अष्ट्रेलियामा प्रकाश छर्दै चलचित्र ‘प्रकाश’

अष्ट्रेलियामा प्रकाश छर्दै चलचित्र ‘प्रकाश’


  • राजन घिमिरे, सिड्नी

पछिल्लो समय अष्ट्रेलियामा नेपाली सिनेमाहरूले आफ्नो उपस्थिति र प्रभाव दह्रो तरिकाले जनाउन थालेका छन् । यो मामिलामा अष्ट्रेलियामा रहेर नेपाली सिनेकर्ममा लागिपरेका र सिनेमा प्रदर्शनमार्फत प्रवासमा नेपाली कला र संस्कृतिको बिस्तार गर्ने चलचित्रकर्मी अनि प्रवासमा नै रहेर चलचित्र प्रदर्शन गर्ने प्रदर्शकहरूको महत्वपूर्ण हात रहने गरेको छ ।

अष्ट्रेलियामा नेपाली चलचित्र देखाउनु यहाँ रहेका चलचित्रप्रदर्शकहरूको उद्देश्य भनेको नेपाली चलचित्रप्रतिको माया, साथ र सदभाव नै कारण हो भन्दा फरक नपर्ला ।

यसैबीच नेपालीसँगै प्रवासमा पनि अहिले शान, चर्चा र वाहवाही हात पारेको चलचित्र प्रकाशले अष्ट्रेलियामा पनि चर्चा कमाएको छ । लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका महेन्द्र अधिकारीले यो चलचित्रको निर्माण गरेका हुन् । नेपाली चलचित्रप्रति अधिकारीमा कति लगाव र मोह छ भन्ने कुरा त उनी विगत दुई वर्षदेखि चलचित्र प्रकाशकै लागि नेपालमा रहनुले पनि प्रष्ट पारेको छ । निर्माता अहिले चलचित्रको लागि नेपालमा छन् भने उनले बनाएको चलचित्र प्रकाशले नेपाललगायत अन्य देश र अधिकारीकै कर्मथलो अष्ट्रेलियामा चर्चा पाइरहेको छ ।

सिड्नीलगायत अष्ट्रेलियाका विभिन्न शहरमा चलचित्र प्रकाशको यतिबेला प्रदर्शनको तयारी भइरहेको छ । सिड्नीमा गोर्खे इन्टरटेनमेन्टले चलचित्र प्रकाश चलाउने भएको छ । गोर्खे इन्टरटेनमेन्टका रंजितराज वन्तका अनुसार दर्शकहरूको अत्याधिक मागकै कारण चलचित्र प्रकाशलाई नेपालसँगै रिलिज गर्न लागिएको हो ।

अगष्ट २६ का दिन सिड्नीको हर्षभिलमा रहेको इभेन्ट सिनेमा हलमा र २७ मा सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमा हलमा प्रकाश लाग्ने निश्चित भएको वन्तले जानकारी दिए । उनले प्रकाशको प्रदर्शन टिकट आवश्यक पर्नेले ‘टिकट प्लस डट कम डट एयु’ बाट किन्न सकिने पनि बताए । सिड्नीमा यो चलचित्र हेर्न विशेष गरेर युवा पुस्ताले बढी चासो दिएको उनको भनाइ छ ।

दिनेश राउतको उच्चकोटीको निर्देशनको साथमा प्रदिप खड्का र दिया मास्केको फरक अनि प्रभावशाली अभिनय हेर्न अष्ट्रेलियावासी नेपाली चलचित्रप्रेमी दर्शकहरू प्रतीक्षारत रहेका बुझिएको छ ।