जापानवासी नेपालीको तथ्याङ्क संकलन गरिने

जापानवासी नेपालीको तथ्याङ्क संकलन गरिने


  • विशेष प्रतिनिधि, जापान

जापानका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याँक संकलन सुरु गर्ने जानकारी गराउनुभएको छ।

बुधबार साँझ दूतावास कार्यालयमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारीसहित संचारकर्मीहरुसँग कुराकानी गर्दै राजदूत सुवेदीले आफू जापानवासी नेपालीहरुको अभिभावकको जिम्मेवारीमा रहेकोले सबैको यथाअवस्था जानकारी राख्न तथ्याँक संकलन आवश्यक रहेको बताउनुभयो ।

टोकियोस्थित दूतावास कार्यालयमा आउने सेवाग्राहीसँगै अन्य हरेक नेपाली जापानमा नेपालको प्रतिनिधि हो भन्ने महसूस गराउन यसले सहज हुने भन्दै उहाँले आफ्ना नागरिक तथा परिवारको सदस्यको जानकारीसमेत थाहा पाउन सजिलो हुने उल्लेख गर्नुभयो । यसका लागि केही दिनभित्र निर्देशिकालगायतका काम सुरु हुने जानकारीउहाँले दिनुभयो ।

सोही अवसरमा उहाँले आफ्नो चारवर्षे कार्यकालमा मुख्यगरि चार महत्वपूर्ण विषयमा केन्द्रीत रहेर काम गर्ने जानकारी दिनुभयो । नेपाल र जापानबीचको सम्बन्धलाई थप नयाँ उचाइमा पुऱ्याउने, जापानवासी नेपाली तथा जापानी नागरिक स्तरमा धार्मिक, सास्कृतिक, व्यवसायिकसहित बहुआयामिक सहयोग तथा सदभाव कायम राख्दै यसलाई नयाँ तवरले मजवुत सम्बन्ध अभिवृद्धि गर्न पहल गर्ने बताउनुभयो ।

यसैगरि सरकारी स्तरबाट नेपालको फोहोरमैला व्यवस्थापन र विपद व्यवस्थापनका लागि सहयोग जुटाउन औपचारिक रुपमा कुराकानी अघि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभये । यस्तै, राजदूतावासबाट प्रदान हुने सेवालाई सरल, सहज र सीघ्र तुल्याउन “नो टुमरो पोलेसी” (आजको काम आजै) कार्यान्वयन गर्ने दाबी राजदूत सुवेदीले गर्नुभयो।

हाल राहदानी सेवा पासपोर्ट नविकरण तथा नयाँ बनाउन दैनिक ३२ जना नेपाली सेवाग्राहीले सेवा लिइरहनु भएकोमा यसलाई बढाएर दोब्बर बनाउने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो । यस्तै, ई. पासपोर्ट बनाउन हाल दूतावासमै पुग्नुपर्ने अवस्थालाई घटाउन नेपालीहरुको घनत्व रहेका स्थानमा घुम्तीसेवा पुऱ्याउने तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो । यसका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र स्थानीय स्तरमा रहेका नेपाली संघसस्थासंग सहकार्य गरेर काम गर्ने उहाँको अवधारणा छ ।

बेलायतमा साढे चार वर्ष राजदूतको कार्यकाल पूरा गरेको अनुभव सुनाउँदै राजदूत सुवेदीले जापानजस्तो निकट सम्बन्ध भएको देशमा पुनः राजदूत भएर आएपश्चात रचनात्मक र सहज सेवा प्रदान गर्न सकिने विविध विषयमा तयारी गरिरहेको उहाँले बताउनुभयो ।

टेलिफोन सेवा सहज बनाउन हटलाइन संचालन हुने

राजदूत सुवेदीले जापानको टोकियो दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्बोधन गर्न जतिबेला पनि कुराकानी गर्न दूतावास हटलाइन सेवा संचालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । यसैगरि सामाजिक संजालबाट समेत गुनासो र सेवाबारे जानकारी प्रदान गर्न अफिसियल नयाँ ट्वीटर र पुरानो फेसबुक पेजलाई सुचारू गरिएको जानकारी उहाँले दिनुभयो।

“उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी”

राजदूत सुवेदीले दूतावासका सूचना तथा आवश्यक जानकारीका लागि उपनियोग प्रमुख समेत रहनुभएका अम्बिकाप्रसाद जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी समेत थप गरिएको जानकारी दिनुभयो।

समारोहमा दूतावसाका उपनियोग प्रमुख अम्बिकाप्रसाद जोशी, प्रथम सचिव जीतबहादुर कार्की र तृतिय सचिव ज्ञानहरि ज्ञवालीको सहभागिता थियो । यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, उपाध्यक्षद्वय पुर्ण चलाउने, कुमार मोक्तान, कोषाध्यक्ष आनन्द कोइराला, सदस्य विश्वास आचार्य, संचारकर्मी शिक्षा शान्ति वाइवा पनि सहभागी थिए ।