सोरङछबिसे मतदान केन्द्रमा गोली चल्दा एकको मृत्यु, एक घाइते

सोरङछबिसे मतदान केन्द्रमा गोली चल्दा एकको मृत्यु, एक घाइते


शुक्रबार बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका-१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो । दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार के कारणले दोहोरो झडप भएको हो र प्रहरीले हवाई फायर गर्नुपरेको भन्ने विषयमा अझै सूचना प्राप्त भइनसकेको छैन । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेर शान्ति स्थापनाका लागि घटनास्थललाई घेरा हालेको छ ।

घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा पर्दछ ।