अष्ट्रेलियामा शुरू भयो नेपाली कलाकारहरूको सांगीतिक धमाका

अष्ट्रेलियामा शुरू भयो नेपाली कलाकारहरूको सांगीतिक धमाका


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

केविसी अष्ट्रेलियाको आयोजनामा यहाँका विभिन्न सात प्रमुख शहरमा आयोजना हुन लागेको ‘धमाका : अष्ट्रेलिया टूर २०७९’ सुरु भएको छ । टुरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दीपक आचार्य काकु सहभागी छन् ।

शुक्रबार पर्थमा भव्य कार्यक्रम सम्पन्न गरेको कलाकार टोलीले आइतबार तास्मानियाको लन्चेष्टनमा आफ्नो प्रस्तुति दिएको छ । लन्चेष्टनको म्याक्स फ्राइ हलमा आयोजित कार्यक्रमलाई लिएर नेपाली समूदायका साथै नेपालीभाषी भुटानी समूदाय पनि निकै उत्साही देखिएका थिए । मुख्यतः पशुपति शर्माको क्रेज नेपालीभाषीमाझ अत्यन्तै धेरै रहँदै आएको छ । अर्कोतिर तीजको रमझमसमेत सुरु हुन लागेका कारण रचना रिमाल र पशुपति शर्माको प्रस्तुतिलाई धेरैले प्रतीक्षा गरेका थिए । यसमा कमेडीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन थप्ने अपेक्षा जो गरिएको थियो, सोअनुसार भव्य प्रस्तुति भएको छ ।

यस्तै, ब्रिसबेनमा ३० जुलाई शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा समेत तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गन्जिने आयोजक केविसी अष्ट्रेलियाले जनाएको छ ।

अष्ट्रेलिया टूरको संयोजन गरिरहेका केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले ब्रिसबेनको नेपाली समूदायको माया पहिलो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी गायिका रचना रिमालले पाउने आशा व्यक्त गरे । यस्तै, पशुपति शर्मालगायतका कलाकारहरूलाई यसअघि मिल्दै आएको साथ यसपटक पनि प्राप्त हुने अपेक्षा उनको छ । ‘ब्रिसबेनमा हामीले सबै समूदाय एकै ठाउँमा आएर, एकताबद्ध भएर आफ्नै सामूदायिक केन्द्र बनाउने अभियानमा एउटै मात्र भए पनि इँटा थपौँ भन्ने उद्देश्यका साथ हातेमालो गरेका हौँ’– उनले भने ।

यसपछि मेलबर्नमा अगष्ट १ तारिख सोमबार गुल्मी समाज भिक्टोरिया, केइसी नेपाली समाज लगायतको आयोजनामा मेलबर्नको पूर्वीक्षेत्रमा रहेको क्रेनबर्नको बल्ला बल्ला कम्युनिटी सेन्टरमा तीज धमाका २०७९ हुनेछ । मेलबर्नको पूर्वीक्षेत्रमा बसोबास गर्ने धेरै नेपालीको सहभागिता यसमा हुने अपेक्षा आयोजकको छ ।

यसलगत्तै नेपाली कलाकारहरूको टोलीले ५ अगष्ट शुक्रबार क्यानबेरामा कन्सर्ट दिनेछ । यसअघि ४ तारिखका लागि तय भए पनि प्राविधिक कारणले अर्को दिन गर्नुपरेको डीबोइज इभेन्टस्ले जनाएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीज धमाका कार्यक्रम निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालीको उपस्थिति बढ्दै जाँदा नेपाली कार्यक्रम पनि यहाँ बाक्लै भइरहेका छन् ।

यसपछि सिड्नीमा तीज मेला विथ कमेडी नाइट्स अगष्टको ६ तारिख शनिबार हुनेछ । फन्टाष्टिक इभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ । सिड्नीमा यो नै तीजको पहिलो भव्य कार्यक्रम बन्ने अपेक्षा गरिएको छ । यसपछि अगष्टको ८ तारिख सोमबार एडिलेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ । डोम पोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अष्ट्रेलिया टूर सम्पन्न हुने जनाइएको छ ।