कपिलवस्तु कारागारका १७ कैदी कैद भुक्तानअघि नै रिहा

कपिलवस्तु कारागारका १७ कैदी कैद भुक्तानअघि नै रिहा


  • घटना र विचार प्रतिनिधि

गणतन्त्र दिवसको अवसरमा आइतबार कपिलवस्तु कारागारका १७ कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो ।

विभिन्न मुद्दामा अदालतद्वारा तोकिएको ४० देखि ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार व्यवस्थापन विभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर मनोज सैनीले जानकारी दिए ।

कारागारले ५० प्रतिशत सजाय भुक्तान गरेका १३ जना र ४० प्रतिशत सजाय भुक्तान गरेका ११ जना सिफारिस गरेर पठाइएकोमा १७ जना रिहा भएको जेल सैनीले बताए । रिहाइका लागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाइएको थियो ।

रिहाइ हुने कैदीहरुलाई स्वागत गरी घर लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो । कैदीको अवधि बाँकी छँदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । पुराना तीता अनुभवहरु सबै बिर्सेर नयाँ जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुले बताए ।

‘रिहा हुने हामी सबैले पुराना कुराहरुलाई बिर्सेर नयाँ सुरुवात गर्नु पर्छ’ उनीहरुले भने । आफूहरुले देश, समाज र परिवारकालागि सही ढंगले काम गर्नुपर्ने उनीहरुको भनाइ थियो । अनुशासित कैदी रिहा भएकोमा आफूलाई पनि सन्तुष्टि मिलेको जेलर सैनीले बताए । उक्त कारागारमा अहिले ४ सय २८ जना कैदी बन्दी रहेका छन्।