‘गैरआवासीय नेपाली नागरिकता, मातृभूमिसँग जोडिने आधार’ : महासचिव जोशी

‘गैरआवासीय नेपाली नागरिकता, मातृभूमिसँग जोडिने आधार’ : महासचिव जोशी


नेपालको संघीय संसद्ले नेपाल नागरिकता विधेयक संशोधनसहित बहुमतले पारित गरेपश्चात गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले नेपाल सरकारप्रति आभार ब्यक्त गरेका छन् । महासचिव जोशीले सामाजिक संजालमार्फत आफ्नो खुशी प्रकट गर्दै सरकार एवम् प्रतिनिधिसभाप्रति आभार प्रकट गरेका हुन् ।

जोशी लेख्छन्, गैरआवासीय नगारिकताको सुनिश्चिताले गैरआवासीय नेपालीहरुको मातृभूमिप्रतिको दायित्व अझ बढ्नेछ । यस मुद्दाका लागि स्थापनाकालदेखि आजसम्म निरन्तर लागिरहेका पूर्व नेतृत्वपंक्ति लगायत वर्तमान कार्यकारी अध्यक्ष, अध्यक्ष मण्डल एवम् सम्पूर्ण अभियन्ताहरु बधाईको पत्र बनेको तर्क उनले गरेका छन् ।

यस्तो छ महासचिव जोशीको भनाइ

गैरआवासीय नेपाली संघले प्रारम्भिक कालदेखि उठाउँदै आएको प्रमुख मुद्दामध्ये एक गैरआवासीय नागरिकताका सम्बन्धमा आज नेपालको संघीय संसद (प्रतिनिधिसभा)ले पास गरेर राष्ट्रियसभामा पठाएकोमा एक गैरआवासीय अभियन्ता साथै यसै मुद्दाका लागि लामो समयदेखि पहल गरिरहेको व्यक्ति भएको कारण पनि अत्यन्त हर्षित छु ।

संघीय संसद्ले पास गरेको विधेयक राष्ट्रिय सभाले पास गरेपश्चात राष्ट्रपति महोदयबाट स्वीकृत भएको अवस्थामा वर्तमान विधेयक ऐनको रुप धारण गरेर कार्यान्वयनमा जाने अवस्था रहेको हुँदा राष्ट्रियसभाबाट पनि वर्तमान विधेयकलाई पास गरेर कानुनको रुप लिँदा गैरआवासीय नागरिकताको अभावमा आफ्नो मातृभूमिको कर्ममा योगदान दिन इच्छुक गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको लागि एक सुवर्ण अवशरसँगै भावी पुस्ता पनि नेपालसँग निरन्तर जोडीइरहने एक माध्यम बनेकोमा विश्वभर रहनुभएका गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक बधाई दिन चाहन्छु । यसका लागि पछिल्लो जटिल परिवेशमा संघका कार्यकारी अध्यक्ष, सिंगो अध्यक्षमण्डल सँगै संघका वर्तमान पदाधिकारीलगायत यो मुद्दाका लागिआफ्नो आफ्नो तर्फबाट संघको प्रारम्भिक दिनदेखि निरन्तर आवाज उठाउँदै आइरहनुभएका संघका पूर्वनेतृत्व पंक्तिलगायत् सम्पूर्ण अभियन्ताहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

गैरआवासीय नागरिकताको माग सम्बोधनसँगै, मातृभूमिप्रतिको आफ्नो दायित् अझै बढेको महसूस भएको छ भने,आगामी दिनमा मलगायत सम्पूर्ण गैरआवासीय नेपालीले मातृभूमीका पक्षमा दिने योगदान अझ बढी सहज हुनेमा विश्वस्त छु ।

गौरीराज जोशी
महासचिव
गैरआवासीय नेपाली संघ