- बबिता बस्नेत
सन् १९९३ को अक्टुबर र नोभेम्बरमा नयाँदिल्लीस्थित इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन (आइआइएमसी)मा हामीले धेरै कुरा सिक्यौँ । सुबा धुलिया, पिके माथुर, केएम श्रीवास्तव, एके बर्मा, रामजीलाल जंगिड, डब्लुए काजी, रवि शंकर, रत्नाकर त्रिपाठी, प्रदीप माथुर, राजेश्वर दयाल, प्रफुल विद्वाइ, कुलदीप नायरजस्ता हस्तीहरूसँग पत्रकारिताका विविध आयामहरूमा प्रशिक्षण लिन पाउनु ठूलो अवसर थियो । प्रिन्ट र इलेक्ट्रोनिक दुवै मिडियाका लागि रिपोर्टिङ, समाचार, समाचार विश्लेषण, सम्पादन प्रक्रिया, सम्पादकीय लेखन, लेख, स्तम्भ, राजनीतिक, आर्थिक रिपोर्टिङदेखि लिएर फोटोग्राफी र ग्राफिक डिजाइनसम्मलाई प्रशिक्षणमा समेटिएको थियो । टाइम्स अफ इन्डिया, नवभारत टाइम्स, दूरदर्शन, सहारा दैनिक, पिटिआईलगायतका मिडिया हाउसको भ्रमणले पत्रकारिताप्रतिको मेरो सोचलाई थप फराकिलो बनाइदिएको थियो । त्यतिबेला हामीकहाँ ब्रोडसिट मिडियामा सरकारीबाहेक कान्तिपुर र द काठमाण्डु पोस्ट मात्र थिए । दिल्लीका ठूला मिडिया हाउस र तिनले काम गर्ने तौरतरिका देखेर अचम्मै लागेको थियो ।
मिडिया हाउसको पार्किङस्थल पत्रकारका गाडीले भरिएका थिए । कार्यकक्षमा सबैको कम्प्युटर थियो । त्यतिबेला हामीकहाँ सबै पत्रकारको टेबुलमा कम्प्युटर हुने कुरा कल्पना पनि गरिएको थिएन । हामी हातले समाचार लेख्थ्यौँ । मिडिया हाउसमा एक-दुईवटा कम्प्युटर हुन्थे । समाचार लिएर टाइपका लागि कम्प्युटर कोठामा पस्दा बडो होसियारीका साथ बाहिर जुत्ता खोलेर पस्थ्यौँ । कम्प्युटर कोठामा जुत्ता-चप्पल लगाएर जाँदा भाइरस लाग्छ भन्ने थियो । नयाँ दिल्लीमा राष्ट्रिय सहारा दैनिकको कार्यालय पाँचतारे होटेलजस्तो थियो । हामी इन्डिया टुडे म्यागेजिनको कार्यालय पनि गयौँ । हाम्रो अध्ययन भ्रमणको सूचीमा नभए पनि हामी त्यहाँ पुग्नुको कारण पत्रकार युवराज घिमिरे हुनुहुन्थ्यो । युवराज दाइ त्यतिबेला इन्डिया टुडेमा काम गर्नुहुन्थ्यो । त्यसअघि नै उहाँ हामीलाई भेट्न आइआइएमसी पुग्नुभएको थियो । भारतीय पत्रकारका माझ निकै लोकप्रिय उहाँले नोयडास्थित आफ्नो निवासमा हामीलाई एक साँझ डिनर पनि दिनुभएको थियो । सधैँ हँसिली रेनु भाउजूलाई पहिलोपल्ट मैले त्यहीँ भेटेकी हुँ । बिरानो ठाउँमा उहाँहरूको आत्मीयताले म नतमस्तक भएकी थिएँ । भारतमा चर्चित पत्रकार युवराज घिमिरेलाई त्यतिबेला नेपालमा कमैले चिन्थे, तर अहिले यो नाम नेपालीबीच वरिष्ठ पत्रकारका रूपमा स्थापित छ ।
कहिलेकाहीँ हामी बाह्रखम्बा रोडस्थित नेपाली एम्बेसीमा जान्थ्यौँ । प्राध्यापक तथा पत्रकार सीता कोइराला दिदीले मलाई असाध्यै माया गर्ने र उहाँका दाजु दिनेश भट्टराई एम्बेसीमा हुनुभएकोले दाजु-भाउजूलाई भेट्न म जाने गर्थेँ । उहाँहरूको सौहार्दपूर्ण व्यवहारले आफ्नै घर पुगेजस्तो लाग्थ्यो । त्यतिबेला चक्र बाँस्तोला भारतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । दशैँमा उहाँले दिनुभएको पार्टीमा हामीले खुब रमाइलो गरेका थियौँ । नेपाली काङ्ग्रेसका नेता चक्र बाँस्तोलाको अहिले निधन भइसकेको छ ।
नेपाली काङ्ग्रेसका नेता सिके प्रसाईं त्यतिबेला दिल्लीस्थित बान्द्रा अस्पतालमा हुनुहुन्थ्यो । होस्टेलमै चिनेका एकजना साथीसँग म उहाँलाई भेट्न अस्पताल पुगेकी थिएँ । अस्पतालमा उहाँकी पत्नी गिरिराजकुमारी प्रसाईं (ज्ञानु भाउजू) उहाँलाई कुरेर बसिरहनुभएको थियो । त्यसको केही दिनपछि सिके प्रसाईंको निधन भयो । पतिको निधन भएको २८ वर्षपछि सन् २०२१ को मार्चमा ज्ञानु भाउजूको निधन भयो ।
आइआइएमसीमै हुँदा एकपटक होस्टेलको कम्पाउन्डमा बम राखिएको छ भनेर कसैले अफिसमा टेलिफोन गरिदिँदा ‘ओहो.. आज नै जिन्दगीको अन्तिम दिन रहेछ’ जस्तो लागेको थियो । हामी धेरै नै आतङ्कित भएका थियौँ । भारतमा बम त्यतिबेला नै पनि सामान्य मानिन्थ्यो । तर, हाम्रा लागि बम अति नै ठूलो कुरा थियो । पछि सुरक्षाकर्मीहरूले व्यापक तलासी गरे पनि बम भने भेटिएन । माओवादी द्वन्द्व र त्यसपछि उत्पन्न परिस्थितिका कारण बम, बन्दुक, गोलीजस्ता कुराहरू अहिले सामान्य लाग्छन् ।
पहिलो विदेश यात्राको रूपमा सुरु भएको मेरो नयाँदिल्ली आवतजावत विभिन्न कामको सिलसिलामा पटकपटक जारी रह्यो । जिन्दगीमा पहिलोपटक यात्रा गरेको ठाउँ भएकाले होला शायद जति पटक गए पनि सुरुको भ्रमणका दृश्यहरू आँखावरिपरि आइरहे । त्यतिबेला नयाँदिल्लीमा बस्दा स्थानीय बजारहरू चप्पाचप्पा मारियो । आइआइएमसी जवाहरलाल नेहरू विश्वविद्यालयको विशाल कम्पाउन्डमा छ । जहाँ राति दुई बजेसम्म मानिस चिया खाँदै घुमघाम गरिरहेका भेटिन्छन् । त्यतिबेला गएका देहरादुन, ऋषिकेश, आग्रा (ताजमहल), हरिद्वार, मसुरी सबै अविष्मरणीय छन् । तालिममा सँगै रहनुभएका साथीहरूमध्ये प्रतीक प्रधान, कविर राणा, विष्णु निष्ठुरी, शिरीषबल्लभ प्रधान, झपेन्द्र गैरे (पाल्पा), राजेश्वर नेपाली (जनकपुर), अशोक तिवारी (वीरगन्ज), माधव नेपाल (बुटवल), विष्णु भुसाल (अर्घाखाँची), सूर्य नेपाल (झापा), जाह्न्वी जोशी (नवलपरासी) पत्रकारितामा सक्रिय हुनुहुन्छ । जनार्दन निरौला (विराटनगर) र प्रदीप पराजुली राजनीतिमा र बबिता लम्साल अमेरिकामा हुनुहुन्छ ।
अमृता प्रितमसँगको भेट
दिल्ली बसाइको सिलसिलामा प्रसिद्ध भारतीय साहित्यकार अमृता प्रितमसँगको भेट अविष्मरणीय क्षणमध्येको एक हो । म अमृता प्रितमको प्रशंसक थिएँ, हुँ । त्यतिबेलै मैले अमृताका केही किताबहरू पढेकी थिएँ । उहाँको रसिदी टिकट त मलाई कण्ठै थियो । एक दिन हिन्दी भाषाको पत्रकारिताबारे पढाउँदै गर्दा रामजीलाल जंगिड सरले अमृता प्रितमबारे कुरा गर्नुभयो । मैले ‘सर, उहाँ कहाँ बस्नुहुन्छ ?’ भनेर सोधेँ । दिल्लीकै हौजखास भन्ने ठाउँमा बस्ने जानकारी दिँदै उहाँले फोन नम्बरसमेत दिनुभयो । आफूले पढिरहेकी अमृता प्रितमलाई भेट्न पाउनु मेरा लागि निकै ठूलो कुरा थियो । मैले फोन गरेँ र भेट्ने समय मागेँ । उहाँले भोलिपल्ट बिहान ९ बजेको समय दिनुभयो । हाम्रै समूहमा बुटवलका पत्रकार साथी माधव नेपाल हुनुहुन्थ्यो । उहाँले पनि अमृताका किताब पढ्नुभएको रहेछ । माधवजीले आफू पनि भेट्न जाने इच्छा राख्नुभएपछि हामी दुई जनाले उहाँकै निवासमा अमृतालाई भेट्यौँ । उहाँ बिरामी हुनुहुन्थ्यो र पनि समय दिनुभयो । अमृताका प्रेमी इमरोज र छोरालाई पनि हामीले भेट्यौँ । म त्यतिबेला अङ्ग्रेजी र हिन्दी दुवै भाषा राम्ररी बोल्न सक्दिनथेँ, बुझ्थेँ तर बोल्ने बेलामा अलमलिन्थेँ । अलमलिँदै, सम्झिँदै अङ्ग्रेजी र हिन्दी मिसमास गरेर अमृताका किताब र पात्रहरूको कुरा गरेँ, उहाँ दङ्ग पर्नुभयो । आफ्ना सिर्जनाको तारिफ जसलाई पनि मन पर्दोरहेछ जस्तो लाग्यो । कुराकानीको क्रममा धुँस्वा सायमीलाई उहाँले पटकपटक सम्झिनुभयो । छाप्ने अनुमति लिएर छोटो अन्तर्वार्ता लिएँ । पछि त्यो अन्तर्वार्ता नेपालीपत्रमा छापियो ।
सन् २००५ मा अमृता प्रितमको मृत्युको खबर सुनेपछि धेरैबेरसम्म म नोस्टाल्जिक भएकी थिएँ । विशेष गरेर उनले सिगरेट खान सुरु गरेको प्रसङ्गले मलाई बेलाबेलामा झस्काइरहन्थ्यो । आफ्नो जीवनी समेटिएको पुस्तक ‘रसिदी टिकट’मा उनले लेखेकी छिन्, ‘म लाहोरमा हुँदा साहिर (अमृताका प्रेमी जोसँग उनको केही वर्ष अगाध प्रेमपूर्ण सम्बन्ध रह्यो) जब मलाई भेट्न आउँथ्यो, ऊ एकपछि अर्को सिगरेट सल्काउँथ्यो । ऊ गएपछि म आफूलाई एक्लो महसुस गर्थें र उसले तानेर छोडेका चुरोटका ठुटाहरू सल्काउँथेँ । केहीबेरअघि उसका औंलाले च्यापेका तिनलाई मेरा दुई औंलाका बीचमा राखेर तान्दा म उसको स्पर्श अनुभव गर्थेँ ।’ हदैसम्मको त्यस्तो प्रेमको शायद परिकल्पना मात्रै गर्न सकिन्छ । रसिदी टिकटमा उनले व्यावसायिक र व्यक्तिगत जीवनलाई समेटेकी छन् ।
(‘समय साक्षी’बाट)
प्रतिक्रिया