जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको विमान अवतरणको क्रममा चरासँग ठोकिएको छ ।

सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमान अहिले यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिएर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार हवाइजहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाइलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन् । तर, रनवेमा देखिनुपर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै इन्जिनमा त गएन भनेर जहाज यहीँ होल्ड भएको छ ।’

एयरलाइन्सका इन्जिनियरले विमान चेकजाँच गरेपछि मात्रै उडान गरिने भएको छ ।

ज्ञातव्य छ, २ जेठदेखि गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।