आफन्तको हत्या प्रयास गर्ने हंसराज पक्राउ

आफन्तको हत्या प्रयास गर्ने हंसराज पक्राउ


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको सदरमुकाम परासीको ब्यस्त बजारमा सोमबार दिनदहाडै गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घटनाको २४ घण्टा नबित्दै प्रहरीले सरावल नगरपालिका ४ मङ्गलापुर बस्ने वर्ष २९ का हंसराज यादवलाई सुनवलबाट पक्राउ गरेको हो ।

सुनवल-५ वनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा हतियारसहित हंसराज यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । उनको साथबाट प्रहरीले अमेरिकामा बनेको ७.६५ एमएमको पेस्तोल, ७ राउण्ड गोली लाग्ने एक थान म्यागजिन र एउटा गोलीसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले सोमबार दिउँसो ४ बजे घटना घटेलगत्तै विभिन्न माध्यमबाट खोजी कार्य जारी राखेको थियो । प्रहरीको सक्रियताले २४ घण्टा नबित्दै गोली चलाउने व्यक्ति नियन्त्रणमा लिन सफल भएको उपरीक्षक कँडेलले बताए ।

सरावल ४ का यादवले सोमबार दिउँसो ४ बजे परासी अदालतनजिकै आफ्नै काकी रोशनी यादवमाथि गोली प्रहार गरेका थिए । तर गोली भने कसैलाई लागेको थिएन ।

जग्गासम्बन्धी विवादमा यादवले काकीमाथि गोली प्रहार गरेको उनका आफन्तहरुले बताएका छन् । गोली प्रहार गर्ने हसंराजसँग थप सोधपुछ गरेपछि विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ ।