बलवान एमाले, विजयी गठबन्धन : परिणाम अनपेक्षित

बलवान एमाले, विजयी गठबन्धन : परिणाम अनपेक्षित


जनतामा परिवर्तनको चाहना भए पनि नयाँ कुनै राष्ट्रिय शक्तिको उदय नभएका कारण आम मतदाताहरू पुरानै दलका ‘यो या त्यो’ उम्मेदवारलाई मतदान गर्न बाध्य भएको चुनावी परिणामले देखाएको छ । दलहरूप्रतिको वितृष्णा जाहेर गर्ने प्रतीकात्मक कुनै उम्मेदवार खडा भएको स्थानमा जनताले त्यस्ता स्वतन्त्र व्यक्तिहरूलाई मतदान गरेर आफ्नो असन्तुष्टि जाहेर गरेका छन् ।

धनगढी उपमहानगर, जनकपुर उपनगरपालिका र काठमाडौं महानगरको चुनावी स्थितिले जनता परिवर्तन चाहन्छन् भन्ने स्पष्ट गरेको छ । परिवर्तनका निम्ति सङ्गठित प्रयास गर्ने नयाँ अनुहारलाई जनताले रुचाएको पाइएको छ । संविधान निर्माणमा संलग्न काङ्ग्रेस, कम्युनिष्ट, राप्रपा र मधेशकेन्द्रीय समूहहरूप्रति अनास्था र अविश्वास भए पनि मतदाताहरू उपयुक्त ठाउँ नपाएपछि काङ्ग्रेस कम्युनिष्ट जस्ता समूहका उम्मेदवारलाई मतदान गर्न विवश भए । जहाँ समाजले चिनेका नयाँ अनुहार अग्रसर भएका छन् त्यहाँ मतदाताको रोजाइमा स्वतन्त्र उम्मेदवार परेका छन् ।

राजधानी काठमाडौंमा बालेन साह, धनगढीमा गोपाल हमाल र जनकपुरमा मनोज साहलाई प्राप्त मतले जनता विकल्पको खोजिमा रहेको स्पष्ट सन्देश दिएको छ । पञ्चायती पृष्ठभूमिका पञ्चहरूको दल राप्रपामा नेतृत्व परिवर्तनपश्चात उत्पन्न उभार मतपेटिकामा फेला पर्न सकेन । पञ्च बनेर २९ वर्ष र राप्रपा बनेर अर्को बत्तीस वर्ष कुनै न कुनै रूपले सत्ता राजनीतिमा रमाउँदै आएका पञ्चहरूको दल राप्रपालाई जनताले नयाँ र वैकल्पिक शक्तिका रूपमा विश्वास गरेनन् । चुनावी परिणामले जातिवादी र क्षेत्रियतावादी समूहहरूको राजनीतिक भविष्य पनि कमजोर तथा अन्धकार भएको सङ्केत दिएको छ ।

बितेको दशकभित्र विकल्प बन्ने उत्साहका साथ चुनावी मैदानमा उत्पन्न भएका केही नयाँ समूहहरूको पनि मतपेटिकामा नामोनिसान भेटिएन । भरपर्दो विकल्प नभएकोले मतदाताहरू कम्युनिष्ट र काङ्ग्रेसकै उम्मेदवारलाई मतदान गर्न बाध्य भएको देखिएको छ ।

चुनावी मैदानमा एमालेविरुद्ध मोर्चावद्ध भएर उत्रिएको काङ्ग्रेस-माओवादीले नेकपा एमालेलाई स्थानीय तहबाट पूर्ण रूपले विस्थापित गर्ने अपेक्षा र योजना गरेका थिए । तर सत्ता गठबन्धनले अपेक्षा गरेझैँ एमाले बढारिएन । देशैभर गठबन्धनलाई टक्कर दिने पार्टी एमाले बनेको छ । काङ्ग्रेस, माओवादी, समाजवादी र क्षेत्रियतावादीहरूबीच चुनावी गठबन्धन भए पनि तिनका मतदाताहरूले एक अर्कालाई मतदान नगर्ने ठानिएको थयो । तर पूर्व अनुमान गरिएझैँ गठबन्धनको मत विभाजित भएन । एक अर्को पक्षलाई विजयी गराउन गठबन्धनका घटकहरू धेरै हदसम्म सफल भएका छन् । प्रतिष्पर्धामा एमाले एक्लैको जनमत सबैभन्दा बलियो देखिएको भए पनि चुनावी परिणाममा गठबन्धन नै अगाडि रहेको छ ।

चुनावी परिणामले निम्नानुसारको निष्कर्श दिएको छ :

(क) बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास भएको छ । काङ्ग्रेस र माओवादी जस्ता विपरीत धु्रवका मतदाता पनि एक अर्कालाई मतदान गर्न तयार भएकोले विचारको राजनीतिमा पूर्णविराम लाग्ने स्थिति सिर्जना भएको छ । र, यसले बहुदलीयताभित्रै निर्दलीय अभ्यासको थालनी गराएको छ ।

(ख) काङ्ग्रेस-कम्युनिष्टको विकल्प प्रभावकारी भएको स्थानमा मतदाताको रोजाइमा नयाँ अनुहार परेका छन् । त्यसैले स्वतन्त्र व्यक्तिहरू काङ्ग्रेस-कम्युनिष्टलाई चुनौती दिन सफल भएका छन् ।

(ग) सङ्गठनात्मक रूपमा एमाले सबैभन्दा शक्तिशाली भएको प्रमाण सम्पन्न निर्वाचनले दिएको छ । पार्टी विभाजन भएर कमजोर बनेको, सत्ताबाट बाहिरिएको र पुराना सत्तारुढ दलहरूको गठबन्धन बनेको स्थितिमा पनि एमाले देशैभर सत्ता गठबन्धनलाई टक्कर दिन सफल हुनुले उसको सङ्गठन र जनमत मजबूत रहेको शिद्ध गरेको छ ।

(घ) देशमा भरपर्दो वैकल्पिक शक्ति खडा गर्न सकियो भने पुराना दलहरूको वर्चस्व समाप्त भएर जाने सम्भावना बढाएको छ ।

(ङ) नयाँ शक्तिको उदय हुन नसकेको स्थितिमा भने अन्ततः उदार वामपन्थी र कठोर वामपन्थी धारमा राजनीति ध्रुवीकृत हुन सक्ने सङ्केत पनि यही निर्वाचनले दिएको छ ।

(च) स्थानीय निर्वाचनले आगामी संसदीय निर्वाचन पनि गठबन्धन र एमालेबीच भयो भने गठबन्धनको पक्षमा जनमत जाने र सबै दलहरूबीच स्वतन्त्र प्रतिष्पर्धा भएमा एमाले नै संसदको सबैभन्दा ठूलो पार्टी बन्ने सङ्केत पनि दिएको छ ।