परपुरुषको घर छिरेर हातपात गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी प्रहरी नियन्त्रणमा

परपुरुषको घर छिरेर हातपात गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी प्रहरी नियन्त्रणमा


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन् । परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ खोइ भन्दै आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् । विमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्‍याएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेतको तुलसीपुर-५ बसपार्क आलुमण्डीमा रहेको घरमा म‌ंगलबार बिहान प्रवेश गरेकी हुन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनले मिनाको कोठाभित्रको दराजका कपडा निकाल्दै आफूले आफ्नो श्रीमान् एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले आरोप लगाइन् । विमलाले मिनाको कोठाका कपडाहरु यत्रतत्र छरिदिएकी थिइन् ।

मन्त्रीले नै सीमा नाघेर अर्काको घरभित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । केही समयपहिले राज्यमन्त्री विमला र मिनाका पति एकराज बस्नेतबीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।