सिड्नी तताउँदै १९७४ एडी

सिड्नी तताउँदै १९७४ एडी


  • राजन घिमिरे, अष्ट्रेलिया

प्रवासमा नेपाली गीत–संगीतको बिस्तार एवम् लोकप्रिय तुल्याउन नेपालमा रहेका सांगीतिक समूहहरूको महत्वपूर्ण भूमिका रहनेमा दुई मत नहोला । के देश के परदेश, सबैतिर आफ्नो प्रस्तुतिका कारण लगभग तीन पुस्तासम्म राज गरेको सांगीतिक समूह हो ‘१९७४ एडी’, र अष्ट्रेलियावासी नेपालीबीच यो समूहको क्रेज जबर्जस्त रहँदै आएको छ ।

पछिल्लो समय त प्रवासमा रहेका युवा पुस्तामाझ यो समूहको क्रेज र चर्चा ब्यापक चुलिएको छ । ‘यो मन त मेरो नेपाली हो…’ प्रवासी नेपालीहरूलाई एउटै आवाजमा जोड्न सक्ने दमदार यो गीत गाउन नजान्ने र नसुन्ने कमै होलान् । नेपाली संगीतको ‘स’ मात्र बुझेका या जानेकाहरूको दिल-दिमागमा राज गर्न सफल सांगीतिक समूह १९७४ एडी अब सिड्नीमा गुन्जने भएको छ ।

समूहमा आवद्ध ६ जना संगीत-सर्जकहरूले आगामी सेप्टेम्बर ७ तारिखका दिन सिड्नीको राउण्ड हाउस हल गुन्जायमान बनाउने भएका छन् । ‘हामीले लगभग सबै तयारी पूरा गरेका छौँ । काभिड महामारीका कारण यति बृहत कार्यक्रम हुन सकिरहेको थिएन । सिड्नीमा रहनुहुने नेपालीहरूको चाहना र मागलाई ध्यानमा राखेर यो सांगीतिक समूहलाई सिड्नीमा उतार्न खोजेका हौँ’– आयोजकमध्येका एक ‘हो र होइन होला’का रोशन भट्टराईले जानकारी दिए ।

राष्ट्रिय भावनाले ओतप्रोत सांगीतिक प्रस्तुति होस् यिा माया र प्रेमले भरिपूर्ण गीत-संगीत नै किन नहोस्, १९७४ समूह हरेक विधामा निपुण सांगीतिक समूहको रूपमा परिचित छ । बीचमा यो समूहमा केही उतारचढाव नआएको होइन, तर फुटेर भन्दा जुटेर नै अगाडि बढ्न सकिने कुरा मनन गर्दै आफ्ना प्रशंसकहरूको सदिक्षाबमोजिम यो समूह नयाँ जोश, जांगर र उमङ्गका साथ सांगीतिक मैदानमा उत्रिएको छ ।

‘विगतमा भन्दा हामी हाम्रा प्रशंसकहरूलाई झनै बढी मनोरन्जन र सांगीतिक स्वाद चखाउने छौ,। यो हाम्रो प्रतिबद्धता हो’- ‘१९७४ एडी’का सदस्यहरूले भनेका छन् ।

आफ्ना सिड्नीवासी प्रशंसकहरू समक्ष आग्रह गर्दै सो लोकप्रिय सांगीतिक समूहका सदस्यले भनेका छन्- ‘यस पटक हामी अष्ट्रेलियाका विभिन्न शहरहरू हुँदै सेप्टेम्बर ९ मा सिड्नी आउने छौँ । तपाईंहरू पनि आउनुहोला । त्यहीँ भेटौँ, गीत संगीतमा झुमौँ अनि रमाऔँ ।’