कार्यक्रमलाई छरितो र राजनीतिमुक्त बनाउन बेल्जियमका संघ-संस्थाकाद्वारा सामुहिक प्रतिबद्धता

कार्यक्रमलाई छरितो र राजनीतिमुक्त बनाउन बेल्जियमका संघ-संस्थाकाद्वारा सामुहिक प्रतिबद्धता


  • सनत आचार्य/बेल्जियम

बेल्जियममा स्थापित नेपाली संघसंस्थाहरूले आयोजना गर्ने कार्यक्रमलाई व्यवस्थित, छरितो तथा प्रभावकारी बनाउन र अनावश्यक राजनीतिबाट संघसंस्थाहरूलाई मुक्त तुल्याउन सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

बेल्जियममा स्थापित नेपाली संघसंस्थाहरूको कार्यक्रमलाई व्यवस्थित गर्नका लागि नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले सोमबार आन्तर्पेनमा आयोजना गरेको अन्तरक्रियामा संघसंस्थाका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै बेनेलुक्स (बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्डस) का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले बेल्जियममा स्थापना भएका संघसंस्थाहरूले आयोजना गर्ने कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक देखिएको उल्लेख गर्दै कार्यक्रमहरू परिमार्जित गर्न जरुरी रहेको बताउनुभयो ।

राजदुत राजभण्डारीले संघसंस्थाले संचालन गर्ने कार्यक्रमहरू छिटो-छरितो नभइ लामो हुने र आयोजक तथा वक्ताहरूले समयको परवाह नगर्ने प्रवृत्ति आफुले देखेको हुँदा यसलाई परिवर्तन गर्नु आवश्यक रहेको औंल्याउनु भयो । उहाँले संघसंस्था भनेका पथप्रदर्शक भएको हुँदा बेल्जियमको नेपाली समाजलाई डोऱ्याउन मुख्य भूमिका रहेको धारणा राख्नुभयो ।

गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव गंगाधर गौतमले संघसंस्थाहरूले गरेका कार्यक्रमहरूलाई छिटो-छरितो र राम्रो तरिकाले कसरी संचालन गर्ने भन्नेतर्फ सोच्न सुझाव दिनुभयो ।

त्यस्तै, संघका केन्द्रीय कोषाध्यक्ष लोकप्रसाद दाहालले महासंघले समय-सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कार्यक्रमलाई व्यवस्थित रुपले संचालन गरेमा आगामी दिनमा गरिने कार्यक्रमहरूप्रति सबैको चासो र सहभागिता बढ्नसक्ने तर्क गर्नुभयो ।

संघका केन्द्रीय प्रवक्ता शिवकुमार बरुवालले अहिलेको मूल समस्या भनेको समय व्यवस्थापन नै भएकोले यसतर्फ सबैले ध्यान दिन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले बेल्जियममा स्थापित नेपाली संघसंस्था सबै नेपालीका प्रेरणाको श्रोत भएकोले यी संघसंस्थाहरूले उदाहरणीय काम गरेमा समाजलाई जोड्न सक्ने र, संघसंस्थाद्वारा आयोजना गरेका कार्यक्रमहरूमा सहभागिता कम हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसतर्फ गम्भीर रूपमा सोच्न तथा प्रवासमा मनाउने चाडबाडहरू सामुहिक रुपमा मनाउन सुझाव दिनुभयो ।

नेपाली व्यवसायी बेल्जियमका अध्यक्ष यामु निरौलाले संघसंस्थाका कार्यक्रम व्यवस्थित गर्न तालिमको समेत आयोजना गर्न आवश्यक रहेको बताउँदै संघसंस्थामा राजनैतिक गन्ध आउन नदिन सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पत्रकार सनत आचार्यले बेल्जियमका संघसंस्थाहरूलाई व्यवस्थित गर्नका लागि सुझावसहितको कार्यपत्र प्रस्तुत गर्दै सामाजिक संघसंस्थाहरू लक्ष्य तथा उद्देश्यकेन्द्रीत भएर काम संचालन गर्नुपर्ने र, संस्था संचालनका आन्तरिक र बाह्य पक्ष बलियो भएमा मात्र सहि परिणाम आउने बताउनुभयो ।

आचार्यले व्यस्त समयलाई पनि व्यवस्थापन गरेर संघसंस्था स्थापना र संचालन गर्नु प्रशंसनीय काम भएको उल्लेख गर्दै निर्धारित समयमा कार्यक्रम संचालन गर्नुपर्ने, संघसंस्थाहरूलाई राजनैतिक प्रभावबाट मुक्त राख्नुपर्ने, महिला तथा युवाकेन्द्रित कार्यक्रमहरू निर्माण तथा कार्यान्वयन गर्नुपर्ने, स्वागत, आसनग्रहण र भाषणमा बढी समय लाग्ने गरेकोमा यसलाई छोटो र राम्रो तरिकाले संचालन गर्नुपर्ने, संस्थाभित्र आन्तरिक सुशासनको पक्षलाई ध्यान दिनुपर्ने, संस्थाभित्र आर्थिक पारदर्शीतालाई ख्याल राख्नुपर्ने, विभिन्न संघसंस्थाहरूसंग समन्वय गरेर कार्यक्रम आयोजना गर्नुपर्ने र संस्थाभित्र राजनीतिक प्रभावलाई कम गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा अबका दिनहरूमा कार्यक्रम तोकिएको समयमै संचालन गर्ने र यदि गर्न नसकिएको अवस्थामा १५ मिनेटभित्र अनिवार्य रुपले संचालन गर्ने, समय व्यवस्थापनका पक्षलाई विशेष ख्याल गर्ने, स्वागत, खादा, आसनग्रहण र भाषण जस्ता कार्यले बढी समय लिने भएकोले यसलाई छोट्याएर संचालन गर्ने, महिला तथा युवाकेन्द्रित कार्यक्रमहरू निर्माण तथा संचालन गर्ने जस्ता विषयमा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले सामुहिक रुपमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

गैरआवासीय नेपाली संघका केन्द्रीय युरोप युवा संयोजक दीपक न्यौपानेले महासंघले यो कार्यक्रम एकदम सही समयमा आयोजना गरेको र यसले नेपाली संघसंस्थाहरूमा नयाँ क्रान्ति ल्याउने र समाज रुपान्तरणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने तर्क गर्नुभयो ।

नेपाली समाज बेल्जियमका अध्यक्ष नेत्र मगर, मगर संघका अध्यक्ष लोक राना, ऐनाको उपाध्यक्ष मुना ताम्राकार, जनसम्पर्क समितिका महामन्त्री प्रकाशराज गिरी, नेपाली जन प्रगतिशील मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, जनप्रगतिशील मन्चका अध्यक्ष प्रकाश पौडेल, जन प्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, प्रवासी नेपाली मन्चका उपाध्यक्ष शालिकाराम थपलिया, तमु धी बेल्जियमकी अध्यक्ष प्रविणा गुरुङ, जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष मुना राई, पर्वत समाज बेल्जियमका अध्यक्ष रोशन जोशी, नेपाली मिलन केन्द्र बेल्जियमकी कान्ति अधिकारी, मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरे, युवा व्यवसायी कासी दनै र एनआरएनका पूर्वसदस्य सुवास जोशी लगायतले संघसंस्थाहरू प्रभावकारी रुपले संचालन गर्नका लागि सामुहिक प्रबिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ओम शर्माद्वारा संचालन गरिएको कार्यक्रममा अध्यक्ष शर्माले सबै संघसंस्थाहरूले आयोजना गर्ने कार्यक्रममा परिमार्जन गर्न आवश्यक देखिएको र यसका लागि सामुहिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै आफूहरूले यो कार्यक्रम गरेको जानकारी दिनुभयो । अध्यक्ष शर्माले कार्यक्रममा गरिएका प्रतिबद्धताले आगामी दिनमा कार्यक्रम संचालन गर्न सजिलो हुने विश्वास जागेको बताउनुभयो ।