अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखले शुक्रबार प्रधानसेनापतिसँग भेटवार्ता गर्ने

अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखले शुक्रबार प्रधानसेनापतिसँग भेटवार्ता गर्ने


अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरे ।

नेपाली सेनाले जनाएअनुसार अमेरिकी सेना अधिकारी फ्लिनले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

फ्लिनको भ्रमण तालिकाअनुसार सगरमाथाको आधार शिविर पुग्ने तथा आइतबार उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नेछन् ।

यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले जनाएअनुसार नेपाल र अमेरिकाबीच कायम रहेको दशकौँ लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा यो भ्रमण भएको हो । भ्रमणका क्रममा फ्लिनले नेपाल सरकारका उच्च नेतृत्वसँग पनि शिष्टाचार भेटघाट गर्ने जनाइएको छ ।