सिड्नीमा ‘प्रकाश’ : सस्ता फिल्मकर्मीलाई गतिलो पाठ !

सिड्नीमा ‘प्रकाश’ : सस्ता फिल्मकर्मीलाई गतिलो पाठ !


  • राजन घिमिरे, सिड्नी

चलचित्र प्रकाश हेरेपछि जो कोहीले पनि ढुक्कले भन्न सक्छ कि यो चलचित्र मात्र नभइ नेपाली परिवेश र एउटा वर्गको ज्युँदो ऐना हो ।

जीवन भोगाइको पराकाष्ठा कतिसम्म हुन्छ र साहुमहाजनका कारण आज पनि प्रताडित हुन पुगेको एउटा उमेर अनि त्यो वर्गको चुहिन पुगेको सपना अनि लक्ष्यको कसरी अन्त्य भैरहेको छ ? चलचित्रमा निकै मार्मिक तरिकाले देखाइएको छ । नेपालको जुम्ला कर्णालको सरकारी विद्यालयमा हेडमाष्टर बन्ने सपनामाथि भएको तुषारापातलाई चलचित्रमा निर्देशक दिनेश राउतले जुन तरिकाले प्रस्तुत गरेका छन्, त्यसका लागि उनी मुरी मुरी बधाईको हकदार बनेका छन् ।

यता लामो समयको अष्ट्रेलियाको प्रवसी जीवन बिताएका महेन्द्र अधिकारीले विदेशमा रहने अनि नेपाली चलचित्रमा नेपालीपन भएन, आफ्नो कथा भएन भनेर गाली मात्र गर्ने तर त्यो विधाको लागि सिन्को पनि नभाँच्नेहरूलाई मन छुने चलचित्रमा लगानी गरिदिएर तारिफ बटुलेका छन् । सिनेमा निर्माणकै लागि वर्षौं अष्ट्रेलियाको बसाइलाई बिट मारेबाट नै अधिकारीको नेपाली चलचित्रप्रतिको लगाव वा मोहको मापन गर्न सकिन्छ ।

सरकारी जागिरको महत्व र यसले बोकेका धेरैको सपनालाई चलचित्रका लेखक विकास सुवेदीले जुन तरिकाले प्रस्तुत गरेका छन्, त्यसमा कतै पनि उनको कलम अल्मलिएको छैन । एउटा ठिटोको उत्कठ अभिलाषा माथि एउटा वर्गले गरेको अन्याय र अत्याचारले सिमा नाघ्यो भने के हुन्छ ? गाउँमा सोझो, भद्र, शिक्षित र भलादमी यूबाको छाप बनाएको केटोको धैर्यताको बाँध टुट्यो भने त्यसले ल्याउने विकराल अवस्थाको बारेमा घामजस्तै छर्लङ्ग पारेको छ चलचित्र प्रकाशले ।

जुम्ला कर्णालीको स्थानीय परिवेश, लवाइखुवाइ, भाषा र शैलीलाई काठमाण्डौको परिवेशमा हुर्किएका कलाकारमा ढाल्न सक्नु कम चुनौतीपूर्ण कुरा थिएन । यो पक्षमा निर्देशक दिनेश राउत र काष्टिङ निर्देशक अनुप बराल शत प्रतिशत सफल भएका छन् । त्यसमाथि प्रदीप खड्का र दिया मास्केको अभिनयको त जति तारिफ गरे पनि कमै हुन्छ ।

प्रकाश घिमिरे र राजन खतिवडाको उपस्थिति चलचित्रको अर्को सबल पक्ष हो । लवरब्यायको छबि बनाएका प्रदीप खड्काको बारेमा अब ढुक्कका साथ भन्न सकिन्छ कि अभिनयको मामिलामा उनले आजका समकालीनहरूलाई सयौँ कोष पछाडि पारेका छन् । यता दिया मास्केले निभाएको भूमिकामा उनले देखाएको सजिव काम र मन छुने क्षमता हेर्नेले उनलाई आगामी धेरै वर्ष सम्झाइरहने छ । चलचित्रमा आफूलाई दिइएको भूमिका निभाउन प्रदीप र दियाले साँच्चै मिहेनत गरेका रहेछन् भन्ने यी दुईको कामबाट प्रस्टै देखिन्छ ।

नेपालका साथै प्रवसमा पनि रिलिज गरिएको चलचित्र प्रकाशले शुक्रबार साँझ सिड्नीमा रहेका नेपालीहरूबाट राम्रो प्रशंसा हात पारेको छ । यस कारणले पनि यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याएका रन्जित राज वन्तले अन्य शोहरू पनि थपिँदै लैजाने जानकारी दिएका छन् । आँखाले हेर्दा सिधै मनमा छुने र दिमागमा छिरेपछि सोच्न बाध्य पार्ने चलचित्र प्रकाश यस्तो उदाहरणीय चलचित्र बनेको छ कि जसले मसालेदार र सस्तो मनोरन्जनको बहानामा चलचित्रको ब्याकरण बिगारेको समूहलाई यस्तो विषयमा पनि चलचित्र बनाउन सकिन्छ भन्ने गतिलो पाठ सिकाएको छ ।