आबेको हत्या गर्ने तयारी एक वर्षअघि नै शुरु गरिएको खुलासा

आबेको हत्या गर्ने तयारी एक वर्षअघि नै शुरु गरिएको खुलासा


  • विशेष प्रतिनिधि, जापान

पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली प्रहार गर्ने संदिग्ध व्यक्ति तेचुया यामागामीले अघिल्लो वर्षको मार्चदेखि नै आफ्नो निवासभन्दा अन्यत्रै कोठा भाडामा लिएर विस्फोटक पदार्थहरु बनाउन थालेको अनुसन्धानले देखाएको छ ।

यसै महिनाको ८ तारिख नारा शहरमा भाषण दिइरहेका पूर्वप्रधानमन्त्री आबेको गोली हानी हत्या गरेको घटनामा प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको नारा शहर बस्ने ४१ वर्षीय बेरोजगार तेचुया यामागामीबारे अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।

यामागामीले बन्दुक मात्र नभइ बारूद पनि आफैं बनाएर गत वर्ष नोभेम्बरदेखि फेब्रुअरीसम्म बारूद सुकाउने ठाउँका रूपमा नारा प्रिफेक्चरको एउटा ग्यारेजको कोठा प्रयोग गरेको बुझिएको छ ।

अनुसन्धानको क्रममा, एकपछि अर्को गरि उसले आबे हत्याको लागि बनाएका योजनाहरु खुलासा हुँदै गइरहेको छ । अहिलेसम्मको अनुसन्धानमा राजनीतिक कारण भने पुष्टि भएको छैन । यामागामीले आफ्नो बयानमा बताएअनुसार नै अनुसन्धान अगाडि बढिरहेको छ ।

यामागामीको आपराधिक दायित्वको छानबिन गर्न यामागामीलाई हिरासतमा राख्न अदालतले स्विकृति दिएको छ । अब ती संदिग्धलाई नोभेम्बर २९ सम्म करिब ४ महिनाको अवधिसम्म थप अनुसन्धान गरिनेछ । यो बीचमा विशेषहरु मार्फत मनोवैज्ञानिक परीक्षण गरी नतिजा आदिका आधारमा कारबाहीबारे निर्णय गरिने बताइएको छ ।