पूर्वप्रधानमन्त्रीको हत्याराप्रति सहानुभूतिको लहर !

पूर्वप्रधानमन्त्रीको हत्याराप्रति सहानुभूतिको लहर !


  • ओसाका (जापान)

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत जुलाई ८ तारिख नारामा चुनावी प्रचारमा भाषण गर्दै गर्दा पछाडिबाट गोली प्रहार गरेका संदिग्ध यामागामी तेचुयालाई १० लाख येनभन्दा बढी सहयोग जुटेको बताइएको छ ।

जापानी संचारमाध्यममा प्रकाशित खबरका अनुसार अहिले मनोवैज्ञानिक परीक्षणका क्रममा ओसाकाको एक बन्दीगृहमा निगरानीमा रहेका आबे हत्याका संदिग्ध यामागामीलाई लत्ताकपडा, कमिक पुस्तक, खाना तथा नगदसमेत सहयोग पठाइएको छ । यस्ता गतिविधिले उक्त घटनालाई सदर गराउन खोजिएको बुझिने भन्दै अपराध अनुसन्धान विज्ञहरुले यस्तो नगर्न चेतावनी दिएका छन् ।

त्यस्ता सहयोग रकमहरु यामागामीलाई राखिएको ओसाकाको एक हिरासत केन्द्रमा पठाइएको बताइएको छ। अहिले यामागामीको मानसिक अवस्थाको परीक्षण चलिरहेको छ। यसअघि यामागामीले आफ्नी आमाले तात्कालिक युनिफिकेसन चर्चमा ठूलो रकम दान गरेकाले आफ्नो परिवार खत्तम भएको र उक्त धार्मिक समूहसँग आवेको पनि सम्बन्ध रहेकाले हत्या गर्न चाहेको बताएका थिए । रंगेहात घटनास्थलबाट पक्राउ गरिएका यामागामीले अपराध गरेकोमा कुनै छानबिनको विषय बाँकी नरहे पनि उनले कस्तो मनस्थितिमा गरेका हुन् भन्नेबारे बुझ्न अहिले मनोवैज्ञानिक परीक्षण चलिरहेको छ।

एकातिर हिरासत केन्द्रमै लाखौँ सहयोग पठाउने तथा अर्कोतर्फ Change.org वेबसाइटमा, यामागामीको लागि कम सजाय माग गर्दै ७,९०० भन्दा बढी हस्ताक्षरहरू जम्मा भएका छन् ।

तर विज्ञहरूले संदिग्ध व्यक्तिले उसको व्यक्तिगत असन्तुष्टि र एकीकरण चर्चसँग सम्बन्धित मुद्दाहरूका कारण र आबे हत्यालाई एकै ठाउँमा जोडेर हेरि आरोपितप्रति सहानुभूति देखाउन नहुने चेतावनी दिएका छन् । टोकियो फ्युचर युनिभर्सिटीका आपराध मनोविज्ञानका प्राध्यापक यासुयुकी देगुचीले भने, ‘संदिग्ध व्यक्तिप्रतिको सहानुभूति र घटनाको दुर्भावनालाई भ्रममा पार्नु हुँदैन।’