तमु समाजद्वारा कोष अभिवृद्धिका लागि कार्यक्रम

तमु समाजद्वारा कोष अभिवृद्धिका लागि कार्यक्रम


  • सनत आचार्य, बेल्जियम

नेपालमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले तमु समाज बेल्जियमले सोमबार लुभेनमा बार्बे क्यु कार्यक्रमका आयोजना गर्‍यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले संसारभरीबाट यस्तै अभियानहरू सञ्चालन गरेमा नेपालका गरिब तथा जेहेन्दार विद्यार्थी शिक्षाको प्रकाशबाट वञ्चित हुनु नपर्ने बताउनुभयो ।

राजदूत राजभण्डारीले विदेशमा रहेका संघ–संस्थाहरूले यस्ता अभियानहरूलाई निरन्तरता र तीव्रता दिनुपर्ने सुझाव पनि दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले समाजले पवित्र उद्देश्यका साथ आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै समाजलाई हित हुने कुनै पनि अभियानमा हातेमालो गर्न एनआरएन बेल्जियम पछि नपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा शेर्पा किदु बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, समाजका कार्यक्रम संयोजक होम गुरुङ, निवर्तमान अध्यक्ष नन्दकुमारी गुरुङ लगायतका वक्ताहरूले तमु समाज र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

यसैबीच तमु समाज बेल्जियमका अध्यक्ष ओमराज गुरुङले नेपालमा रहेका गरिब तथा जहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्ने सोचका साथ यो कार्यक्रम आयोजना गरेको र यो कार्यक्रमले समाजले गत वर्ष स्थापना गरेको अक्षय कोष बढाउनका लागि थप सहयोग पुग्ने अपेक्षा राखेको बताउनुभयो ।

उहाँले गत वर्ष कोभिडका कारण अभिभावक गुमाएका विद्यार्थीहरूलाई समेत आफूहरूले सहयोग गरेको जानकारी दिँदै शिक्षा नै राष्ट्रिय विकासको मूल आधार भएकोले आफूहरूले शिक्षा क्षेत्रलाई नै विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

समाजका सल्लाहकार नन्दराज घलेले नेपालमा पढ्नका लागि तीव्र इच्छा भएता पनि आर्थिक विपन्नताका कारण शिक्षाका उज्यालोबाट वञ्चित विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापित अक्षय कोष वृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको बताउँदै तमु समाज नेपालको विकासलगायत विदेशी भूमिमा पनि तमुहरुको पहिचान, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने सोचका साथ क्रियाशील रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिलगायत बेल्जियममा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता थियो ।