अमेरिकी उपमन्त्री जेयाले शनिबार र आइतबार काठमाडौंमा विशेष भेटवार्ता गर्ने

अमेरिकी उपमन्त्री जेयाले शनिबार र आइतबार काठमाडौंमा विशेष भेटवार्ता गर्ने


तीनदिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आउनुभएकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले शनिबार र आइतबार काठमाडौंमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बताइएअनुसार जेयाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उपमन्त्री जेयाको भ्रमणबारे शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार जेया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनुहुन्छ ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष चलिराखेको सन्दर्भमा भ्रमणको आदानप्रदान भइरहेको मन्त्रालयले प्रष्ट्याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उपमन्त्री जेयालाई परराष्ट्र मन्त्रालयका अधिकारी काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए ।