चौतर्फी समस्याग्रस्त बेलायतको नेतृत्व अब अप्रख्यात नेत्री लिज ट्रसको हातमा

चौतर्फी समस्याग्रस्त बेलायतको नेतृत्व अब अप्रख्यात नेत्री लिज ट्रसको हातमा


लण्डन । लगभग दुई लाख कन्जर्भेटिभ सदस्यहरुले छनोट गरेको आधारमा वर्तमान विदेश मन्त्री लिज ट्रस आगामी दुई वर्षको लागि बेलायतको प्रधानमन्त्री चुनिएकी छिन् । आजै पहिलोपल्ट बेलायतकी महारानीको ९६ वर्षको राज्यावधिमा लण्डनबाहिर आधिकारिक रुपमा, जाँदै गरेको प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा लिएर, आउँदै गरेकी प्रधानमन्त्रीलाई पदस्थापन स्कटल्याण्डको बालोमोरलमा भएको छ । महारानीले योभन्दा अगाडि चौधजना प्रधानमन्त्रीहरुलाई पदस्थापन गरिसकेकी थिईन् । केही हप्ताअगाडिबाट महारानी आफ्ना आधिकारिक अनि सरकारी अधिकतम कार्यहरुलाई आफ्नो छोरो चाल्र्सलाई उत्तराधिकारी बनाएर बालोमोरल महलमा आराम गरिरहेकी छिन् ।

पत्रकारिता गर्दागर्दै प्रत्यक्ष राजनीतिमा सन् १९९७देखि होमिएका बोरिस जोन्सन सन् ०८ र ०१२मा लण्डनको मेयर चुनिएका थिए । कन्जर्भेटिभ पार्टीले ०१२ मा गरेको मिडटर्म इलेक्सनमा लगभग ८०० सिटहरु गुमाएको वखत बोरिसको लण्डनको मेयरमा दोस्रोपटक विजयी भएको सन्दर्भ पार्टीको लागि धेरै महत्वपूर्ण अनि आशावान्वित मानिएको थियो । विभिन्न पत्रपत्रिका लेख्ने लगायत आधा दर्जन जति पुस्तक प्रकाशन अनि विभिन्न टेलिभिजन कार्यक्रमहरुमा उपस्थिति राख्ने अनि सञ्चालन गर्ने बोरिस जोन्सन बेलायतको एक मुख्य सर्वत्र परिचित अनि प्रख्यात राजनीतिज्ञ मानिएका सोही समयमै अर्थात् सन् २०१५ मा फेरि जोन्सन पार्लियामेन्टमा फर्किएका थिए जसले कन्जर्भेटिभ पार्टीमा अनि तत्कालीन प्रधानमन्त्री डेविड क्यामरुनमा नयाँ उर्जा ल्याएको देखिन्थ्यो, किनकि जोन्सनलाई क्यामरुनको उत्तराधिकारीको रुपमा हेर्न थालिसकिएको थियो तर सोलगत्तै ईयूभित्र रहने वा नरहने भन्ने जनमतमा क्यामरुनको विपक्ष अर्थात् ईयूबाहिर रहने भन्ने विचारको आधिकारिक पक्षपोषण गर्दै बोरिस जोन्सन अगाडि आएपछि, क्यामरुन अनि उनको अडान अर्थात् ईयूभित्र रहने भन्ने पक्ष नै जोन्सनको चमत्कारिक तथा प्रख्यात व्यक्तित्वअगाडि छायामा परेको थियो जो पर्यन्तमा विलीन भयो पनि । ब्रेक्जिटको पक्षमा बेलायती जनताको ५२ प्रतिशतले मतदान गरेर बोरिसलाई बेलायतको राजनीतिक पटमा अग्रस्थानमा ल्याएको थियो । यसको केही वर्ष बेलायतको आर्थिक, राजनीतिक, सामाजिकलगायत विविध पक्षमा समस्याहरुले ग्रस्त हुँदा तत्कालीन प्रधानमन्त्री मेईले गरेकी स्नाप ईलेक्सनमा कन्जर्भेटिभ पार्टीको लज्जाजनक हार भएको थियो । वहुमतको सरकार अचानकै अल्पमतमा झरेलगत्तै आई परेका विभिन्न राजनीतिक झमेलाहरुपछि बोरिस जोन्सन उनको उत्तराधिकारी बनेका थिए । पछि उनैको पालामा भएको आम चुनावमा कन्जर्भेटिभ पार्टीले सन् १९८७ पछि ३६५ सिट ल्याएर बहुमतको सरकार बनाउन सक्षम भएको थियो, यसको श्रेय निसन्देह रुपमा जोन्सनलाई गएको थियो । त्यसको लगत्तै समस्याग्रस्त रहेको ब्रेक्जिट ट्रिटी अन्तिम विन्दू लगेर अन्ततः जोन्सनले सन् २०२० को जनवरीको ३१ तारिखबाट आधिकारिक रुपमा बेलायतलाई ईयूबाट मुक्त गराउन सफल भएका थिए ।

ब्रेक्जिट, कोरोना भाइरसको पहिलो, दोस्रो अनि तेस्रो महामारी, सिरिया युद्ध, अफगानिस्तानबाट वापसी, युक्रेन रसिया युद्ध लगायतका विभिन्न समस्याहरुलाई सफलतापूर्वक समाधान गर्नु वा भिड्नु पर्ने हालातमा परेका प्रधानमन्त्री बोरिस जोन्सन, बेलायतको रुचाइएका प्रधानमन्त्रीहरुको नामावलिमा आठौं स्थानमा राखिएको भए तापनि समस्याग्रस्त हालातलाई आधार मानेर विन्स्टन चर्चिलपछि आउने नाम मानिएको छ । आफैले जानीजानी गलत गरेको नभए तापनि आफ्ना कार्यकर्ता अनि आफ्ना मातहतका मन्त्रीहरुबाट भएका गलत कार्यको जिम्मेबारी लिँदै राजीनामा दिन वाध्य भएका जोन्सनको प्रसिद्धी यसर्थ, अहिले उनलाई पदविस्थापन गरेकी ट्रसले पाएकी टेलिभिजन कभरेज र उबेला तत्कालीन प्रधानमन्त्री मेईलाई पदविस्थापन गरेका जोन्सनले पाएका कभरेजको तुलना गरेर लगाउन सकिन्छ । उबेला आउँदैगरेका प्रधानमन्त्रीको नाताले जोन्सन समाचारभरि छाएका थिए भने योबेला उसैगरी जाँदैगरेका प्रधानमन्त्रीको नाताले जोन्सन नै समाचारभरि छाएका छन्, जहाँ लिज ट्रस अझै देखिएकी छैनन् ।

आखिर को हुन् त लिज ट्रस ?

४७ वर्षीया दुई सन्तानकी आमा लिज ट्रस, अक्स्फोर्ड युनिभर्सिटीमा पढ्ने बेलामा लिबरल डेमोक्र्याटस् पार्टीमा प्रवेश लिएकी हुन् । उनी सोबेला खासगरी बेलायतबाट राजसंस्थाको खारेजीको माग विशेष गरेर गर्ने गर्दथिईन् । तर पछि अर्थात् सन् १९९६मा उनी कन्जर्भेटिभ पार्टीमा प्रवेश गरेकी हुन् । सन् २०१० बाट भने पार्लियामेन्टमा प्रवेश गर्र्दै विभिन्न अन्य मन्त्री स्तरीय पदहरुपछि बोरिस जोन्सनको प्रधानमन्त्रित्वमा विदेश मन्त्री रहेकी थिईन् । बोरिस जोन्सनको विश्वासपात्री रहेकी ट्रसले पार्लियामेन्टमा अग्रपन्थीमा रहेका पूर्व अर्थमन्त्री रिषी सुनाकलाई ६०,३९९ को विरुद्ध ८१,३२६ले मतले विजयी भएकी थिईन् । ट्रसले बेलायतलाई ईयूभित्र रहनको लागि मत हालेकी थिईन्, तर पछि उनी आफैले आफ्नो सो विश्वास गलत भएको भन्दै आफू अब ब्रेक्जिटको पक्षमा रहेकी समाचार बनाएकी थिईन् । राजसंस्थालाई हटाउने सोँच तत्कालीन अपरिपक्क युवा सोँच भएको भन्ने ट्रसले आफ्ना अनेकौं लगभग दर्जनौं अडान, विश्वास, माग तथा विचारहरुलाई समयानुसार गलत मान्दै परिवर्तन गरेकी छिन् । समयले मानिसलाई उसको विचार अनि विवेकमा परिपक्क बनाउँद छ र सोही अनुरुप मानिसहरु पूर्ण हुँदै जान्छ भन्ने धारणा राख्ने ट्रसले विचारहरु समयसापेक्ष हुनुपर्दछ भन्ने सोँचलाई सार्वजनिक बनाएकी छिन् ।

सन् २०२५ सम्मका लागि प्रधानमन्त्री बनेकी लिज ट्रसलाई विरासतको रुपमा विभिन्न समस्याहरु हात परेको छ । केही महिना अगाडि लगभग ५२ प्रतिशतका दरले विजुली तथा ग्यासको मूल्यमा वृद्धी भएको थियो सोको पनि आउँदो महिनादेखि ८० प्रतिशतको दरले वृद्धि हुने भएको छ, जसले अन्य विविध वस्तु तथा सेवाहरुको मूल्यमा पनि वृद्धि गराएको छ । पेट्रोलियम पदार्थहरुको वृद्धिमा कमी आएको छैन । ससाना व्यवसायहरु धरासयी हुने क्रम जारी छ । मुद्रा स्फिति दुई अँकको दरले बढ्दै छ । व्याँक अफ इँग्ल्याण्डले व्याजदर फेरि बढाएको छ जसले आम नागरिकको खर्च बढाएको छ । सर्वसाधारणहरु आम रुपमा जिउने खर्च बढेको छ । एक सर्भेको अनुसार बेलायतको एक तिहाई नागरिकहरु अझै गरीव हुने छन् । युक्रेन रसिया युद्ध रोकिएको छैन, चीन ताइवान युद्ध होलाजस्तो हालात छ, आन्तरिक उत्पादकशीलतामा व्यापक कमी आएको छ, बजार भाउको वृद्धिको तुलनामा नागरिकको आम्दानीको वृद्धिमा व्यापक अन्तर हुँदैछ, जसले समाजमा अस्थीरताको श्रृजना गरेको छ, ईयूसँग तथा अमेरिका सँग अझै व्यापारिक सन्धि हुने छाँट देखिएको छैन, पछिल्लोपटक कन्जर्भेटिभ पार्टीमा आन्तरिक विवाद यथावत रहेको छ, जसको पछिल्लो कडीमा ट्रसको नेतृत्व छाएको छ, जसले पार्टीको सरकारमा हुने आगामी उपस्थितिमा शँका ल्याएको छ, जसलाई हासिल गर्नको लागि बेलायतको राजनीतिक पटमा फोहोरी खेलहरु हुनसक्ने छाँट देखिएको छ । पार्टीलाई अग्रस्थानमा ल्याउनका लागि आम नागरिकका हक र हितको लागि विभिन्न रुपका आर्थिक प्रयासहरु गरिने छन् जसले मुलुकलाई रिनमा डुबाउने छ, जसले कालान्तरमा गहिरो अनि नकारात्मक प्रभाव पार्ने पक्का छ ।