पृथ्वी तातेको अवस्थाको पछिल्लो विकराल रुपको झलक बेलायतमा

पृथ्वी तातेको अवस्थाको पछिल्लो विकराल रुपको झलक बेलायतमा


लण्डन । हिजो अर्थात् १९ तारिख जुलाई, बेलायतको इतिहासमा सबैभन्दा गर्मीको दिन भनेर दर्ता भएको छ । बेलायतको कोनिंग्सबी, सेन्ट जेम्स पार्क अनि हिथ्रोमा क्रमशः ४०.३, ४०.२ र ४०.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ, जो बेलायतकै इतिहासमा उच्च तापक्रम हो । बेलायतको खासगरी इंग्ल्याण्ड राज्यमा उच्च खतराको सूचना जारी गरिएको थियो र जसअनुसार ठाउँठाउँमा आपकालीन अवस्थाको लागि जुध्ने संयन्त्रहरु व्यवस्थापन गरिएको थियो । तथापि, लण्डनका विभिन्न स्थानहरु जसमा साउथगेट, हेनल्ट, होर्नचर्च, अपमिन्स्टर, वेनिंग्टन, डार्टफोर्ड, क्रोयडन, बैक्स्लेहिथ, वलविच, टुटिँग, हाम, हिलिँग्डन, वेम्ब्ली र पिनरमा तातो वातावरणको कारण आगलागि भएको र दर्जनौं घर तथा बिल्डिँगहरुसहित मोटरगाडी तथा हजारौं हेक्टरको हरियाली फाँटहरु ध्वस्त भएका छन् । चर्को गर्मीले गर्दा स्पेन, पोर्चुगल, फ्रान्स, इटाली आदिका विभिन्न स्थानहरुमा आगलागी भएका छन् र थुप्रै जमीन धनमालको हानी भएका छन् ।

सन् १९८१ बाट प्रति दशक ०.१८ डिग्री सेल्सियसका दरले पृथ्वी तात्दै गइरहेको छ । समुद्री तटका कैयौं शहरहरु विलाउने पक्का छ । हिजोको गर्मीको अनुभव बेलायतमा पहिलो हो र विज्ञहरुका अनुसार यो अन्तिम पक्कै होइन । अबका वर्षहरुमा यही अनुपातले गर्मीका दिनहरुको अनुभव गर्न र त्यसले ल्याउने विपदहरुको सामना गर्न पृथ्वीको अन्य देशहरुजस्तै बेलायत पनि वाध्य हुने भनिएको छ । यो बेलायतको परिप्रेक्ष्यमा नकारात्मक हो, किनकि बेलायतमा सबै घरहरुमा भित्रहरुको तापक्रमलाई बाहिर जान नदिने र बाहिरबाट आउने चिसोलाई भित्र पस्न नदिने किसिमले घरहरुको निर्माण गरिएको हुन्छ, त्यसले गर्दा गर्मीयामको ३०,३२ डिग्री सेल्सियसले पनि मानिसहरुलाई धान्न गाह्रो हुन्छ । हजारौं बूढाबूढीहरुको गर्मीसँग आउने विविध धपडीहरुको कारणले मृत्यु हुने गर्दछ भने, ४० डिग्री भनेको त बेलायतको वातावारण अति नै हो । यही अनुपातले बेलायत तातिँदै गयो भने आगामी केही दशकमा बेलायतमा आम जीवन धान्न गाह्रो पर्ने पक्का छ ।

पृथ्वी तातिएको वास्तविकतालाई ध्यानमा राखेर संसारमा विभिन्न देशहरुले आन्तरिक प्रदूषण प्रतिरोधात्मक कार्यहरु गर्ने वचनवद्धता गरेका छन्, सोहीअन्तर्गत् लण्डनको भित्री रिंग रोड अर्थात् उत्तरी ए ४०६ रोड (जो २५.७ माइल लम्बिएर लण्डनको भित्री भागलाई घेरा लगाएको छ) भित्र पुराना गाडीहरु (जसले निश्चित मापनभन्दा माथि कार्वनडाइअक्साइड निकाल्छन्) हरु चलाउनको लागि प्रतिवन्ध लगाइसकेको छ र निकट भविष्यमा ११७ माइल लामो एम २५ जसले सम्पूर्ण रुपमा लण्डनलाई चौतर्फी घेरेको छ, भित्र ए४०६मा जसरी पुराना गाडीहरुप्रति प्रतिवन्ध लगाउँदैछ । बेलायतका विभिन्न स्थानहरुमा इलेक्ट्रिक गाडीहरु चार्ज गर्ने सक्ने व्यवस्थाहरुलाई तीब्ररुपमा व्यापक बनाइँदै छ अनि सोही परिमाणमा बजारमा विभिन्न इलेक्ट्रिक गाडीहरु सुपथ मूल्यमा उपलब्ध गराइँदै छ ।

हिजो अर्थात् मंगलबारको उच्च मापन गरिएको तापक्रमको कारणले लगभग १००० जनाको मृत्यु भएको छ र लगभग त्यही परिमाणमा फ्रान्स, स्पेन, इटालीमा पनि सोही तापक्रमको कारणले मानिसहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।

युक्रेनमा लडाइँ जारी छ, जसको कारणले गर्दा बेलायतलगायत विभिन्न देशहरुमा विविध खाद्यान्नलगायत इन्धनहरुको अभाव भइरहेका छन्, जसले गर्दा सो वस्तुको मूल्यमा वृद्धि भएको छ । बेलायतको मुद्रास्फितिमा वृद्धि भएको छ । प्रधानमन्त्री बोरिसले राजीनामा दिइसकेका छन् र उनको पदको पूर्ति गर्ने होड चलेको छ । सारांशमा बेलायतको आन्तरिक अवस्था अन्योलमा रहेको बेला उच्च गर्मीको कारणले बेलायतमा थप मुश्किल थपेको छ ।

-Images sources : Net