शिन्जो आबेको राजकीय अन्त्येष्टिमा २५० मिलियन येन खर्च हुने अनुमान

शिन्जो आबेको राजकीय अन्त्येष्टिमा २५० मिलियन येन खर्च हुने अनुमान


  • विशेष प्रतिनिधि, जापान

केही साताअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने अनुमान गरिएको छ ।

करिब ६ हजार ४ सय जनाको सहभागी हुने गरि गरिन लागेको व्यवस्थाका लागि सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा सो खर्चको निर्णय गर्ने बताइएको छ । समारोह सेप्टेम्बर २७ मा टोकियोको निप्पोन बुदोकान हलमा आयोजना हुने तय भएको छ ।

राज्यले राष्ट्रिय अन्त्येष्टिको लागि स्थलशुल्क र तापमान जाँच, किटाणुशोधन र कोरोनाभाइरसको फैलावट कम गर्न लगायत अन्य खर्चसहित सम्पूर्णको लागि उक्त रकम खर्च हुने र सो रकम सरकारले ब्यहोर्ने बताइएको छ ।

सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुन लागेको यसभन्दा पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो । १९६७ मा पूर्व प्रधानमन्त्री योशिदाको राज्यले अन्त्येष्टि गर्दा एक पूर्व युद्धोत्तर प्रधानमन्त्रीको लागि भनेर सोही निप्पोन बुदोकान हलमा आयोजित गरिएको थियो । आबेको राजकीय अन्त्येष्टि योशिदाको लागि जस्तै स्तरमा आयोजित हुने अपेक्षा गरिएको छ ।

समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी हुने व्यवस्था सरकारले गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयले जापानसँग कूटनीतिक सम्बन्ध रहेका १९५ देश र क्षेत्रलाई कार्यतालिकाबारे जानकारी गराएको छ ।

संसद् सदस्यहरू र स्थानीय सरकारी अधिकारीहरूलाई राष्ट्रव्यापी रूपमा स्मारकमा आमन्त्रित गरिने अपेक्षा पनि गरिएको छ।