रोल्पा कारागारमा आत्महत्या प्रकरण : ‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’

रोल्पा कारागारमा आत्महत्या प्रकरण : ‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’


  • रुद्र सुवेदी, नेपालगञ्ज

नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।

मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै कारागार प्रशासनले विजयविक्रम शाहको मृत्यु भएको भन्दै शव बुझ्न फोन गरी बोलाएको मृतकका दाजु राजकुमार हरिजनले बताए ।

उनले भने– ‘सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएको भाइको मृत्यु भयो, शव लैजान मलाई मात्र मोटरसाइकलमा लगियो । रोल्पा कारागार पुगेर हेर्दा भाइको शव देखेँ । तर, शवको मुचुल्का कागजमा भने मृतकको नाम विजयविक्रम शाहको उल्लेख थियो । मैले मेरो भाइको नाम सुन्दर हरिजन हो भनेपछि खैलाबैला मच्चिएको थियो ।’

कारागारबाट मृतक सुन्दर हरिजनको सरसामान भनेर पठाइएको सामानले पनि आश्चर्यचकित बनाएको उनले बताए । उनले भने, ‘भाइको सामान भनेर पठाइएको छ । यी सामान भाइका हुँदै होइनन् । हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन ।’ उनले भाइलाई कारागार प्रशासनले नै जबर्जस्ती विजयविक्रम शाहको अपराधको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको ठोकुवा गरे ।

उनले गत ७ जेठ आइतबार रोल्पा कारागारले शव बुझाउँदा भाइको शरीर भरी कुटपिट भएको निलडाम रहेकोले घटना आत्महत्या नभइ कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दोषीमाथी कडा कारवाही गर्न माग गरे । उनले न्याय नपाउँदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृतक हरिजनको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।

रोल्पा कारागारमा मृत्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५/६/२३ र २०७६/१०/२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७/०८/०८ गते कारागार स्थान्तरण गरी रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आत्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्चस्तरिय समिति गठन गरेको छ ।

घटनामा सुर्खेत वराहताल गाउँपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयवक्रिम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफ्नो मान्छे नभएको बताएपछि घटना थप रहस्यमय बनेको थियो ।

कारागारको विवरण उल्लेख भएको व्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्यमय मृत्यु भएका व्यक्ति अर्कै अर्थात् फरक–फरक भएको मृत्यु घटनाले बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था झल्काएको छ ।

मृतक सुन्दरले विजयविक्रम शाहको कैद भुक्तानको लागि रोल्पा पठाइएको आशंका गर्दै गर्दा हरिजनमाथि मोवाइल चोरीको आरोप थियो भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा थुनामा रहेका थिए । रोल्पा कारागारको घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति बनाएको छ ।