आहारा खोज्दै मानव बस्तीमा आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु

आहारा खोज्दै मानव बस्तीमा आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु


तनहुँको बन्दीपुर गाउँपालिका-१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुप्रिम रिलामीको ज्यान गएको हो ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पारिएको उनको भनाइ छ । चितुवाले बालकको घाँटीमा आक्रमण गरेको पाइएको छ ।

केही दिनयता बन्दीपुरमा चितुवाको आतङ्क बढेको छ । गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर-१ र ४ मा दुई जना घाइते भएका थिए । चितुवा नियन्त्रणका लागि त्यहाँ खोर राखिएको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेका अनुसार चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको छ ।