आँबुखैरेनी खण्ड अवरुद्ध गरी भित्ता काटिँदै

आँबुखैरेनी खण्ड अवरुद्ध गरी भित्ता काटिँदै


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पावर हाउसनजिक सडक भासिएको ठाउँमा कुनापट्टि भित्ता खन्ने कामलाई आइतबार पनि निरन्तरता दिइएको छ ।

केही दिनदेखि परेको वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि उक्त खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन हुँदै आएको छ । सडक डिभिजन कार्यालय दमौलीले आइतबार साँझ ५ बजेदेखि यातायात बन्द गरी सडक खन्ने काम गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

सडक डिभिजनले बिहानको समयमा ८ बजेदेखि काम सुरु गर्दा केही बेर सडक अवरुद्ध हुने गरेको छ । काम नगरेको बेला एकतर्फी रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ । सडक भासिएर एकतर्फी यातायात सञ्चालन हुँदा सवारीको चापले गर्दा जाम हुने गरेको छ । उक्त सडक भासिएर कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो ।