जब सिड्नीमा गुन्जियो ‘यो मन त मेरो नेपाली हो…’

जब सिड्नीमा गुन्जियो ‘यो मन त मेरो नेपाली हो…’


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

‘अष्ट्रेलिया आएको १० वर्ष भयो, यहाँ धेरै कार्यक्रम हेरियो/देखियो, तर नेपालीहरूको यस्तो जमघट र जनसागर भने देखेको थिइनँ मैले’, नेपालको चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीको कार्यक्रम हेर्न सिड्नीको राउण्ड हाउसमा आएका नेपाली राजेश शाक्यको अनुभव हो यो । उनले अगाडि सुनाए- ‘सिड्नीमा रहेका दुई हजार भन्दा बढी नेपाली संगीतप्रेमीहरूलाई एउटा छानामुनि जमघट गराउंन सक्नु यो ब्याण्डको अर्को क्षमता हो !’

साँच्चै, सिड्नीमा सम्पन्न १९७४ एडीको सांगीतिक उपस्थिति अभूतपूर्व रूपमा भब्य र सभ्य भएको थियो । अष्ट्रेलियाको ब्यस्त र मस्त रहने शहर सिड्नी भन्दा अगाडि यो ब्याण्डले ब्रिसबेन, तासमानिया, मेलबर्न र क्यानभरालगायतका शहरमा आफ्नो उच्चकोटी प्रस्तुति दिएको थियो । सिड्नीमा विशेष गरेर विद्यार्थीहरू माझ आफ्नो क्रेज जमाएको यो ब्याण्डले सिड्नीको जून अत्याधुनिक हलमा कार्यक्रम गऱ्यो, त्यस हलमा नेपालीको पहिलो कार्यक्रम थियो ।

नेपालीको कार्यक्रममा के दर्शक आउलान् र भनेर हलसन्चालकले गरेको अवमूल्यन त्यतिबेला फेल खायो जब दुई हजार भन्दा बढी टिकट बिक्री भएपछि हलले नै टिकट सोल्डआउट भनेर ब्यानर राख्नु पऱ्यो । अवस्था यो आएपछि हल सन्चालकले कार्यक्रम आयोजकसंग जिज्ञासा राखेको थियो- ‘अब कहिले हुन्छ अर्को कार्यक्रम ?’

प्रवासमा नेपाल र नेपालीको शान राखेको १९७४ एडीको यो प्रस्तुतीले अष्ट्रेलियामा नेपालीको उचाई बढाएको छ । साथै, बिवदेशीहरूको मात्र कार्यक्रम गर्ने हलमा नेपालको राष्ट्रिय गान घन्कँदा र नेपाली झण्डा फहरिँदा प्रवासमा रहेका नेपालीहरूको छाती गौरवले फुलेको थियो । त्यो विशाल हलमा कार्यक्रम हेर्न आएका युवायुवतीहरू नेपालको राष्ट्रीय झण्डासहित आउनु र राष्ट्रपति सम्मानभाव प्रकट गर्दै १९७४ एडीले शुरूमा नै राष्ट्रिय गान प्रस्तुत गरेपछि पूरा हल नै नेपालमय भएको थियो ।

‘हामीले पनि धेरै कार्यक्रम गऱ्यौँ तर, यस्तो शान र मान हात पर्ने अनि गौरव महसूस हुने कार्यक्रमको आयोजना गर्न पाउँदा अत्यन्त खुशी लागेको छ’- आयोजकमध्येका एक ‘हो र होइन होला’का रोशन भट्टराईले भने ।

करिब तीन घण्टा चलेको कार्यक्रममा दर्शकहरू चलमल नै नगरी तीनै घण्टा कार्यक्रम अवधिभर रहेका थिए । ‘यो मन त मेरो नेपाली हो’ जून गीतले १९७४ एडीलाई नेपालदेखि विश्वभर रहेका नेपालीलाई चिनाएको थियो, यो गीत गाएपछि त कार्यक्रम स्वतः उत्कर्षमा पुगेको अनुभूति गरियो । १९७४ एडीसँगै स्वरमा स्वर मिलाएर दर्शकहरूले उक्त गीत गाएपछि सिङ्गै हलमा नेपाल झल्किएको थियो ।

सांगीतिक ब्याण्डहरूको भिडमा आफ्नै विशिष्ट पहिचान र दह्रो उपस्थिति जनाउँदै आएको यो ब्याण्डको राष्ट्रभक्ति र जनप्रिय गीतहरू थुप्रै छन् । स्वर्गवासी राज परिवारप्रति समर्पित ‘सम्बोधन तिमीलाई गर्दै छु म’ गाउँदा त हल नै एकछिन स्तब्ध भएको थियो । आवाजसंगै हलको भित्तामा राखिएका ठूला स्क्रीनमा स्वर्गवासी राजपरिवारको तस्बिर देखिएपछि यो भावुक दृष्यले सबै भावविह्वल भएका थिए । प्रवासमा जहाँ कार्यक्रम गरेता पनि १९७४ एडीको मुटु मानिने ‘सम्बोधन’ बोलको यो प्रस्तुति नसुन्ने शायदै होलान् ।

कोरोनाका कारण सिड्नीमा राम्रो कार्यक्रम हुन सकिरहेको थिएन । यस्तो समयमा १९७४ एडीको यो उपस्थितिले सिड्नीमा रहनुहुने प्रवासी नेपालीहरूको मन र भावना बुझेर रोटेपिङ र हो र होइन होला नामक दुई आयोजकले वास्तवमै उल्लेखनीय कार्यक्रमको आयोजना गरेर सिड्नीमा रहनुहुने नेपालीहरूको स्यावासी पाएको छ । सिड्नीमा रहनुहुने हजारौँ नेपालीहरूलाई एउटै छानामुनि जमघट गराएर यस्तो भब्य र सभ्य कार्यक्रमलाई सफल बनाउन सक्नु कम चुनौतीपूर्ण कार्य थिएन । यो कार्यलाई सफलताका साथ पूरा गर्न सफल कार्यक्रमसँग आवद्ध सबैलाई साधुवाद दिनैपर्छ ।