पूर्वेली समाज बेल्जियममा नयाँ नेतृत्व

पूर्वेली समाज बेल्जियममा नयाँ नेतृत्व


  • सनत आचार्य, बेल्जियम

‘आपसी सद्भाव र भाइचारा, पूर्वेली समाजको मुख्य नारा’ भन्दै नेपालको कोशीपारी घर भइ बेल्जियमका विभिन्न शहरमा बस्ने प्रवासी नेपालीहरूको साझा संस्था पूर्वेली समाज बेल्जियमको दोश्रो वार्षिक साधारणसभा सोमबार आन्तर्पेनमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले बेल्जियमका संघसंस्थाहरूले सामाजिक कामका साथै रोजगारी सृजना गर्ने, व्यवसायमा लगानी गरी विदेश पलायन हुने नेपाली युवाहरूलाई रोक्न सकिने तर्क गर्दै बेल्जियममा रहेका संघसंस्थाहरूले यसतर्फ ध्यान दिन सुझाव दिनुभयो ।

अध्यक्ष केसीले बेल्जियममा रहेका सबै संघसंस्थाहरूले प्रवासी नेपालीका सम्बन्धमा समान धारणा निर्माण गर्न सके सवालहरूलाई बेल्जियम सरकार समक्ष राख्न सकिने धारणा अघिसार्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज बेल्जियमका अध्यक्ष डिल्ली अम्माईले वर्तमान समयमा समानुपातिक विकासको आवश्यकता रहेको हुँदा संघसंस्थाहरूले यसतर्फ पनि सोच्न आवश्यक रहेको सुझाउँदै साँस्कृतिक सभ्यता र पहिचान लोप हुँदै गएको अवस्थामा यसलाई जीवित राख्न संघसंस्थाहरूले सक्रियता देखाउनुपर्ने बताउनु भयो ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले संघसंस्थाहरूले विधान र परिधिभित्र रहेर काम गर्नुपर्ने सुझाव दिदै संस्थाभित्र रहेका सबैको ज्ञान, सीप, क्षमता र अनुभवलाई आत्मसात गर्दै संस्थालाई फाराकिलो बनाउनुपर्ने धारणा राख्नुभयो ।

समाजका क्षेत्रीय संयोजक पुष्प नेपालले कोरोना कहरका कारण समाजले सोचेजस्तो कार्य गर्न नसकेको बताउँदै सबैले पवित्र मनले सहयोग गरे अपेक्षाकृत विकासमा सहयोग पुग्न सक्ने उल्लेख गर्नुभयो ।

पत्रकार सनत आचार्यले बेल्जियममा रहेका सामाजिक संघसंस्थाहरू व्यवस्थित हुन आवश्यक रहेको बताउँदै कुनै पनि कार्यक्रम आयोजना गर्नुपूर्व यसको तयारी अनिवार्य रुपले गर्न आवश्यक रहेको सुझाव राख्नुभयो । उहाँले सामाजिक संघसंस्थाहरू स्थापना हुनु राम्रो कुरा भएपनि संस्था संचालनमा धेरै कमी–कमजोरी देखापरेको औंल्याउनु भयो ।

प्रवासी नेपाली मञ्चकी इसा गुरुङले सामाजिक संघसंस्थाहरूमा सदस्यहरूको सक्रियता कम देखिनु दुर्भाग्यपूर्ण रहेको बताउँदै सबैको सक्रियता आजको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

अधिवेशनमा सदस्य मुना ताम्राकार र रविन वान्तवाले पनि आफ्नो भनाइ राख्नुभएको थियो भने समाजका महासचिव गोपाल दाहालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

अधिवेशनले गोपाल दाहालको अध्यक्षतामा १८ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ भने ३ जना सदस्यहरूको चयन आगामी कार्य समितिको बैठकले गर्ने निर्वाचन मण्डलका संयोजक यमु निरौलाले जानकारी दिनुभयो ।

अधिवेशनले उपाध्यक्षमा टुंग निरौला, कोषाध्यक्षमा कविता थपलिया, महासचिवमा बुद्धि बराललाई चयन गरेको छ भने सदस्यहरूमा कौशल खनाल, सावित्री भारती, रेणु गुरुङ, मुना ताम्राकार, रमेश कार्की, भीम थेबे, नरेन्द्र अधिकारी, सुनिल सुब्बा, बुद्धि गुरुङ, रतन गुरुङ, वीरेन गुरुङ, सावित्री अधिकारी, मैया नेपाल, जुना निरौला र अनन्त वस्तीलाई चयन गरेको छ ।

अधिवेशनको समापन सत्रमा निवर्तमान अध्यक्ष अनन्त वस्तीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै समाजको वृत्ति विकासलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।