कार दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

कार दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते


उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घायते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

दुर्घटनाका घायतेमध्ये मोरङको बिराटनगर महानगरपालिका-५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईंको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

घाइतेहरुमा मोरङ विराटनगर महानगरपालिका-५ चाँदनी चोकका चालक ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

दुर्घटना हुनेबित्तिकै प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईको शव भने जिल्ला अस्पताल गाईघाटको शवगृहमा राखिएको छ ।