इनास अष्ट्रियाले हरितालिका (तीज) पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गर्दै

इनास अष्ट्रियाले हरितालिका (तीज) पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गर्दै


नेपाली कला र संस्कृतिलाई डायस्पोरामा विविध कार्यक्रम गरी प्रवर्द्धन गर्दै आएको संस्था इनास ग्लोबलको अभिन्न अंग इनास अष्ट्रियाले विगतमा जस्तै यो वर्ष पनि नेपाली साँस्कृतिक पर्व तीजको अवसर पारेर एक विशेष कार्यक्रमको आयोजना गरेको छ।

कला र संस्कृति प्रवर्द्धनका साथ डायस्पोराका नेपालीलाई जोडिरहेको संस्था इनासले संगठन स्थापनाको वर्षदेखि हरेक साल यस्ता कार्यक्रम आयोजना गर्दै नेपाली मनहरुलाई नेपालसँग जोडिरहने कर्म गरिरहेको छ ।

नेपाली कलाको प्रवर्द्धनको लागी सामुहिक फोटो सेसन, अष्ट्रियाको स्टेट तहबाट आयोजना गरिने कार्यक्रममा नेपाली नृत्यसँगै नेपाली पोशाक समेतलाई प्रदर्शन गरि प्रवर्द्धन गरिरहेको संस्था इनासले नेपाली चलचित्रलाई नेपालबाट झिकाएर चलचित्र प्रदर्शन र प्रवर्द्धन पनि गरिरहेको छ ।

यसका अलावा नेपाली साहित्यका क्षेत्रमा योगदान पुऱ्याउने उद्देष्यले बेलाबखत साहित्यसंग सम्बन्धित काम गर्दै आइरहेको इनास अष्ट्रियाले प्रथम पुस्तासँगै दोश्रो पुस्ताका नानीबाबुहरुलाई विविध प्रकारका कार्यक्रमहरुमार्फत आकर्षित गर्दै आएको छ।

सन्तोषी (स्याण्डी) भण्डारीको नेतृत्वमा रहेको कार्यसमितिले आफ्नो स्थापनाकालदेखि नै अष्ट्रियावासी नेपालीहरुलाई कला र साहित्यमार्फत जोड्ने कर्म गरिरहेको यहाँ बसोबास गर्ने पहिलो पुस्ताका नेपालीहरु बताउँछन् ।

इनास अष्ट्रियाको अध्यक्ष भण्डारीका अनुसार यो वर्षको हरितालिका तीज माइती चेली दर साँझुको रुपमा यहाँ बसोबास गर्ने दिदीबहिनीहरु तथा दाजुभाइहरु माझ मनाउने प्रबन्ध गरिएको छ । यो कार्यक्रम परिवारका हरेक सदस्यहरु (महिला र पुरुष) उपस्थित भइदिँदा नेपाली सांस्कृतिक पर्वको मर्म अझ आत्मसात हुने र ब्यस्त दैनिकीका कारण भेट हुन नपाएका साथीभाइ, मित्रजनहरु भेट हुने मौकासमेत जुट्ने, त्यसैमा नेपाली स्वादिष्ट परिकारसँगै स्थानीय कलाकारहरुले प्रस्तुति दिने हुँदा भरपुर मनोरञ्जनसमेत हुने अध्यक्ष भण्डारीको जिकीर छ।

यसै अगष्ट महिनाको २० तारिख शनिबार आयोजना गरिने कार्यक्रम भियनाको २३ नम्बर जिल्लामा आयोजना गरिने र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ।