जापानमा ओपिरामको उपचारार्थ राप्ती समाजको सहयोग

जापानमा ओपिरामको उपचारार्थ राप्ती समाजको सहयोग


  • श्याम क्षेत्री, टोकियो

विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा जापानमा रहेका राप्तीवासी लगायत जापानमा रहेका अन्य नेपालीहरुले ओपिराम बिकको उपचारको लागि जापानी येन ५ लाख ३ हजार रकम सहयोग उपलब्ध गराएका छन् ।

दाङ भालुबाङ घर भइ लामो समय जापानमा बस्दै आएका बिक मुटु तथा पेटसम्बन्धी गम्भीर रोग लागेपश्चात् उपचारमा धेरै रकम खर्च हुन सक्ने सम्बन्धित चिकित्सकले बताएपछि उपचारको लागि आफन्तहरुले सबैसँग सहयोगको याचना गरेका छन् ।

बिरामी बिक यतिबेला टोकियोस्थित सिनागावा हस्पिटलमा उपचारार्थ भर्ना भएका छन् । पीडितको अवस्था नाजुक रहेकोले सम्बन्धित अस्पतालमा लगेर उपचार गराउन नसकिरहेको भन्ने दु:खद खबर सञ्चारमाध्यमबाट जानकारी मिलेलगतै राप्ती समाज जापानको अगुवाइमा आर्थिक सहयोग संकलन अभियान थालिएको थियो ।

संकलित रकम राप्ती समाज जापानका अध्यक्ष मनराज विश्वकर्मा, संरक्षक युवराज रेग्मी, उपाध्यक्ष कमल सोनी लगायत समाजका सदस्यहरुले घरमै गएर पीडित बिकलाई हस्तान्तरण गरेका छन् ।

समाजले यसअघि पनि दिलबहादुर रम्तेल बचाउ अभियान, धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिद्धार्थ माध्यामिक विद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्पपीडित, ब्लड क्यान्सरबाट पीडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिइ थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन, मुटुभित्र प्वाल परेका रुकुमपूर्वका सरद ओलीलाई आर्थिक सहयोगलगायत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । सबै दु:खपीडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगी साथी बनेको छ ।

यसरी विभिन्न समस्यामा परेका नेपालीहरुलाई राप्ती समाजले सहयोग गर्न पाउँदा निकै ठूलो सफलता हासिल गरेको महसूस हुने र आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिइरहने कुरा समाजका अध्यक्ष मनराज विश्वकर्माले बताए ।