सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत २८ लाख ७९ हजार ठगी

सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत २८ लाख ७९ हजार ठगी


सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले राजधानीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् ।

उनलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले अमेरिकाबाट सञ्चालन भएको लटरीमार्फत ६ लाख २७ हजार ६ सय ११ युरो/डलर परेको छ र उक्त रकम पाउनका लागि विभिन्न भ्रमपूर्ण म्यासेज पठाइ पीडितहरुलाई विश्वासमा पारी ठग्ने गरेको प्रहरीको भनाइ छ ।

नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाइ उनले २८ लाख ७९ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।