सिड्नीमा हिमानीले भन्नुभयो- ‘राजा महेन्द्रको समयदेखि नै अष्ट्रेलिया र नेपालबीच सुमधुर सम्बन्ध’

सिड्नीमा हिमानीले भन्नुभयो- ‘राजा महेन्द्रको समयदेखि नै अष्ट्रेलिया र नेपालबीच सुमधुर सम्बन्ध’


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

हिमानी कोष अष्ट्रेलियाले शुक्रबार सिड्नीमा एक भब्य र सभ्य कार्यक्रमको आयोजना गऱ्यो । नेपालबाट विशेष कार्यक्रममा सरिक हुन आउनुभएकी हिमानी कोषकी संस्थापक एवम्ं पूर्व युवराज्ञी हिमानी शाहको मन्तव्य सुनेपछि हिमानी कोषले विगतमा गरेको र आगामी दिनमा गर्न लागेको समाजोपयोगी कार्यक्रमको बारेमा समारोहमा उपस्थित सबैले खुलेर प्रशंसा गरे ।

सिड्नीमा आयोजित कार्यक्रममा सहभागी हुन पूर्वयुवराज्ञी शाहका साथमा पूर्वअधिराजकुमारीद्वय शीताष्मा राज्यलक्ष्मी शाह, दिलाशा राज्यलक्ष्मी शाहसहित हिमानी ट्रष्ट नेपालका बोर्ड अफ डाइरेक्टरहरू नेपालबाट सिड्नी आउंनुभएको थियो ।

कार्यक्रममा विशेष मन्तव्य राख्नुहुँदै हिमानी कोषकी संरक्षक एवम् पूर्वयुवराज्ञी हिमानी शाहले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध लामो रहनुका साथै राजा महेन्द्र र वीरेन्द्र वीर विक्रम शाहले गर्नुभएको अष्ट्रेलिया भ्रमणको स्मरण गर्नुभएको थियो ।

‘दुई देशबीचको आपसी माया र सदभाव अनि दुई देशका जनताबीचको भाइचारा साँच्चै उल्लेखनीय रहेको छ’- शाहले भन्नुभयो । उहाँले कोभिड महामारीको समयमा अष्ट्रेलिया सरकारले नेपाल र नेपालीलाई गरेको सहयोग र दिएको साथको पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रममा अतिथिका रूपमा बोल्दै न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरेले नेपाल र नेपालीका बारेमा खुलेर प्रशंसा गर्नुभएको थियो । न्यूसाउथवेल्सको पार्लियामेन्ट हाउसमा रहेको स्ट्रेन्जर्स हलमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ र एनआरएनए अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य संयोजक देव गुरुङले हिमानी कोषले नेपाली समाजमा पुऱ्याएको योगदान र निर्वाह गरेको उत्कृष्ट भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

न्यूसाउथवेल्सका लागि नेपाली अवैतानिक महाबाणिज्य दूत दीपक खड्काले नेपालसँगै प्रवासमा पनि हिमानी कोषले आफ्नो उपस्थिति जनाउंनुलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्नुहुँदै समाजका विभिन्न पाटाहरूमा कोषले गरेको सत्कर्म साँच्चै प्रशंसायोग्य रहेकोमा जोड दिनुभयो ।

हिमानी कोष अष्ट्रेलियाकी प्रमुख अन्जना बस्नेत कार्कीले हिमानी कोष अष्ट्रेलिया आफ्नो लक्ष्य र उद्देश्यमा लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । ‘मन, बचन र कर्मले नेपाल र नेपालीका लागि केही गर्ने सोचले स्थापना भएको हिमानी कोषमार्फत हामी दीनदुःखी र असहायको साथी बन्ने बाटोमा लागेको छौँ । हाम्रो यो सोच र उद्देश्यमा तपाईंहरूको साथ र समर्थन मिलेकोमा यहाँहरूप्रति आभारी छौँ’- बस्नेतको भनाइ थियो ।

कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवा एवम् व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।