भारत निर्यात हुने खाद्य नमूना परीक्षण अब रक्सौलमा हुने

भारत निर्यात हुने खाद्य नमूना परीक्षण अब रक्सौलमा हुने


भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले रक्सौल बिहार)मा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन् । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवको उपस्थितिमा आइतबार (२२ जेष्ठ) उक्त प्रयोगशाला उद्घाटन गरिएको हो ।

सम्बद्ध पक्षले जनाएअनुसार रक्सौलस्थित भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला हो । यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्ने बताइएको छ ।

हाल नेपालबाट भारततर्फ निर्यात गरिने खाद्य नमुनाहरूको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको छ ।

लामो समयदेखि नेपाली व्यवसायीहरूले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएका थिए, जो अहिले आएर पूरा भएको छ ।

यस खाद्य प्रयोगशालाको निर्माण ‘छिमेकी पहिलो’ नीतिअनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रूपमा रहेको भारतीय पक्षको दाबी छ ।