उपयोगी सूचनाहरूको तह विभाजन गरी समुदायमा समाचार सम्प्रेषण गर्दछन् ।

युटुबरहरूलाई ‘सञ्चारकर्मी’ मात्रै भन्नुको अर्को कारण के हो भने उनीहरूले सूचनाका तथ्य, त्यो सूचनाले समाजमा पार्ने असर र सूचना सन्तुलनको सामान्यज्ञानलाई हेक्का राख्दैनन् । उनीहरूले संकलित सूचनाको ब्यापारलाई मात्रै ध्यान दिएका हुन्छन् । विषयवस्तु गम्भीर र समाज उपयोगी हुँदाहुँदै पनि भाइरल बनाउन नसकिने भयले त्यस्ता कतिपय सूचना युटुबरको रोजाइमा पर्दैनन् । त्यसैले युटुबरहरूलाई पनि नियमन गर्दै आधारभूत आचारसंहिता लगयतका तालिमहरू दिनु आवश्यक देखिन्छ ।

५) समुदायको हकमा पनि एउटा कुरा भन्नुपर्ने हुन्छ कि थोरै तथ्य र धेरै कथ्यको बीचबाट सूचना प्रशोधन गर्ने सञ्चारकर्मी समुदायकै हितमा सबैभन्दा जोखिम मोल्ने सेवकहरू हुन् । उनीहरूले अफवाह र भ्रमको चाङबाट तथ्यगत सूचनाहरू प्रशोधन गरिरहनु पर्ने भएकोले गल्तीहरू धेरै हुन सक्ने सम्भावना रहन्छ । त्यो बेला समुदायले पनि ‘पत्रकारमार्फत आएका सूचनाहरू समाजलाई सुसूचित गर्ने सन्दर्भमा नै गल्तीवश भएका हुन्’ भनेर सामान्यीकरण गर्दै जानुपर्छ ।

६) पत्रकारको आफ्नो भन्ने कलम र मसी पनि हुँदैन । उसले बोक्ने सबै भित्री-बाहिरी औजार समुदायका सम्पत्ति हुन् । एक पत्रकारले दिने सूचनादेखि हरेक समाचारहरू समुदायको हितमा हुन्छन् वा हुनुपर्छ । सूचना सम्प्रेषण र समुदायको प्रतिक्रियालाई एक पत्रकारले आफ्नो प्रतिष्ठा वा लालसाको विषय बनाउन पाइँदैन । पत्रकारको प्रतिष्ठा समुदायको हितसँग जोडिएको हुन्छ । त्यसैले ‘म पत्रकार हुँ, मेरो उचाई समुदायभन्दा माथि हुनुपर्छ र म चर्को बोल्दा वा कलमले निर्दोषलाई पोल्दा पीडितले ‘ऐया’ भन्ने अधिकार हुँदैन’ कसैले भन्दछ भने त्यसको सूचना सेवा समुदायको लागि हुँदैन । त्यो ब्यक्ति सूचनाको ब्ल्याकमेलिङ गर्ने अपराधीजस्तै पत्रकारिताको क्षेत्रमा कलंक हो ।

सारमा भन्नु पर्दा, एक पत्रकारले घमण्ड र आत्मस्वाभिमानबीच फरक छुट्याउन सक्नुपर्छ । सूचनाको गाम्भीर्यतालाई छाम्न सक्नुपर्छ । त्यसैले भनिएको होला कि पत्रकारिता भनेको माछाको मासु र काँडा छुट्ट्याएर खानु जस्तै संवेदनशील सेवा हो । पल-पलमा जिब्रोमा काँडाले घोप्छ तर जिब्रोले आफैं यातना भोगेर पनि कदापि काँडालाई भित्र जान दिँदैन ।

थोरै गल्ती र धेरै सम्मान खोज्ने ब्यक्तिले पनि पत्रकारिता छोड्दा हुन्छ किनकि यो अपजसिया वा अवगाले पेशा हो । नागरिक हितका मुद्धाहरूमा राज्यसँग कठोर तर समुदायसँग प्रायः झुकेर गर्नुपर्ने यो पेशा गलत नियतका मानिस तथा राज्यको लागि दबाब जस्तो र समुदायको सूचना हकको त्राणको रुपमा लिने गरिन्छ । एक इमान्दार पत्रकार जीवनभर राज्यका भ्रष्ट नेता तथा प्रशासकहरू र समुदायका थुप्रै दुस्मनहरूसँग एकैसाथ लडिरहेको हुन्छ । त्यही कारणले नै होला, पत्रकारहरू संसारमा सबैभन्दा असुरक्षित पेशाकर्मी मानिन्छन् ।

पत्रकारले के पनि हेक्का राख्नुपर्छ भने, समाजको विवेकी हुलाकी भएकोले उसले परिवेश वा प्रमाण आफैं सिर्जना गर्न पनि पाउँदैन । उदाहरणका लागि नदीमा मान्छे डुब्दै छ, त्यो अवस्थामा उसले त्यो ब्यक्तिको उद्दार गर्ने कि घटनाको भिडियो बनाउने ? यहीँनेर पत्रकार र युटुबर छुट्टिन्छन् । प्रशिक्षित पत्रकारले डुब्न लागेको मान्छे बचाउने प्रयत्न गर्न थाल्छ भने युटूबर भिडियो खिच्न थाल्छ । तसर्थ पत्रकारमा विवेक हुनैपर्छ । जब सवाल कसैको जीवनरक्षासँग जोडिएर आउँछ, उसको लागि समुदायको जीवनरक्षा प्रथम र सूचना दोश्रो हुन जान्छ । तर अधिकांश युटुबरहरूले सूचनाको ब्यापारलाई महत्व दिन्छन् । उनीहरूले मानवताको गहिराइमा पुगेर अरुको जीवनरक्षालाई महत्व नदिएको देखिन्छ । विवेकशील पत्रकार र सञ्चार–व्यापारीको परीक्षा यस्तै बेलामा हुन्छ ।

त्यस्तै, पत्रकारको मूल स्पिरिट निष्पक्षता र निरपेक्षताको कसीले जाँच गरिन्छ । पत्रकारले पीडक वा पीडितको पनि पक्ष लिनु हुँदैन । हामी सम्बन्धित ब्याक्तिको अनुमतिबिना समाचारमा तस्बिर राखेर समाचार बनाउँदा बेला-बेला चिप्लिन्छौँ । यदि नियतवश तस्बिर राखिएको हैन भने सम्बन्धित ब्याक्तिलाई सूचना दिनु पर्छ । सम्बन्धित ब्यक्तिले कुनै दोषारोपण गरेनन् भने सक्कियो, तर यदि आपत्ति जनाए भने त तस्बिर र नाम हटाउनु पर्छ । तर पत्रकार आचारसंहिताविरुद्ध सूचनाको गलत सम्प्रेषणले घटना भैहाल्यो भने त्यो दुःखद हुन्छ । यस्तो न्युज बनाउँदा दुवै पक्षका भनाइ समाचारमा समावेश गर्दै अनुमतिसहित तस्बिर राख्नुपर्छ । पीडित र पीडक छुट्टाउने अधिकार न्यायालयलाई मात्र हुन्छ, पत्रकारलाई हुँदैन । स्वतन्त्र पत्रकारिताको आवरणमा नागरिक अधिकारको कुनै पनि मानसम्मान वा हितलाई पर्गेल्ने अधिकार पत्रकारलाई हुँदैन ।

अन्त्यमा, नागरिक हितका मुद्धाहरूमा राज्यसँग कठोर तर समुदायसँग प्रायः झुकेर गर्नुपर्ने यो पेशा गलत नियतका मानिस, भ्रष्ट नेतृत्व तथा राज्यको लागि दबाब जस्तो र समुदायको सूचना हकको त्राणको रूपमा लिने गरिन्छ । समुदायको असल भविष्यका लागि, मानवको सुखद प्रयोजनका लागि सूचनाको क्षेत्रमा पत्रकारहरूले त्याग गर्दछन् । त्यो समर्पण र त्याग समुदायको विभिन्न क्षेत्रमा हुनसक्छ । त्यो छापा, श्रब्य, दृष्य वा अनलाइन पत्रकारितामार्फत पनि हुन सक्छ र भेटघाटबाट पनि हुन सक्छ । प्रेस स्वतन्त्रताको लागि, पत्रकारहरूको जीवनरक्षाको लागि र विभिन्न खालका पेशागत शोषणको विरुद्ध, नागरिक पहिचानका लागि, दिग्दर्शन वा मार्गनिर्देशनका लागि पत्रकारहरूले बोल्न वा लेख्न छोड्नु हुँदैन । किनकि प्रेस स्वतन्त्रता नागरिक न्याय, समुदायको हित, वातावरणको रक्षा र सूचनाको स्वतन्त्रतासँग अभिन्न रुपले जोडिएको हुन्छ । यो शताब्दीको शुरुवातदेखि हाम्रो कार्यभार केवल मानव समाजको सूचनामा सीमित छैन ।

आकाश कार्वनडाइ अक्साइडले धुम्म छ, स्वास फेर्न प्रत्येक घरमा भेन्टिलेटर राख्ने हैसियतमा हामी छैनौँ । नदी वा समुन्द्रको पानी हामी आफैं विषाक्त बनाउदै छौँ । पृथ्वीमा जीवको अस्तित्व समेत सङ्कटमा छ । अतः धर्तीमा जैविक अस्तित्वका लागि समेत सम्पादकीय वा लेखमार्फत महत्वपुर्ण सूचना सम्प्रेषणको लागि मानिसले लेखक, पत्रकार वा सम्पादक खोजिरहेको छ । मे ३ को यो सन्देश संसारभरिका पत्रकारहरूले आँफैमा लागु गरेर हेर्दा हामी कहाँनेर छौँ प्रष्ट हुनेछ ।

अर्को कुरा, डाटा रिटेन्सन, आर्टिफिसियल इन्टेलिजेन्स, स्पाइवेयर, र स्वेच्छाचारी निगरानी जस्ता डिजिटल प्रविधिहरू र अभ्यासहरूद्वारा गोपनियताको अधिकारमा हुने खतराहरूको सन्दर्भमा गोपनियता मापदण्डहरू बलियो बनाइने मागलाई संसारभरि ब्यापक बनाइनुपर्छ । साइबर ल र इन्टरनेट नियमनलाई प्रताकारिताको क्षेत्रमा संकुचन आउनेगरी लागु गर्ने सबै बाटाहरू बन्द गर्दै पत्रकारिता अझ बढी स्वतन्त्र र केवल मानव समुदायको हितमा समाहित गर्नेगरी ब्याबहारमा लगिनु आजको आवश्यक हो ।