धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या


तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु र छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।

सन्तकुमारको यही ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह-गीत गाएर करिब १२ बजे बिदा भएका र त्यपछि घरमा सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहको भनाइ छ ।

सिंहका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने अनुमान छ।

घरको छुट्टाछुट्टै कोठामा बाबु र छोरा सुतेका थिए । उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेका हुन् ।

बुबा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०/१२ वर्षको एक जना बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए ।

घटनाको जानकारी पाएलगतै करिब बिहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए ।

‘हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ, तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उनले भनेका छन् ।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ ।