प्रेम गीत-३ अष्ट्रेलियाभरिका हलमा नियमित प्रदर्शनमा आउने

प्रेम गीत-३ अष्ट्रेलियाभरिका हलमा नियमित प्रदर्शनमा आउने


  • राजन घिमिरे, सिड्नी

पहिलो पटक अष्ट्रेलियामा एक जना प्रवासी नेपाली युवाको पहलमा नेपाली चलचित्र यहाँका सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने भएको छ । यसअघि अष्ट्रेलियामा नेपाली चलचित्रहरू प्रदर्शन हुँदा हल भाडामा लिएर र बिदाको समयमा मात्र प्रदर्शन गरिँदै आइएको थियो भने चलचित्र प्रेम गीत-३ भने अष्ट्रेलियाको सुविधासम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने निश्चित भएको हो ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा अष्ट्रेलियाभरि प्रदर्शनमा आउने छ- ‘हामी यो चलचित्रलाई नेपाल, भारत र अन्य देशहरूसंगै एक साथ अष्ट्रेलियाका हरेक शहरमा नियमित रूपमा प्रदर्शन गर्दै छौँ । जसरी यहाँ हलिउड र बलिउडका चलचित्रहरूले हलमा नियमित स्क्रीन पाउँछन् । अब प्रेम गीत-३ ले पनि त्यही उपस्थिति जनाउने छ- ‘यो चलचित्रको अष्ट्रेलियाको लागि नेपाली र हिन्दी भाषाको प्रदर्शन अधिकार किनेका नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्मसका सिड्नी निवासी देव कार्कीले जानकारी दिए ।

सेप्टेम्बर २३ का दिन चलचित्र प्रेम गीत-३ अष्ट्रेलियामा नियमित स्क्रीन पाउंने भएपछि यहाँ रहेका नेपाली चलचित्रप्रेमी दर्शकहरूमा नौलो उत्साह थपिएको छ । यसअघि पनि डेढ दर्जन नेपाली चलचित्रहरू अष्ट्रेलिया भित्र्याएर नेपाली सिनेमाको बजार बिस्तार गरिरहेका देवले प्रेम गीत-३ को नेपाली र हिन्दी भाषाको अष्ट्रेलिया प्रदर्शन अधिकार यो चलचित्रको प्रदर्शनको विश्व अधिकार किनेका भारतका चर्चित सिनेमा वितरक संस्था मधु इन्टरटेनमेन्ट एण्ड मिडियासँग खरिद गरेका हुन्- ‘अष्ट्रेलियामा धेरै सिनेमा देखाइयो तर, प्रेम गीत-३ मार्फत यहाँ हामी नयाँ इतिहास लेख्ने तयारीमा छौँ । हाम्रो यो सोच र उद्देश्यमा यहाँ रहनुहुने नेपालीहरूले पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीमा छ’- कार्कीले भने ।

नेपालीहरूले नेपाली चलचित्रलाई माया गरि रहनुभएको बताए भने अष्ट्रेलियामा अत्याधिक रूपमा रहेका भारतीय नागरिकहरुको संख्यालाई ध्यानमा राखेर नेपाली चलचित्र पनि यतिसम्म बन्छ भनेर देखाउनु आफ्नो उद्देश्य भएका कारणले नेपाली भाषासँगै हिन्दी भाषामा पनि हलमा नियमित शो गर्न लागेको जानकारी उनले दिए ।