हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु

हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु


शुक्रबार साँझपख आएको हावाहुरीका कारण चितवनमा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाका फरक-फरक ठाउँमा भएको दुर्घटनामा परेर तीनको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुई जनको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको हो । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको बताइएको छ ।

हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।