जापानमा ठूलो ज्वालामुखी विष्फोट

जापानमा ठूलो ज्वालामुखी विष्फोट


  • टोकियो (जापान)

जापानको खागोसिमा प्रिफेक्चरस्थित साकुराजिमा पर्वतमा ठूलो ज्वालामुखी विस्फोट भएको छ । आइतबार (२४ जुलाई) रात ८ बजेर ५ मिनेटमा विष्फोट भएको ज्वालामुखीले साढे २ किलोमिटर भन्दा टाढासम्म ज्वारभाटा फैलिएको बताइएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले साकुराजिमा क्षेत्रबाट तत्काल हट्न चेतावनी जारी गरेको छ । साथै उक्त क्षेत्र आसपास ज्वालामुखी विस्फोटको सबैभन्दा उच्चतम पाचौँ स्तरको चेतावनी तोकिएको छ ।

मौसम एजेन्सीले साकुराजिमा क्षेत्रबाट मानिसहरुलाई तत्काल टाढा जान चेतावनी जारी गरेको छ । मिनामिडेक समिट क्रेटर र शोवा क्रेटरबाट ३ किलोमिटरभित्र खागोशिमा शहरको अरिमुरा चो र फुरुसातो चोका भागहरूमा ठूला ज्वालामुखीले उडाएर ल्याएका चट्टानहरु खस्न सक्ने भन्दै कडा सावधानी अपनाउन भनिएको छ ।

थप रुपमा स्थानीय सरकारबाट जारी गरिएका सूचना र जानकारी पछ्याएर सावधानी अपनाउन मौसम विज्ञान एजेन्सीले सचेत गराएको छ ।

सरकारले जानकारी सङ्कलन र क्षतिको पुष्टि गर्न सम्बन्धित मन्त्रालय र निकायको आकस्मिक बैठक प्रधानमन्त्री कार्यालयस्थित क्राइसिस म्यानेजमेन्ट सेन्टरमा बोलाएको जनाएको छ ।