बेल्जियममा ग्लोबल एनआरएन फाउण्डेशन तदर्थ समिति गठन

बेल्जियममा ग्लोबल एनआरएन फाउण्डेशन तदर्थ समिति गठन


एनआरएनको समानान्तर समिति गठन नगरिएको संयोजकको भनाइ

  • सनत आचार्य, बेल्जियम

बेल्जियममा पदम गुरुङको संयोजकत्वमा ग्लोबल एनआरएन फाउण्डेशनको तदर्थ समिति गठन गरिएको छ । गत मंगलबार गठन भएको तदर्थ समितिको महासचिवमा कौशल खनाल रहेका छन् भने सदस्यहरूमा समाजसेवी अनिता लामा, पत्रकार इन्दिरा चाम्लिङ, साईमन आले, मदन गुरुङ, मीन क्षेत्री, झलकमणि अधिकारी, नवीन पण्डित लगायत १८ जना रहेका छन् ।

त्यस्तै, सल्लाहकारमा प्रेम गुरुङ, नेत्र मगर, वीरमान घर्ती मगर, जीत लामा, चेतप्रसाद भट्ट र रेन्जी शेर्पा रहेका छन् ।

नवगठित फाउण्डेशनका संयोजक पदम गुरुङले आफूहरूको समिति गठन भएसँगै कतिपयमा यो समिति एनआरएनको समानान्तर समिति भएको बुझाइ देखिएमा आफूहरूले त्यस्तो समिति गठन नगरेको बरु नेपाल र नेपालीको समग्र विकासका लागि फाउण्डेशनमार्फत सहयोग गर्न सकिने भएकोले बेल्जियममा यसको स्थापना गरेको स्पष्ट पारे ।

संयोजक गुरुङले फाउण्डेशनको आफ्नै सोचाइ र योजनाहरू रहेको हुँदा इच्छुक जो कोही व्यक्ति यो फाउण्डेशनमा आवद्ध भइ सहकार्य गर्न सकिने बताए । उनले आफूहरू एनआरएनसँग प्रतिस्पर्धा नगर्ने र राम्रो कामका लागि एनआरएनसँग सहकार्य गरेर जान सकिने जानकारी दिए ।

तथापि, गुरुङले यसरी बेल्जियममा फाउण्डेशनको तदर्थ समिति गठन भएको बताइरहँदा उता विनोद कुँवर समुहका गैरआवासीय नेपाली संघका सचिव कृष्ण केसीले ६ सेप्टेम्बरमा एक विज्ञप्ति प्रकाशित गरी बेल्जियममा पदम गुरुङको संयोजकत्वमा गैरआवासीय नेपाली संघ तदर्थ समिति गठन भएको जनाएका छन् ।

केसीको विज्ञप्तिले बेल्जियममा समानान्तर समिति गठन भएको देखाएता पनि समिति गठन गर्दा उपस्थित अन्य सदस्यहरूले भने भेलामा गैरआवासीय नेपाली संघको तदर्थ समिति गठनका विषयमा आफूहरूबीच कुनै पनि छलफल नभएको जनाएका छन् ।

नवगठित फाउण्डेशनका सल्लाहकार सीपी भट्टले पनि आफूहरुले फाउण्डेशन गठन गरेको तर एनआरएनको समानान्तर समिति गठन नगरेको बताए । भट्टले सचिव केसीद्वारा जारी विज्ञप्तिका विषयमा आफू अनभिज्ञ रहेको जानकारी दिए ।

त्यस्तै, फाउण्डेशनका अर्का सल्लाहकार एवं गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष प्रेम गुरुङले पनि यो समिति छुट्टै उद्देश्य र भावनाले प्रेरित भएको, एनआरएनए नै नभएको जिकिर गरे । उनले केन्द्रको विवादले गैरआवासीय नेपाली संघलाई दुई ध्रुवमा बाँडिएको हुँदा संसारभरी यो अवस्था देखापर्न थालेको तर्क गरे । यसर्थ, केन्द्रले यसलाई एनआरएनएको अर्को स्वरुपमा मान्नु जायज भएको उनको भनाइ थियो ।

सल्लाहकार गुरुङले अहिले यो फाउण्डेशनलाई एनआरएनको खिलाफमा बुझ्न नहुने तर्क भने दोहोर्याए ।

गैरआवासीय नेपाली संघ बेल्जियममा अध्यक्ष खड्कबहादुर केसीले सचिव केसीद्वारा जारी गरिएको विज्ञप्तिले बेल्जियममा मात्र नभई संसारभरी भ्रम छरेको बताउँदै सत्यतथ्य यकिन गर्न विभिन्न निकायसँग सम्पर्क समन्वय भैरहेको र वास्तविकता आएपछि मात्र आफूहरू अगाडि बढ्ने बताए ।

अध्यक्ष केसीले नेपाल र नेपालीको समग्र विकासका लागि संघसंस्था स्थापना हुनु राम्रो काम भएता पनि एउटै लोगो, लेटर प्याडसहित आएका संस्थाहरुको खरो प्रतिकारमा उत्रिने चेतावनी पनि दिए । केन्द्रको विवाद संसारभरी छताछुल्ल नहोस् भन्ने आफ्नो चाहना रहेको, सरकार र केन्द्रले यसको निराकरण जतिसक्यो छिटो गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

यसरी बेल्जियममा फाउण्डेशन गठन भएसंगै मीन क्षेत्रीले भने आफू यो समितिमा संलग्न नभएको प्रष्टिकरण दिएका छन् । क्षेत्रीले सोचाइ र गराइमा फरक भएकोले आफू यो समितिबाट अलग्गिएको बताएका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघ बेल्जियमले शुक्रबार एक विज्ञप्ति जारी गरी बेल्जिजयममा आफूहरुको नाम र लोगो प्रयोग गरी हालसम्म कुनै पनि संस्था नखुलेको बताएको छ ।

अध्यक्ष खड्कबहादुर केसी र महासचिव रमेश कँडेलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा संघसंस्था स्थापना र संचालन गर्न पाउने सबैको अधिकार भएको तर नाम, लोगो र लेटरप्याडसँग मिल्दोजुल्दो समानान्तर संस्था नखुलेको जनाइएको छ ।