प्रतिकुल मौसमका कारण तारा एयरको जहाज खोजीमा कठिनाइ

प्रतिकुल मौसमका कारण तारा एयरको जहाज खोजीमा कठिनाइ


स्थलमार्गबाट सेना र प्रहरी पठाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।

तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन रहेका छन् ।

प्राधिकरणका अनुसार जहाज बिहान पोखराबाट ९ः५५ बजे जोमसोमको लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सोपश्चात विमान सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा रहेकोले मौसममा सुधार आउनासाथ हवाइमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।