भैरहवा बस दुर्घटनाका मृतक नौमध्ये आठ जनाको सनाखत

भैरहवा बस दुर्घटनाका मृतक नौमध्ये आठ जनाको सनाखत


रुपन्देहीको रोहिणी खोलामा बस पल्टिँदा मृत्यु भएकामध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुबाहक बस भैरहवा-परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आइतबार बिहान करिब साढे ४ बजे खोलामा खसेको थियो ।

खोलामा खसेका ३२ जनामध्ये ९ जनाको निधन भएको थियो । दुई जना बालक, ६ जना महिलासहित ३२ जना सवार बस दुर्घटनामा पर्दा एक महिलासहित ९ जनाको मृत्यु भएको हो ।

लु. २ ख ३८४१ नम्बरको यात्रुवाहक बस सवारमध्ये ९ जनाको मृत्यु भए पनि एक जनाको पहिचान अझै खुलेको छैन । रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीया राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा-२, योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगहपुरका २० वर्षीय दिनेश दास, बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षीया कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका-६ आदर्शनगर बस्ने ४० वर्षीया अरविन्द शर्मा, अरविन्द्रका बुवा ५० वर्षीया नागेन्द्र शर्मा र सितामणि भारतका ४५ वर्षीया सञ्जय गुप्ता रहेका छन् । मृत्यु भएका एक जना पुरुष अन्दाजी ३०-३५ वर्षको सनाखत हुन बाँकी छ ।

यात्रु मध्ये चार जनाको भीम अस्पतालमा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

चालक, सहचालकसहित घाइते यात्रुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दर्जन बढीको अवस्था गम्भीर र अन्य यात्रुको अवस्था मध्यम रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

मृतक एकै परिवारका पाँच जना पनि परे, बाबु छोराको मृत्यु

बस दुर्घटनामा परि बाबु–छोराको मृत्यु भएको छ भने एकै परिवारका पाँच जना सवार बसमा अन्य तीन जनाचाहिँ घाइते भएका छन् । दुर्घटनामा ५० वर्षीया बुबा नागेन्द्र शर्मा र छोरा ४० वर्षीया अरविन्द्रको मृत्यु भएको छ ।

अरविन्द्रकी श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीय यश शर्माको उपचार भइरहेको छ । सीताको इमर्जेन्सी कक्षको स्पेसल केयर युनिटमा उपचार भइरहेको छ भने संदीपा र यशको इमर्जेन्सीको सामान्य कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनीहरू पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए ।