एनआरएनए एशिया क्षेत्रीय बैठक : ३ सय प्रतिनिधि सहभागी, पूर्वअध्यक्षहरु अनुपस्थित

एनआरएनए एशिया क्षेत्रीय बैठक : ३ सय प्रतिनिधि सहभागी, पूर्वअध्यक्षहरु अनुपस्थित


गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९औँ एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैंककमा आज शनिबारदेखि सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आयोजित सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन् ।

सम्मेलनमा थाइल्याण्ड, म्यानमार, सिंगापुरमा रहेका रैथानेहरुले उठाउदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाउने तयारी त्यहाँस्थित नेपाली समुदायले गरेका छन् ।

सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेरबहादुर कुँवर बैंकक पुगेका छन् ।

सम्मेलनमा विशिष्ट अतिथिको रुपमा सांसद डा. सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र कँडेल शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समाबेसी आयोगका सदस्य पुष्पराज तिमिल्सीना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य मिर्जा अर्सद बेग, थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख ओम शर्मालगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधिहरुको सहभागिता रहेको एशिक्षा क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जनाए ।

भाइचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणाअनुरुप यो भेला आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा. बद्री केसी समेतको उपस्थिति रहेको छ ।

सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारको विभिन्न मनोरन्जनात्मक प्रस्तुति दिने तयारी छ ।

पूर्वअध्यक्षहरु अनुपस्थित

संघको क्षेत्रीय सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन, कुमार पन्त लगायत संघका महासचिव गौरीराज जोशी सम्मेलनमा सहभागी भएनन् । सम्मेलनमा पूर्वअध्यक्ष भवन भट्ट मात्र उपस्थित छन् । संघको १०औँ महाधिवेशन देखि शुरु भएको संघभित्रको तिक्तता मेटाउने अपेक्षा गरिएको सम्मेलनमा पूर्वअध्यक्षहरुको अनुपस्थितिले सहभागीहरुमा खल्लो महसूस भएको जनाइएको छ । सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतबार सम्मन्न हुनेछ ।