बर्थडे मनाउन आएका युवाको चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु

बर्थडे मनाउन आएका युवाको चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु


  • मोहम्मद हबिब, भैरहवा

भैरहवामा रहेको होटेल सी प्रिन्टबाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका र होटलमै चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु भएको खुलेको छ । सिद्धार्थनगर(३ स्थित उक्त होटेलबाहिर भुइँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डेमा मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

भैरहवा बसपार्कनजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए । तीमध्ये यादवको मृत्यु भएको हो । समूहका चार जनालाई घटनापश्चात् र घटना घटेपछि भागेका एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा सिद्धार्थनगर-१२ बैककलोनी बस्ने वर्ष १८ वर्षीय आशीष गैरे, सिद्धार्थनगर-८ बस्ने सैफ अली, सियारी-७ बस्ने २० वर्षीय अजय यादव र २२ वर्षीय रामजी यादव रहेका छन् । ओमसतिया ४ का २० वर्षीय सुरज बानियाँ फरार रहेकोमा प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

अर्का फरार ओमसतिया ४ बालापुरका जितेन्द्र सहनीको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका युवाहरुसँग सोधपुछ भइरहेको छ । मृतक यादवको पोस्टमार्टम भएर शव परिवारले बुझेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

होटेल सञ्चालकका अनुसार शुक्रबार ७ जनाको समूह जन्मदिन मनाउने भन्दै होटेल आएका थिए । सोही समूह मध्येकै युवाहरूले बिहान अन्दाजी ३-४ बजे तिर काउन्टर तोडेर चोरी गर्न खोजेका थिए । तोडेको आवाज आएपछि उनीहरूमध्ये दुई जना भाग्न सफल भएका र पाँच जना होटेलमै रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको चोरी गरेर भाग्ने क्रममा तेस्रो तल्लाबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।